पाकिस्तानले भारतलाई ५ विकेटले हरायो…..

काठमाडौँ — पाकिस्तानले एसिया कपको सुपर–४ मा भारतलाई पाँच विकेटले पराजित गर्दै यसअघिको हारको बदला लिएको छ ।जितका लागि १ सय ८२ रनको लक्ष्य पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाएर प्राप्त गरेको थियो । लिग चरणमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो । अर्शदीप सिंहको अन्तिम ओभरमा जितका लागि पाकिस्तानलाई सात रन चाहिएको थियो । इफतिखर अहमदले विजयी रन बटुले र दुई रन बनाएर नटआउट रहे । अर्का नटआउट ब्याट्सम्यान खुशदील शाहले ११ बलमा १४ रन बनाए । पाकिस्तानका लागि मोहम्मद रिजवान सर्वाधिक ७१ रन बनाए । उनी ५१ बलको सामना गरेर हार्दिक पान्ड्याको बलमा आउट भए । उनले दुई छक्का र ६ चौका प्रहार गरे । खराब लयबाट गुज्रिरहेका पाकिस्तानी कप्तान बाबर आजम १० बलमा १४ रन मात्र बनाउन सके । उनी रवि बिस्नोइको शिकार बने । फकर जमानले पनि १८ बलमा १५ रन मात्र बनाउन सके । मोहम्मद नवाजले भने २० बलमा ४२ रन बनाए । उनले ६ चौका र दुई छक्का प्रहार गरे । चौथो विकेटका लागि नवाजले रिजवानसँग ७३ रनको साझेदारी गरे । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले पूर्वकप्तान विराट कोहलीको अर्धशतकको मद्दतले सात विकेटमा १ सय ८१ रन बनाएको थियो । कोहलीले ४४ बलमा ६० रन बनाए । रनआउट हुन अगाडि उनले चार चौका र एक छक्का प्रहार गरे । उनको यो ३२ औं अर्धशतक रह्यो ।यसैक्रममा उनी ट्वान्टी-२० क्रिकेटमा सर्वाधिक अर्धशतक बनाउने ब्याटर बने । भारतलाई प्रारम्भिक ब्याटर जोडी केएल राहुल र कप्तान रोहित शर्माले आक्रामक सुरुआत दिलाए । उनीहरूले ५.१ ओभरभित्र ५१ रनको सुरुआत दिलाए । दुवैले समान २८ रन बनाए । त्यसयता भारतले त्यस्तै आक्रामकतालाई भने कायम राक्न सकेन । इनिङ्सको बीचमा पाकिस्तानी बलरले भारतलाई केही दबाबमा राख्न सफल रहे । हार्दिक पान्ड्या शून्यमै आउट भए । अन्त्यतिर दीपक हुडाले भारतका लागि १४ बलमा १६ रन थपे । यस्तै रवि बिस्नोइले दुई बलमा आठ रन जोडे । सुपर ४ अन्तर्गत शीर्ष २ स्थानमा रहने टिमले फाइनल खेल्नेछन् । भारतले अब मंगलबार श्रीलंका र बिहीबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै पाकिस्तानले बुधबार अफगानिस्तान र शुक्रबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । सुपर ४ मा श्रीलंका र पाकिस्तानले १/१ खेल जितेका छन् । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार