राष्ट्रपतिको कदमबारे सत्ता गठबन्धनबीच छलफल…..

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्तागठबन्धन अब के गर्ने भन्ने छलफलमा छ । बिहान बसेको बालुवाटारको बैठकबाट गठबन्धनका चार दलले राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेर विज्ञप्ति जारी गरेका छन् । बालुवाटार बैठकमा उनीहरुबीच अबको कदमबारे दुई विकल्पमा छलफल भएको स्रोतले जनाएको छ । पहिलो विकल्प रुपमा राष्ट्रपतिले संविधानले तोकेको सीमाभित्र विधेयक प्रमाणीकरण नगरेपछि स्वत: प्रमाणीकरण भएको मानिने भएकाले राजपत्रमा विधेयक प्रकाशित गर्ने भन्ने छ । दोस्रो विकल्प भने संवैधानिक दायित्व पूरा नगरेकाले राष्ट्रपतिको कदमबारे सर्वोच्च अदालतमा रिट लिएर जाने भन्ने छ । यी दुवै विकल्प कानुनविद्हरुले पनि बाहिर प्रतिक्रियाको रुपमा सार्वजनिक गरिरहेका थिए । सत्ता गठबन्धनको बैठकमा विकल्पमा छलफल भएपछि बुधबार नै उनीहरुसँग छलफल गर्ने निष्कर्षमा पुगेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले कानुनविद्हरुलाई अपराह्न ३ बजे बालुवाटारमा बोलाइएको जानकारी दिए । उनीहरुले दिने सुझावका आधारमा गठबन्धन थप कसरी अघि बढ्ने भन्ने टुंगोमा पुग्ने एक नेताले जानकारी दिए ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार