‘एक्सन’ मा उत्रिए मेयर शाह…..

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसहितको टोली बिहीबार बिहान अनधिकृत रूपमा निर्माण भएका संरचना हटाउन शंखमूल पुग्यो । पार्किङका लागि भनेर छुट्याइएको बेसमेन्टमा सञ्चालित बर्गर हाउसलगायत अन्य भवनका पसल हटाउन निर्देशन दिएर शाह टोलीसहित बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्स पुग्यो । कम्प्लेक्सका अध्यक्ष द्विराज शर्मा सिवाकोटीले मेयर शाहलाई नक्सा लिएर आउन चुनौती दिए । त्यसपछि एक्कासि आवेशमा आएका शाहले शर्मालाई हप्काउँदै ३५ दिने सूचना निकालेरै अनधिकृत संरचना हटाउन थालेको प्रस्ट्याए । त्यहाँबाट फर्किएका शाह महानगर कार्यालय पुगे र केही घण्टापछि नक्सासहित अल्फाबिटा नै फर्किए । उनी पुग्दा शर्मा भने उपस्थित थिएनन् । नक्सा देखाउँदै शाहले सो अनुसारको संरचना भए/नभएको अनुगमन गरे । पार्किङका लागि छुट्याइएको बेसमेन्टमा अनधिकृत संरचना बनाएर फार्मेसी र डायग्नोस्टिक सेन्टर सञ्चालन भइरहेको पुष्टि भएपछि शाह एक्सनमा उत्रिए । अनधिकृत संरचना हटाउन निर्देशन दिएपछि फार्मेसीमा भएका औषधि निकाल्न लगाएर महानगरले डोजर चलाउन सुरु गर्‍यो । त्यतिन्जेलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो भने भीड पनि बढिसकेको थियो । अवैध संरचना भत्काउन थालेपछि भीडले ताली बजाउँदै शाहको कामको प्रशंसा गर्‍यो । शाहले फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ?’ आफैं बुझेर अवैध रूपमा बनाइएका संरचना हटाउन आग्रह गर्दै उनले नक्सा जसरी पास भएको छ, सोहीअनुसार बनाउन आग्रह गरेका छन् । अनधिकृत संरचना भत्काउनुअघि ३५ दिने सूचना जारी गरे पनि सो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहका लागि कोही पनि घरधनी सम्पर्कमा नआएको मेयर शाहले गुनासो गर्दै आएका छन् । नक्सापासबिनाका त्यस्ता संरचनामा बस्ने भाडावाल व्यवसायीमा पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै उनले घर मालिकबाटै क्षतिपूर्ति भराउन पनि महानगरले हदैसम्मको पहल गर्ने उनको भनाइ छ । गत सोमबारदेखि नै महानगरले अवैध संरचना र अन्डरग्राउन्ड पार्किङ खुलाउन थालेको हो । यो अभियान ५ वर्षसम्म चल्ने मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले बताए ।   साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार