चीनमा फाइभ-जी प्रयोगकर्ताको संख्या बढ्दो…..

बेइजिङ — चीनमा फाइभ–जी मोबाइल प्रयोगकर्ताको संख्या ४७ करोड ५० लाख नाघेको छ । चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै गत जुलाईसम्मको तथ्यांक सार्वजनिक गरेको हो । सन् २०२१ यता मात्रै १२ करोड प्रयोगकर्ता थपिएका मन्त्रालयको भनाइ छ । सबै सहर, काउन्टी र ९६ प्रतिशत बजारहरूमा गरी हालसम्म फाइभ–जी नेटवर्कका करिब १९ लाख ७० हजार सबस्टेसन निर्माण गरिसकिएको छ । फाइभ–जी नेटवर्क र गिगाबाइट अप्टिकल नेटवर्कको संरचना निर्माणलाई तीव्रता दिइराखिएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो समय विभिन्न क्षेत्रमा ‘डबल–गिगाबाइट’ नेटवर्कको विस्तारमा समेत जोड दिइएको छ । उच्च क्षमताको फाइभ–जी नेटवर्कको सेवा सहर मात्रै होइन, ग्रामीण भेगसम्मै पुर्‍याइएको छ । ग्रामीण क्षेत्रमा नयाँ उद्योग र व्यवसाय विस्तार गर्न यसले सहयोग पुग्नेसमेत मन्त्रालयले विश्वास लिएको छ । पछिल्ला वर्षहरूमा चीनले फाइभ–जी नेटवर्क विस्तारमा ठूलो धनराशी खर्च गरिरहेको छ । यो क्रम मुलुकबाहिर पनि फैलाउन चीन सक्रिय देखिन्छ ।एजेन्सी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार