कम्तीमा मास्क त लगाऔं…..

काठमाडौँ — कोरोना संक्रमण बढेसँगै सतर्कता अपनाउन र लक्षण देखिएमा परीक्षण गराउन भन्दै विज्ञहरूले सचेत गराएका छन् । संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदी संक्रमण उकालो लागेसँगै शंकास्पद लक्षण देखिए परीक्षण गराइहाल्नुपर्ने बताउँछन् । उनका अनुसार समयमै परीक्षण गराउँदा त्यसले जोखिम समूहलाई धेरै हदसम्म जोगाउँछ । डा सुवेदी भन्छन्– ‘संक्रमित धेरै जना सिकिस्त भएका छैनन् तर लक्षण देखिएकाहरुले परीक्षण गर्नुपर्छ। साथै चिकित्सकहरुले पनि त्यस्ता लक्षण देखेमा परीक्षण गराउन सल्लाह नदिइ यत्तिकै एन्टिबायोटिक दिनुभएन ।’ उनले परिवारमा रहेका ज्येष्ठ नागरिक तथा जोखिम समूहलाई जोगाउन पनि परीक्षण आवश्यक रहेको बताए । ‘परीक्षण गरिएको भए जति अहिले मृत्यु भइरहेको छ त्यति हुँदैन थियो होला । उनीहरु ढिलो अस्पताल आइपुग्थे । समयमै परीक्षण भए कम्तीमा अक्सिजनको निगरानी बस्न सकिन्छ र अक्सिजनको मात्रा घटेपनि समयमा औषधि दिएपछि मान्छे आईसीयूमा भर्ना हुनु पर्दैन,’ उनले भने । उनले धेरैभन्दा धेरै केस पत्ता लगाउनुभन्दा सिकिस्त हुन नदिन ध्यान दिनुपर्ने आवश्यकता देख्छन् । गत २४ घण्टामा ६ हजार ७०५ परीक्षण गर्दा ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १ गते संक्रमण दर ४.४३ रहेकोमा साउन १६ गते संक्रमण दर १५.१४ पुगेको थियो । त्यसैगरी मंगलबार ६ हजार ३०० परीक्षणमा १ हजार ९० जनामा संक्रमण पुष्टि हुँदा संक्रमण दर १७.३० पुगेको थियो । बुधबार कोरोना संक्रमणदर १२.९४ रहेको छ । हाल सबैभन्दा धेरै संक्रमण पुष्टि वाग्मती प्रदेशमा देखिएको छ । गत २४ घण्टामा बागमती प्रदेशमा ३ हजार १७३ पीसीआर परीक्षणमा ३८२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी प्रदेश १ मा ७१ वटा परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको छ । साथै मधेश प्रदेशमा ४६ जनामा ८ जना, गण्डकी प्रदेशमा १०४ मा १८ जना , लुम्बिनीमा १७३ मा ४४ जना र सुदुरपश्चिम प्रदेशमा ४७ जनामा २१ जनामा संक्रमण पुष्टि भएको देखिन्छ । कर्णालीमा भने २४ घण्टामा कुनै परीक्षण नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ रहँदा ३ हजार ९५६ जना काठमाडौँ उपत्यकामा रहेका छन् । गत २४ घण्टामा काठमाडौँमा २२९, ललितपुरमा ५३ र भक्तपुरमा १८ जना गरी ३०० जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौ“मा ३ हजार ९, भक्तपुरमा १०१ र ललितपुरमा ८४६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ५०० भन्दा बढी सकृय संक्रमित रहेको जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने २०० भन्दा बढी सकृय संक्रमित रहेको जिल्ला मोरङ रहेको छ । मनाङ, कालिकोट र हुम्लामा शुन्य संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा छ । हाल देशभरी ६४ जना आइसियुमा र ७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार