सत्ता गठबन्धन कार्यदलको पहिलो बैठक…..

काठमाडौं-   आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावी तालमेलको मापदण्ड र मोडालिटी बनाउन सत्ता गठबन्धनको कार्यदलको सोमबार पहिलो बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा पाँच दलका प्रतिनिधिले आ–आफ्नो दलगत धारणा राखेका हुन् । बैठकमा भागबण्डाको मोडालिटीको सन्दर्भमा सामान्य छलफल भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले नेताहरुले आ–आफ्नो दलको निर्णय बैठकमा सुनाएको बताए । उनले भने, ‘नेताहरु आफ्नो दृष्टिकोण राख्नु भएको छ । सबैले आफ्नो दलमा भएको छलफलको दलगत धारणा राख्नुभएको छ । गठबन्धनलाई कसरी प्रभावकारी बनाउने, गठबन्धनलाई चुनावपछि कसरी लिएर जाने भन्ने विषयमा कुरा राख्नु भएको छ । यस्तै कार्यदलका सचिव केशव जोशीकाअनुसार आ–आफ्नो पार्टीमा छलफल गरेर अर्को बैठकमा विषय प्रवेश गर्ने सहमति भएको छ । बैठकमा काँग्रेस महामन्त्री गगनकुमार थापाले संविधान कार्यान्वयन, आर्थिक, सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा बनाउनुपर्ने पार्टीको निर्णय सुनाएका थिए । संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न पाँच दलीय चुनावी तालमेल गरेर अघि बढ्ने काँग्रेसको संस्थागत निर्णय छ । पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा प्रस्तुत हुनुपर्ने काँग्रेसको भनाइ छ । आजको बैठकमा काँग्रेसका प्रतिनिधिहरू सोहीअनुसार प्रस्तुत भएका थिए । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरुले गठबन्धन गरेर जाने पार्टीको निर्णय सुनाएका थिए । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार