मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा गर्न निर्देशन…..

धनुषा — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री राउतविरुद्ध पार्टीभित्रै आलोचना र गुटबन्दी बढेपछि अध्यक्ष यादवले राजीनामा मागेको स्रोतले जनाएको छ । राउत यादवकै दल जसपाका नेता हुन् । भर्खरै बसेको जसपा कार्यकारिणी समितिको बैठकमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केही प्रदेश सांसदले मुख्यमन्त्री राउतको राजीनामा मागेका थिए । बैठकमा त्यस विषयमा मौन रहेका पार्टी अध्यक्ष यादवले सोमबार मात्रै राउतलाई राजीनामा गर्न निर्देशन दिएको सार्वजनिक गरेका हुन् । जसपाको मधेस प्रदेश समितिको सोमबार जनकपुरमा बसेको बैठकमा पनि मुख्यमन्त्री राउतको राजीनामा मागिएको छ । मुख्यमन्त्री राउत केही दिनयता काठमाडौंमै छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वितरण गरेको साइकल खरिदमा अनियमितता भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । उक्त मुद्दामा मुख्यमन्त्री राउतलाई चोख्याइएको टिप्पणी भइरहेकै बेला जसपाभित्रबाट राउतमाथि राजीनामाका लागि दबाब बढेको हो । तत्कालीन संघीय समाजवादी फोरमबाट प्रदेशसभा सदस्यमा निर्वाचित राउत साढे चार वर्षअघि तत्कालीन राष्ट्रिय जनता पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनलाई पछिल्लो समय पाँचदलीय गठबन्धनमा रहेका दलको समर्थन छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार