राष्ट्रपतिको कदमबारे काँग्रेसमा छलफल…..

काठमाडौं-   सत्तारुढ दल नेपाली काँग्रेस नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई राष्ट्रिय सभाबाट पनि हुबहु पास गरेर राष्ट्रपतिबाट प्रमाणीकरण गराउने पक्षमा रहेको छ । गत साउन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्नका लागि फिर्ता पठाएको विधेयक प्रतिनिधिसभाबाट यथास्थितिमै पारित भएर यति बेला राष्ट्रिय सभामा पुगेको छ । आगामी भदौ १२ गते राष्ट्रिय सभाको बैठक बोलाइएको छ । राष्ट्रिय सभाको बैठकबाट पनि विधेयकलाई यथास्थितिमा नै पारित गरेर राष्ट्रपति कहाँ पठाउने काँग्रेसले तयारी गरेको हो । राष्ट्रिय सभामा पनि हालको सत्तारुढ गठबन्धन कै बहुमत भएकाले सो विधेयक पारित हुने निश्चित छ । संवैधानिक व्यवस्था अनुसार अब राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुपर्ने कानुनविद्हरूको भनाई छ । यद्यपि, सो विधेयक हुबहु पठाएपछि राष्ट्रपतिको आगामी कदम के हुन्छ भन्नेबारे आम चासो रहेको छ । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिको सम्भावित कदमबारे आफू निकटस्थ नेताहरूसँग छलफल गरेका छन् । राष्ट्रपतिले विधेयकलाई अड्काएर राख्नेदेखि राष्ट्रपतिले राजीनामा दिनेसम्मका विकल्पहरूमाथि प्रधानमन्त्री देउवाले काँग्रेस नेताहरूसँग छलफल गरेका हुन् ।

नागरिकतासम्बन्धी विधेयक: फेरि शीतल निवास पुग्ला कि राष्ट्रियसभामा अल्झिएला ?

​मंगलबार बसेको गठबन्धनको बैठकपछि प्रधानमन्त्री देउवासँग सो बैठकमा सहभागी काँग्रेस नेताहरूसँग छुट्टै छलफल गरेका थिए । सो बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिले नागरिकता विधेयकलाई लिएर चाल्न सक्ने कदमको बारेमा नेताहरूसँग छलफल गरेका थिए । स्रोतका अनुसार राष्ट्रपतिले आफू निकटस्थहरूसँग नागरिकता विधेयक हुबहु प्रमाणीकरणका लागि आए राजीनामा दिनेसम्मको मुडमा रहेको कुरा राखेको प्रधानमन्त्रीले काँग्रेस नेताहरूलाई सुनाएका थिए । बैठकमा सहभागी एक नेताले रातोपाटीलाई भने, ‘प्रधानमन्त्रीज्यूले राष्ट्रपतिबाट राजीनामा दिनेसम्मको सङ्केत प्राप्त भएको बताउनुभयो । त्यसका लागि आफूहरूले के कस्तो तयारी गर्ने भन्ने बारेमा छलफल भयो ।’ बुधबार पनि प्रधानमन्त्री देउवाले काँग्रेसका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका थिए । सो बैठकमा पनि प्रधानमन्त्रीले सोही विषयमा सङ्केत गरेको स्रोत बताउँछ । काँग्रेस प्रवक्ता प्रकाशशरण महतले भने बैठकमा संविधानअनुसार विधेयकलाई अघि बढाउने विषयमा छलफल भएको जानकारी दिए । राष्ट्रिय सभाबाट पारित भएको विधेयकलाई राष्ट्रपतिले अब प्रमाणीकरण गर्नुपर्ने काँग्रेसको स्पष्ट धारणा रहेको उनले बताए । राष्ट्रपतिले राजीनामा दिने नदिने काँग्रेसले छलफल गर्ने विषय नभएको उनको भनाई थियो । यता, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले पनि राष्ट्रपतिले राजीनामा दिने भन्ने कुरा सत्य नभएको बताए । राष्ट्रपतिले राजीनामा गर्ने भन्ने कुरा वाहियातको हल्ला हो, यसमा कुनै सत्यता छैन । राजीनामा किन गर्ने ? राजीनामा गरेर समस्या हल हुँदैन, वहाँले समस्याबाट भाग्न पनि मिल्दैन ।   साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार