माओवादी र नेकपा (एस) एकता प्रक्रिया सुरु…..

काठमाडौँ — नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकता प्रक्रिया सुरु भएको छ । एकीकृत समाजवादीले सचिवालयको बुधबार सम्पन्न बैठकले एकता संयोजन समिति गठन गर्ने निर्णय गरेसँगै दुवै पार्टीबीच एकता प्रक्रिया सुरु भएको हो । एकीकृत समाजवादी महासचिव बेदुराम भुसालले मंसिरमा हुने आमनिर्वाचनपछि एकता गर्ने गरी प्रक्रिया सुरु गरेको बताए । यस विषयमा माओवादीले पहिले नै निर्णय गरिसकेको थियो । हामी ढिलो भयौं । हामीले पार्टी एकता प्रक्रियालाई अघि बढाउने निर्णय गरेका छौं । मुख्य काम भने चुनाव हुने तर त्यसबीचमा पनि छलफलहरु हुने छन्,’ भुसालले भने, ‘तर चुनावअघि एकतामा पुग्ने संभावना त्यति देखिँदैन । भुसालले पार्टीको सिद्धान्त, कार्यक्रम के हुन्छ, कार्यनीति के हुने, संगठनात्मक संरचना कस्तो हुने, कार्यक्रम, रणनीति के हुन्छ भन्ने सहितका तमाम विषयमा छलफल हुन बाँकी रहेको बताए । ‘नेतृत्वको स्वरुप कस्तो हुने भन्ने विषय रहेको छ । धेरै विषयमा छलफल गर्न बाँकी रहेको छ,’ भुसालले भने, ‘नेकपा एमाले र माओवादी केन्द्रबीच पनि पहिले एकता गर्ने निर्णय गरेको र पछि एकता भएको हो । भुसालका अनुसार अहिले चुनावमा केन्द्रित भएर लाग्ने छ । ‘बीचबीचमा दुवै दलबीच छलफल पनि हुनेछ । एमाले र माओवादी केन्द्रबीच एकतामा पुग्नका लागि चुनावपछि ३-४ महिना लागेको थियो,’ भुसालले भने । एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाललाई एकता संयोजन समितिमा बस्न आग्रह गरिएको उपमहासिचव गंगालाल तुलाधारले बताए । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपाललाई एकता संयोजन समितिको अध्यक्ष बनाउने बताएका थिए । गत वर्षको भदौ ९ गते एमालेबाट विभाजित भएर गठन भएको एकीकृत समाजवादीले मान्यता प्राप्त गरेको थियो । त्यसै दिन कम्युनिष्ट पार्टीहरुबीच बृहत् एकताका लागि काम गर्ने घोषणा गरेको थियो । महासचिव भुसालले माओवादी केन्द्र र एमालेबीचको एकतामा भएको असफलताबाट शिक्षा लिँदै एकता प्रक्रियालाई अघि बढाउने बताएका थिए । ‘अहिले तुरुन्तै एकता गरौंला र धेरै दिन नचल्ला । त्यस्तो अवस्थामा नआओस् र राम्रो आधारहरु तय गरेर गर्नुपर्छ ।   साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार