संसदीय समितिमा पठाइयो नागरिकता विधेयक…..

काठमाडौं –    राष्ट्रपति विद्या भण्डारीले नेपाल नागरिकता ऐन २०६३, पहिलो संशोधन विधेयक ०७९ प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्देश आइतबार राष्ट्रियसभाको बैठकमा प्रस्तुत गरियो । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश पढेर सुनाए । गत साउन ६ गते संघीय संसदबाट नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको थियो । तर साउन २९ गते राष्ट्रपति भण्डारीले सो विधेयक प्रमाणीकरण नगरी आफ्नो सन्देशसहित फिर्ता पठाइदिइन् । राष्ट्रपतिले फिर्ता पठाएको सो विधेयकमाथि थप छलफल गर्न आवश्यक नरहेको भन्दै भदौ २ गते प्रतिनिधिसभाको बैठकबाट जस्ताको तस्तै पारित गरियो । प्रतिनिधिसभाबाट हुबहु विधेयक पारित भएको १० दिनपछि त्यसले राष्ट्रियसभामा प्रवेश पायो । तर राष्ट्रियसभामा अचानक सरकारले नै सो विधेयक संसदीय समितिमा छलफलका लागि पठाउन प्रस्ताव प्रस्तुत गर्‍यो । त्यसलाई सत्ता घटक दलले पनि अनुमोदन गरे । आइतबार दुई पटक बसेको राष्ट्रियसभाको बैठक अन्तर्गत पहिलो बैठकमा सभाका सचिव फुयाँलले राष्ट्रपतिको सन्देश सुनाए भने दोस्रो बैठकमा सो विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्था समितिमा पठाउन गृहमन्त्री बालकृष्ण खाणले प्रस्ताव प्रस्तुत गरे । उनले गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भयो । राष्ट्रियसभाबाट संसदीय समितिमा छलफल गर्ने स्वीकृतिसँगै अब यो विधेयकमाथि विधायन व्यवस्था समितिमा छलफल हुनेछ । भोलि सोमबार मध्याह्न १२ बजे छलफलका लागि समितिको बैठक बोलाइएको छ । राष्ट्रियसभामा नेपाली कांग्रेसकी सचेतक अनिता देवकोटाले विधायन समितिमा राष्ट्रपतिले पठाएको सन्देशमाथि मात्रै छलफल हुने बताइन् । विधेयकमाथि संशोधन प्रस्ताव दर्ता नहुने र राष्ट्रपतिको सन्देशमाथि मात्रै छलफल हुने भएकाले भदौ १६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट विधेयक पारित गरेर जाने हिसावले छलफल गरिने उनको भनाइ छ । राष्ट्रपतिको सन्देशमाथि मात्रै छलफल हुने भएकाले त्यसका लागि धेरै समय पनि नलाग्ने ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार