चार्ल्स तृतीय औपचारिक रूपमा राजा घोषित…..

लन्डन — चार्ल्स तृतीय बेलायतको राजा घोषित भएका छन् । चार्ल्सलाई शनिबार लन्डनको सेन्ट जेम्स दरबारमा ‘एक्सेसन काउन्सिल’ सदस्यहरूमाझ औपचारिक रूपमा राजा घोषित गरिएको हो । महारानी एलिजाबेथ द्वितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएपछि उनका जेठा छोरा युवराज चार्ल्सलाई एक्सेसन काउन्सिल सदस्यहरूले एकै मतले नयाँ राजा घोषित गरेका हुन् । एक्सेसन काउन्सिलमा बेलायतका ६ जना पूर्वप्रधानमन्त्री, न्यायाधीश तथा वरिष्ठ सरकारी अधिकारी छन् । चार्ल्स राष्ट्रमण्डलका प्रमुख, धर्मका रक्षक र ब्रिटेनको नयाँ राजा भएको घोषित भएसँगै प्रिभी काउन्सिलका क्लर्क रिचार्ड टिलब्रुकले ‘ईश्वरले राजाको रक्षा गरून्’ भनेर उद्घोष गरेका थिए । घोषणा त्यसलगत्तै समारोहमा उपस्थित सबैले उक्त वाक्यांश दोहोराएका थिए । उक्त घोषणा फ्रेयरी कोर्टमाथि रहेको एउटा बार्दलीबाट पनि पढेर सुनाइएको थियो । ७३ वर्षीय चार्ल्स संसारकै सबैभन्दा बढी उमेरका राजासमेत हुन् । चार्ल्सले राजाका रूपमा जिम्मेवारी ग्रहण गर्दै शपथसमेत लिएका छन् । राजा घोषित भएलगत्तै छोटो मन्तव्य दिँदै उनले आमाको उदाहरण पछ्याउने प्रतिबद्धता गरेका छन् । राजा चार्ल्सले आमाको निधनमा संसारभरिबाट आफू र आफ्नो परिवारप्रति समवेदना प्राप्त भइरहेकोमा आभार व्यक्त गरेका बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् । लन्डनस्थित सेन्ट जेम्स प्यालेसको स्टेट अपार्टमेन्टमा बोल्दै चार्ल्सले ‘आफ्नी आमाले निःस्वार्थ रूपमा देश र जनताको’ सेवा गरेको बताए । ‘अवधि, प्रतिबद्धता र समर्पणको हिसाबले उहाँको शासनसँग अरु कसैको तुलना हुन सक्दैन,’ उनले भने । बेलायतकै इतिहासमा एक्सेसन काउन्सिलका सदस्यहरूको बैठक टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको यो पहिलो पटक हो । आइतबार वेल्स, नर्दन आयरल्यान्ड र स्कटल्यान्डमा पनि विशेष समारोह आयोजना गरी उनलाई राजा घोषणा गरिनेछ । चार्ल्स राजा बनेसँगै उनकी पत्नी ७५ वर्षीया क्यामिला रानी बनेकी छन् । चार्ल्सपुत्र प्रिन्स विलियम अब उनका पहिलो उत्तराधिकारी बनेका छन् । संवैधानिक राजाको रूपमा रहने चार्ल्सले राष्ट्राध्यक्ष तथा राष्ट्रमण्डलको नेताका महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने जनाइएको छ । यद्यपि, पछिल्लो समय बेलायती समाज परिवर्तन भएकाले उनले विभिन्न जात जाति वा सम्प्रदायको समान प्रतिनिधित्व गर्नुपर्ने देखिन्छ । ‘एलिजाबेथ द्वितीयले राज्यारोहण गर्ने बेलाको बेलायत र चार्ल्स तेस्रोले राज्यारोहण गर्ने बेलाको बेलायतमा धेरै नै फरक आइसकेको छ,’ बीबीसीसँग कुरा गर्दै प्राध्यापक भर्नन बोगदानरले भनेका छन् । ‘बेलायत अहिले बहुजातीय र बहुधार्मिक मुलुक बनिसकेको छ र नयाँ राजाले सबै धर्म र सम्प्रदायका मानिसहरूसँग सम्पर्क बढाउँछन् भन्ने आशा छ । चार्ल्ससँगै प्रिन्सेस ट्रस्टमा काम गरेका सर लोयड डर्फम्यानले भने राजा भए पनि चार्ल्स तेस्रोले जलवायु परिवर्तन तथा प्रांगारिक खेतीसम्बन्धी काम तुरुन्तै छाड्न नसक्ने ठान्छन् । ‘उहाँ निकै ज्ञानी र प्रभावकारी हुनुहुन्छ । त्यसैले राजा बन्नासाथ उहाँले यी विषय छोड्नु होलाजस्तो मलाई लाग्दैन,’ उनले भने । महारानी एलिजाबेथ द्वितीयको निधनले ब्रिटेनसहित विश्व स्तब्ध छ । विश्वभरका नेताहरुले दुःख व्यक्त गरिरहँदा बेलायती नागरिक झन् बढी मर्माहत छन् । यतिखेर बेलायत राष्ट्रिय शोकमा डुबेको छ । सर्वसाधारण नागरिकहरु महारानीको मुख्य कार्यालय बकिङघम प्यालेस, निवास बिन्जर क्यासल, बाल्मोरल क्यासल, सान्ड्रिघमलगायत स्थानमा भेला भएर पुष्पगुच्छा तथा मैनबत्ती प्रज्ज्वलन गरिरहेका छन् । बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्य सुवेदीले रानीको देहान्तले एक युगको अन्त्य भएको जनाए । ‘हामी जीवनको अधिकांश भाग रानी छन् भनेर हुर्किएका हौं । उनको निधनले सारै दुःखी बनाएको छ,’ उनले भने । आफूले रानीबाट लन्डन विश्वविद्यालय सोआसमा क्राउन रिप्रेजेन्टेटिभ, नेपाली नागरिकका रूपमा पहिलो ओबीई र क्यूसी गरी तीनवटा नियुक्ति पाएको स्मरण गर्दै सुवेदीले भने, ‘बेलायतमा राजनीतिक स्थायित्व प्रदान गर्न रानीको ठूलो योगदान थियो, उनको देहान्त बेलायतका लागि मात्र नभई संसारकै लागि अपुरणीय क्षति हो । विगत ४३ वर्ष देखि बेलायतमा बसोबास गर्दै आएका वरिष्ठ चिकित्सक राघवप्रसाद धिताल (ओबीई) ले पनि महारानीको निधनबाट आफू अत्यन्तै दुःखी भएको बताए । ‘महारानी देशका लागि सोच्ने, एकदमै राष्ट्रवादी र आफ्नो मुलुक तथा कमनवेल्थलाई कसरी फाइदा हुन्छ भनेर सोच्ने एक गैरराजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो,’ धितालले भने । बेलायतमा राजसंस्था निकै लोकप्रिय र अधिकांश जनताले पनि स्वीकार गरेको उनको बुझाइ छ । ब्राइटनस्थित युनिभर्सिटी अफ ससेक्समा अन्तर्राष्ट्रिय मानवअधिकार कानुनमा मास्टर्स गर्न चिभिनिङ स्कलरमा आएकी सरिता सुवेदीले बकिङघम प्यालेसमा श्रद्धाञ्जली अर्पण गर्न आएका सर्वसाधारणको भीड छिचोलिनसक्नु भएको बताइन् । ‘यसले बेलायतमा राजसंस्था र स्वर्गीय रानीको लोकप्रियता कति रहेछ स्पस्ट हुन्छ,’ उनले भनिन् ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार