काठमाडौँ — दसैंताका काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरिने भएकाले डेंगीको प्रकोप देशव्यापी बन्ने जोखिम रहेको विज्ञहरूले चेतावनी दिएका छन् । अहिले कुल संक्रमितमध्ये ६१ दशमलव ७३ प्रतिशत उपत्यकामा छन् । दसैंका बेला १० लाखभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिन्छन् । देशभरि नै डेंगु सार्ने भेक्टर (एडिस लामखुट्टे) पाइन्छ । दसैंमा उपत्यकाबाट मान्छे घर फर्कंदा डेंगी भाइरस पनि देशव्यापी बन्ने सम्भावना छ,’ स्वास्थ्य सेवा विभागको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले भने । आइतबारसम्म देशभरमा २४ हजार ४ सय ९२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ जसमध्ये १५ हजार १ सय २१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौं जिल्लामा हालसम्म ८ हजार १ सय ३६ डेंगी देखिएको छ, जसमध्ये संक्रमणको ९०.६० प्रतिशत अर्थात् ७ हजार ३ सय ७२ केस पछिल्ला २४ दिनमा देखिएको हो । यस्तै ललितपुरमा हालसम्म देखिएको ५ हजार ९ सय ३५ संक्रमणमध्ये ७२.०६ प्रतिशत अर्थात् ४ हजार २ सय ७७ संक्रमण पछिल्ला २४ दिनको हो । भक्तपुरमा हालसम्म पुष्टि भएकामध्ये ९१.२३ प्रतिशत अर्थात् ९ सय ५८ संक्रमण पछिल्ला २४ दिनको हो । दसैंमा एकैपटक ठूलो संख्यामा मानिस बाहिरिँदा उपत्यकामा संक्रमणमा कमी आउने भए पनि डेंगी सार्ने लामखुट्टेको जनघनत्व बढी भएको ठाउँमा संक्रमण बढ्न सक्ने जोखिम रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुर बताउँछन् । उनले यस्तो जोखिमलाई ध्यानमा राख्दै संघीय मामिला मन्त्रालयमार्फत सबै पालिकामा डेंगी नियन्त्रण अभियान चलाउन भनिएको बताए । ‘दसैंमा व्यापक रूपमा उपत्यकाको जनसंख्या बाहिरिने यथार्थलाई दृष्टिगत गर्दै स्थानीय तहमा सर्च एन्ड डिस्ट्रोय अभियान सञ्चालन गर्न भनिएको छ,’ डा ठाकुरले भने । विज्ञहरू डेंगीको विस्तार अझ पाँच साता जान सक्ने भएकाले हरेक घर र बाहिर लामखुट्टेको फुल, लार्भा र प्युपालाई ‘सर्च एनड डिस्ट्र्रोय’ (खोजी र नष्ट) गर्नुको विकल्प नरहेको बताउँछन् । केही वर्षयता अक्टोबर (असोज–कात्तिक) महिनाभरि डेंगी संक्रमण बढ्ने गरेको पाइएको ईडीसीडीका निर्देशक डा.चुमनलाल दासले बताए । ‘प्रत्येक घरमा हरेक साता लामखुट्टेको बासस्थान राम्ररी खोजेर नष्ट गरिए मात्र यो संक्रमण नियन्त्रण हुन्छ,’ उनले भने, ‘एउटा वयस्क लामखुट्टेले आठ सय वटासम्म फुल पार्ने र फुल, प्युपा र लार्भा सफा पानीमा रहने भएकाले संक्रमित लामखुट्टेको टोकाइबाट बच्न फुल, प्युपा, लार्भा खोजेर नष्ट गर्नुपर्छ । संक्रमित लामखुट्टेले पारेको फुल नष्ट हुनबाट जोगियो भने यो ८–९ महिनासम्म पानीको सम्पर्कमा आउँदा डेंगु सार्ने लामखुट्टेमा परिणत हुन सक्छ ।
विज्ञहरू लामखुट्टेको प्रजनन स्थल नष्ट नगरिए अर्को वर्षसमेत डेंगी संक्रमण थप भयावह बन्न सक्ने चेतावनी दिन्छन् । ‘काठमाडौं उपत्यकामा सरकारी उदासीनताले प्रभावकारी रूपमा नियन्त्रण गरिएको छैन । यसले डेंगी संक्रमणको स्थानीयकरण (इन्डिमिक) हुनेछ,’ ईडीसीडीका पूर्वनिर्देशक डा. जीडी ठाकुरले भने, ‘सिंगापुर, दिल्ली जस्तै अब काठमाडौं उपत्यकामा बर्सेनि डेंगु प्रकोप देखिनसक्ने कुरालाई अस्वीकार गर्न सकिन्न । उनी दसैंमा काठमाडौंबाट घर जानेहरूलाई डेंगीसँग मिल्दोजुल्दो लक्षण देखिए झुलभित्र सुत्न, लामखुट्टेको टोकाइबाट बच्न र डेंगी परीक्षण गराउन सल्लाह दिन्छन् । उपत्यकाबाहिर सबैभन्दा बढी मकवानपुरमा १ हजार ७ सय १७ जना डेंगी संक्रमित भएका छन् । यस्तै, दाङमा १ हजार २ सय ५२, चितवनमा ५ सय ४४, धादिङमा ३ सय ३९, रूपन्देहीमा २ सय ८३, कैलालीमा २ सय ७८ र गुल्मीमा २ सय ९९ मा डेंगी संक्रमण देखिएको छ । नेपालमा पहिलो पटक सन् २००४ मा डेंगी संक्रमण देखिएको थियो । सन् २०१९ मा सबैभन्दा बढी १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो भने ६ जनाको मृत्यु भएको थियो । उक्त वर्ष ६८ जिल्लामा संक्रमण फैलिएको थियो । डेंगी संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल संक्रमण हो । डेंगी एडिस एजेप्टाई नामको पोथी लामखुट्टेले टोक्दा संक्रमण हुन्छ । संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई पनि टोक्दा डेंगीको संक्रमण हुन्छ । संक्रमित लामखुट्टेले टोकेको ३ देखि १० दिनभित्र शरीरमा लक्षण देखा पर्न थाल्छ । डेंगीको संक्रमण वयस्कको दाँजोमा बालबालिका र बूढापाकामा बढी देखिन्छ । चिकित्सकहरूका अनुसार हाल संक्रमितमध्ये अधिकांशमा १०४–१०५ डिग्रीसम्म कडा ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, जीउ दुख्ने, खान मन नलाग्ने, वाकवाकी, बान्ता हुने, पेट दुख्ने र एकदमै कमजोरी अनुभव हुने जस्ता लक्षण देखिन्छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले डेंगी संक्रमणको कुनै निश्चित उपचार नभएको जनाएको छ । चिकित्सकहरूका अनुसार डेंगी संक्रमित बिरामीले ज्वरो कम गर्न सिटामोल खानुपर्छ र आराम गर्नुका साथै झोलिलो पदार्थ बढी खानुपर्छ । डब्लूएचओका अनुसार डेंगीमा ज्वरो, दुखाइ जस्ता लक्षणका लागि ‘एसिटामिनोफेन’, वा ‘पारासिटामोल’ खानुपर्छ । उनीहरू बु्रफिन र एस्पिरिनजस्ता औषधिको सेवन नगर्न पनि सचेत गराउँछन् । जाडो मौसम सुरु नभएसम्म डेंगीको संक्रमण कायम रहने भएकाले विशेषगरी बिहान र बेलुका लामखुट्टेबाट बच्न चिकित्सकहरू सुझाव दिन्छन् । डब्लूएचओका अनुसार विश्वका आधा जनसंख्या डेंगुको जोखिममा छन् । साभार : इका












