सांसद बन्नकै लागि ओलीसँग सहकार्यको प्रस्ताव…..

काठमाडौं-   जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी यसअघि पाँच पटक सांसद बनिसकेका व्यक्ति हुन् । यसो त उनी चार पटक मन्त्री समेत भइसकेका छन् । उनै त्रिपाठी सोमबार ६ पटक सांसद बन्ने योजनाका साथ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् । अध्यक्ष ओली निवास बालकोटमा उनी फेरि सूर्य चिह्नबाटै आफ्नो पार्टीले चुनाव लड्ने प्रस्ताव बोकेर पुगेका हुन् । यसअघि २०७४ सालको चुनावमा पनि त्रिपाठी एमाले सूर्य चिह्न लिएर निर्वाचित पाँचौँ पटक निर्वाचित भएका थिए । अहिले फेरि उनी छैटौँ पटक संसदमा प्रवेश गर्ने लक्ष्यका साथ ओलीकहाँ पुगेका हुन् । यद्यपि त्रिपाठीसँगको भेटमा ओलीले सूर्य चुनाव चिह्न दिने विषयमा केही जवाफ नदिएको बताइएको छ । ओली आफ्नो पार्टीभित्रको अवस्थालाई हेरेर मात्रै त्रिपाठी समूहलाई चुनाव चिह्न दिने वा नदिने निर्णय लिने तयारीमा रहेको उनको सचिवालयले बतायो । सूर्य चिह्न लिएर निर्वाचित भएपछि ओलीले त्रिपाठीलाई एमालेमा भित्र्याउन निकै जोडबल समेत गरेका थिए । यतिसम्मकी ओलीकै क्याविनेटमा उनी स्वास्थ्य मन्त्री समेत थिए । तर, त्रिपाठी एमालेमा जान तयार भएनन् । अन्ततः गत मंसिर २८ गते आफ्नै नेतृत्वमा पार्टी गठन गर्न पुगे । आगामी मंसिर ४ गतेका लागि आम निर्वाचनको घोषणा भएपछि भने त्रिपाठीले एमालेकै साथ खोजेका हुन् । त्रिपाठीले ओलीसँगको भेटमा चुनावी तालमेलका विषयमा छलफल गरेको बताए । यस्तै भेटका क्रममा नागरिकता विधेयकका विषयमा पनि कुराकानी भएको उनको भनाइ छ ।

त्रिपाठीको सत्ता र संसदको यात्रा नालीबेली:

त्रिपाठी वामपन्थी विचारबाट प्रभावित भई राजनीतिमा होमिएका थिए । पछि उनी स्वर्गीय गजेन्द्रनारायण सिंहले नेतृत्व गरेको सदभावना पार्टीमा प्रवेश गरे । उनले सद्भावना पार्टीबाट २०४८,२०५१ र २०५६ सालमा लगातार निर्वाचित भई सांसदको भूमिका निर्वाह गरे । मधेस आन्दोलन भएपछि तराई मधेस लोकतान्त्रिक पार्टी प्रवेश गरेका उनी २०६४ सालमा भएको पहिलो संविधान सभामा निर्वाचनमा विजय हासिल गरे । यस्तै २०७० सालमा भएको दोस्रो संविधान सभा चुनावमा भने उनी पराजित भए । यस्तै २०७४ सालको चुनावमा भने तत्कालीन तमलोपा छाडेर उनले एमाले चुनाव चिह्न लिएर निर्वाचन लडेका थिए । २०४८ सालदेखि लगातार ५ औ पटक सांसद भएका त्रिपाठी यो चुनावबाट पनि तालमेलको बलमा संसद छिर्ने दाउमा देखिएका छन् । उनी विभिन्न काल खण्डमा गरेर चार पटक मन्त्री भइसकेका छन् । २०५४ साल वन मन्त्री, २०६३ सालमा उद्योग मन्त्री,२०६९ सालमा भौतिक मन्त्री र २०७४ सालमा स्वास्थ्य मन्त्री मन्त्री भएका थिए । साभार : रापा

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार