५८१ कित्ताका घरमा डोजर चल्ने…..

काठमाडौं –       टुकुचा मिचेर संरचना बनाइएको ५८१ वटा कित्ताका जग्गा र त्यहाँ बनेका घरमा डोजर चल्ने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार चण्डोलदेखि थापाथलीसम्म टुकुचा खोला अतिक्रमण भएका ५८१ कित्ता जग्गा तथा त्यहाँका घरमा डोजर चल्ने भएको हो । शहरी विकास मन्त्रालयले तयार पारेको टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदनलाई काठमाडौं महानगरपालिकाले स्वीकार गर्दै सोही योजना अनुसार टुकुचा खोला करिडोर बनाउन लागेको हो । त्यसका लागि बिहीबारदेखि महानगरपालिकाले टुकुचा खोला मिचिएको जय नेपाल हलबाट उत्खनन् सुरु गरेको छ । महानगरपालिकाले बिहीबार हात्तीसारमा रहेको जय नेपाल फिल्म हलको कम्पाउण्डभित्र डोजर लगाएर टुकुचा खोलाको उत्खनन् सुरु गरेको हो । अब शनिवारदेखि फेरि हात्तीसारक्षेत्रमा छोपिएको टुकुचा खोला बाहिर निकाल्ने गरी उत्खनन् गर्न लागिएको छ । हात्तीसारक्षेत्रमा रहेका चारवटा ठूला भवन पूर्णरुपमा भत्कने छन् । यस्तै केही टहरा र खोलाको सेटब्याक मिचेर बनाइएका घरका केही भूभाग पनि भत्काउने तयारी गरिएको छ । प्राप्त डकुमेन्ट अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर १ मा रहेको कित्ता नम्बर ११ को नैना कुमारी देवी राणाको जग्गादेखि वडा नम्बर ३२ को कित्ता नम्बर ३३२२ को नजमा बानुसम्मका व्यक्तिले टुकुचा खोलाको अतिक्रमण गरेका छन् । टुकुचा खोलाको दायाँबायाँ रहेका ५८१ कित्ता जग्गा तथा त्यहाँ बनेका घर टहरा लगायतका संरचनाले शहरी विकासको मापदण्ड पूरा गरेका छैनन् । टुकुचा खोलाको चौडाई चार मिटर र खोलाको दायाँ तथा बायाँ चार चार मिटर छाड्नुपर्ने भएपनि यसरी दायाँ बायाँ चार चार मिटर नछाडिएका संरचनामा डोजर चलाउन लागिएको हो । पहिले खोला खुला गरी सेटब्याक समेत तयार भएपछि दसैँलगत्तै टुकुचा खोला करिडोर निर्माणका लागि टेण्डर आह्वान गर्ने तयारी गरिएको छ ।

टुकुचा बेपत्ता बनाउनेमाथि कारवाहीका लागि सिफारिस गरिने:

महानगरपालिकाका एक सल्लाहकारका अनुसार टुकुचा खोलाको अतिक्रमण गर्ने, अतिक्रमण गर्न सघाउ पुर्‍याउने र आफ्नो जिम्मेवारी पूरा नगर्ने राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, महानगरकै कर्मचारी आदि समेतलाई कारवाहीका लागि सिफारिस गर्ने तयारी गरिएको छ । आफ्नो नाम उल्लेख गर्न नचाहने ती सल्लाहकारले भने, ‘टुकुचा खोलामाथि अतिक्रमण भएको करिब ४० वर्ष भयो । यो समयमा टुकुचा खोलाको अतिक्रमण धेरै भएको देखिन्छ । कतिपय स्थानमा टुकुचा खोला नै भूमिगत बनाइएको छ भने खोलाका लागि छाड्नुपर्ने चार चार मिटरको सेटब्याक नछोडी संरचना बनाइएका छन् । साथै टुकुचा खोलामै ढल मिसाउन पनि अनुमति दिएको पाइएको छ । यस्तो कार्यमा संलग्न महानगरपालिकाकै कर्मचारी, नापी कार्यालय, मालपोत कार्यालय र स्थानीय जनप्रतिनिधि समेतलाई कारवाहीका लागि सिफारिस गर्ने तयारी भइरहेको छ । कुन कुन कार्यालय वा कर्मचारीले कसरी बदमासी गरे भनेर अहिले अनुसन्धान र छानबिन भइरहेको छ । छानबिन लगत्तै हामी उनीहरुलाई कारवाहीका लागि पनि सिफारिस गर्नेछौँ ।

दसैँअगाडि नै हात्तीसार क्षेत्रमा टुकुचाको उत्खनन सकिने:

ती सल्लाहकारका अनुसार आगामी दसैँ अगाडि नै हात्तीसारक्षेत्रमा भूमिगत बनाइएको टुकुचा खोला खुला बनाइने तयारी भएको छ । उत्खननको काम अब शनिबारदेखि नियमित हुनेछ । तर हात्तीसारक्षेत्रमा सबै स्थानमा डोजरबाट उत्खनन् नगरी खनेर वा अन्य विधिबाट उत्खनन् गरिने छ । हात्तीसार क्षेत्रमा रहेका चारवटा ठूला भवनले टुकुचा खोलामाथि संरचना बनाएका छन् । जय नेपाल हलसँगै रहेको एअर अरेबिया तथा गल्फ एअरको कार्यालय रहेको भवन पूरै भत्कने छ भने एसबी डेभलपर्सले बनाएको लक्ष्मी बैंक रहेको स्थानको पछिल्लो भवन पनि टुकुचा खोलामाथि बनाइएकाले उक्त भवन पनि भत्काइने छ । त्यसबाहेक हात्तीसार क्षेत्रमा रहेका साना साना टहरा तथा सेटब्याक नछाडि बनाइएका केही घरका केही भूभाग पनि भत्कने छ । दसैँअगाडि नै हात्तीसारक्षेत्रमा टुकुचाको कुल चौडाइ १२ मिटर (खोला चार मिटर, दायाँ र बायाँ चार÷चार मिटर) बनाउने गरी काम भइरहेको महानगरपालिकाले जनाएको छ ।  यी कित्ताहरू टुकुचासँग जोडिएका जग्गाका कित्ताहरू हुन् । यी कित्ताहरूमध्ये अधिकांशले चार मिटरको सेटब्याक नछाडि संरचना बनाएको महानगरले बताएको छ । यी कित्तामा परेपनि मापदण्ड पूरा गरेका घर नभत्कने महानगरले जनाएको छ । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार