काठमाडौं- नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा २८औँ विश्व आदिवासी दिवस मनायो । वर्षमा एक पटक आदिवासी दिवस मनाउने कर्मकाण्डी बाहेक नेफिन अहिले सुतेको जस्तो देखिन्छ । नवलपरासीमा हालै सम्पन्न नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को दसौँ महाधिवेशनबाट काँग्रेस समर्थित ग्याल्जेन लामा शेर्पा महासंघको अध्यक्षमा चुनिएका छन् । निवर्तमान अध्यक्ष जगत बराम त गुमनामै भए, बरु निवर्तमान उपाध्यक्ष गोविन्द छन्त्यालले संस्थालाई केही चलायमान बनाए । महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीलाई रातोपाटी प्रतिनिधिले मंगलबार सम्पर्क राख्दा उनी एमालेको भातृसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशनको सिलसिलामा पर्सामा थिए । ‘तपाईं त आदिवासी जनजाति महासंघको केन्द्रीय कार्यक्रममा हुनुपर्ने होइन र ?’ भन्ने प्रश्नमा उनले भने, ‘हो, हुनुपर्ने हो । तर समयअनुसार जिम्मेवारी फरक हुन्छ । विश्व आदिवासी दिवसमा सहभागिता नजनाए पनि आदिवासी जनजातिहरुकै इस्युमा सक्रिय छु । लेखीले महासंघ नेफिनको गतिविधि सुस्त रहेको जिकिर गर्दै भने, ‘बरु एमालेको भातृसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सक्रिय भएको छ । अब हाम्रो सक्रियताले नेफिन पनि सक्रिय हुन्छ कि ?’
महासंघमा राजनीतिक रंग:
महासंघ पहिले महासचिव प्रणालीमा चलेको थियो । महासंघको संस्थापक महासचिव सुरेश आले मगर थिए, जो अहिले पनि माओवादी पार्टीमा सक्रिय छन् । उनको कार्यकालपछि परशुराम तामाङ महासचिव भए । उनले दुई कार्यकाल अर्थात् ६ वर्ष काम गरे । चौथो महाधिवेशनबाट बालकृष्ण माबुहाङ निर्वाचित महासचिव बने । माबुहाङले आफूपछि डा ओम गुरुङलाई महासंघको महासचिव बनाउने प्रस्ताव प्रा सन्त गुरुङसँग राख्दा उनले दिएको जवाफ अहिले पनि सम्झिन्छन् । ‘ओम मसाल हुन्, हामीलाई आन्दोलनकारी चाहिएको छ । नेफिनलाई मसाल बनायो भने त खत्तम हुन्छ । माबुहाङले ओम आन्दोलनकारी नै भएकाले उपयुक्त व्यक्ति भएको सन्तसँग तर्क राखे । साथै, उनले ओमलाई महासचिव हुने भए आफ्नो पार्टीको सम्पूर्ण दायित्वबाट मुक्त हुन दवाव नै दिए । यसरी महासंघको पाँचौं महाधिवेशनबाट डा ओम गुरुङ निर्विरोध महासचिव बने । माओवादी सशस्त्र सङ्घर्ष, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन, १९ दिने शान्तिपूर्ण जनआन्दोलन डा गुरुङको पदावधिको समयमा पर्यो । त्यसको असर जनजाति आन्दोलनमा पनि पर्नु स्वभाविकै थियो । तर महासंघको नेतृत्व के हुने भन्ने विषयमा डा ओमले खासै आन्तरिक परामर्श गरेनन् । माबुहाङका अनुसारपासाङ शेर्पा ओमको सचिवालयमा दाहिने हात थिए । यसै बीच महासंघको महासचिव बन्न पासाङ शेर्पाले तात्कालीन एमाले महासचिव माधवकुमार नेपालको आशीर्वाद ल्याएको हल्ला चल्यो । छैटौँ महाधिवेशनमा मल्ल के सुन्दरको उम्मेदवारी विरुद्ध पासाङ शेर्पाले उम्मेदवारी दिए । अन्ततः जित हासिल गरे । माबुहाङका अनुसार पासाङको प्रवेशसँगै राजनीतिक दलको लागि महासंघमा ढोका खुल्यो । महासचिव प्रणाली हटेर अध्यक्ष प्रणाली आएपछि पासाङ शेर्पा पहिलो अध्यक्ष भए । त्यसपछि राजकुमार लेखी, नगेन्द्र कुमाल, जगत बराम र दसौँ महाधिवेशनबाट ग्याल्जेन लामा शेर्पा अध्यक्ष भएका छन् । राजकुमार लेखी अध्यक्ष रहेको बेला एमाले परित्याग गरी आफ्नै अध्यक्षतामा नेपाल नागरिक पार्टी बनाएका थिए । पछि सद्भावना, राजपा, जसपा, लोसपा हुँदै लेखी पुनः एमालेमै फर्किएका छन् । महासंघको अध्यक्ष रहिसकेका पासाङ शेर्पा, नगेन्द्र कुमाल तथा महासचिव रामबहादुर थापा मगर क्रमशः एमाले, काँग्रेस र माओवादीबाट सांसदसमेत भए । रामबहादुर थापा मगर अहिले आदिवासी जनजाति आयोगको अध्यक्षको पनि जिम्मेवारी पाएका छन् । माबुहाङका अनुसार हालसम्म हेर्दा राजनीतिक दलको नाममा जनजाति समुदायका पार्टीका व्यक्तिले नेफिन क्याप्चर गर्दै गएको अवस्था देखिन्छ । न सम्बन्धित पार्टीको नीति तथा सिद्धान्त नेफिनको नीति तथा सिद्धान्तसित मिल्छ । तर पार्टीको तर्फबाट महासंघको अध्यक्ष बन्ने जोड चाहिँ बडो विचित्र तरिकाले काँग्रेस, एमाले, माओवादी सबैको मिल्छ । महासंघ नितान्त जनजातीय संस्था हो, सदस्य जनजातीय संगठन हुन्छ । राजनीतिक पार्टीमा व्यक्ति चौवन्नी सदस्यता लिएर बन्छन्, महासंघ ठिक उल्टो हो । जनजातीय संगठनमा लागेको व्यक्तिलाई महासंघको ‘राजनीति’मा लाग्दा बरु हानी हुनु पर्नेमा किन राजनीतिक पार्टीको बिल्ला प्रयोग गरिरहेछन् ? यसबारे निर्मम बहस जरुरी ठान्छन् माबुहाङ । साभार : रापा












