शीतलनिवासमा दसैंको रौनक…..

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले पण्डितहरूले भनेकै समयमा हनुमानढोकाका मूलपुजारी र राष्ट्रपति कार्यालयका मूलपुजारीबाट दसैंको टीका ग्रहण गरिन् । बडादसैं २०७९ को अवसरमा राष्ट्रपति भण्डारीले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११:५१ बजे टीका ग्रहण गरेकी थिइन् । राष्ट्रपतिलाई टीका लगाउनका लागि माथि भनिएझैं दुई पुजारी (गुरु)हरू हनुमानढोकाका मूलपुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका मूलपुजारी खेमचन्द्र ढकाल उपस्थित थिए । मन्त्रोच्चारण गर्न पुजारीका सहयोगीहरू पनि राष्ट्रपति कार्यालयमा पुगेका थिए । दसैंको टीका ग्रहण गर्ने शुभ साइत आउनैलाग्दा पुजारीहरूले तयारी गरेका थिए । राष्ट्रपतिका लागि सोफाको व्यवस्था गरिएको थियो । मन्त्र वाचन गर्दै सुरुमा हनुमानढोकाका मूलपुजारी अर्यालले राष्ट्रपतिलाई अक्षता लगाइदिए र दाहिने हातमा धाँगो बाधिँदिए । त्यसपछि उनले राष्ट्रपतिबाट टीका थाप्ने पालो आयो । राष्ट्रपति भण्डारी सोफामा बसेकाले अर्याललाई उभिएरै टीका थाप्न सम्भव भएन । उनले घुँडा आधा खुम्च्याएर राष्ट्रपतिले आफ्नो निधारमा हात पुर्‍याउने तहसम्म निहुरिएर टीका ग्रहण गरे । अर्याललाई दक्षीणा प्रदान गरेर राष्ट्रपतिले आफ्नै कार्यालयका मूलपुजारी खेमचन्द्र ढकालको हातबाट टीका ग्रहण गर्ने पालो आयो । राष्ट्रपतिलाई टीका लगाइदिएपछि ढकालले राष्ट्रपतिबाट टीका ग्रहण गर्ने पालो आयो । राष्ट्रपति सोफामा बसेकी राष्ट्रपतिको हातबाट टीका थाप्न उनले निहुरिनुपर्ने अवस्था आयो । उनी अर्यालले झैं निहुरिएनन् बरु राष्ट्रपति भण्डारीको अगाडि भुइँमा पलेटी कसेर बसे । राष्ट्रपतिले टीका लगाइदिइन् र दक्षिणा प्रदान गरिन् । पुजारीहरूलाई साथ दिन आएकाहरूले पनि ढकाललाई नै पछ्याए र राष्ट्रपतिको अगाडि पलेटी कसेर बसी टीका र दक्षिणा राखिएका खाम ग्रहण गरे । राष्ट्रपतिको दसैं टीकाको भीडीयो र फोटो खिच्नका लागि सरकारी सञ्चारमाध्यमका पत्रकारहरू पुगेका थिए । उनीहरूका अनुसार राष्ट्रपतिले पुजारीहरूलाई टीका लगाइदिँदा सामुन्नेमा कुर्सी राखिएका थिएनन् । अर्यालले घुँडा खुम्च्याएर निहुरिइ टीका थापेपछि टीका लगाउन पुगेका पुजारी ढकाल भने भुइँमा बसेका थिए । उनी भुइँमा बस्दा राष्ट्रपतिले नबस्न इशारा गरेको देखिएको पत्रकारहरूले बताएका छन् । तरपनि ढकालले बसेर नै टीका थापेको र पुजारीहरूसँग आएकाले पनि पलेटी कसेरै टीका थापेका थिए । त्यसपछि राष्ट्रपतिले आफन्तहरूलाई टीका लगाइदिएकी थिइन् । छोरी, ज्वाइँ, नातिनीलगायतका आफन्त र सचिवालयमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीलाई टीका लगाउने बेला भने राष्ट्रपति बसेको सोफा अगाडि कुर्सी राखिएका थिए । राष्ट्रपति भण्डारीले एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा उनकी पत्नी राधिका शाक्यलाई पनि कुर्सीमा बसालेरै टीका लगाइदिएकी छन् । ओली झापामा बुबा र ठूलीआमाको हातबाट दसैंको टीका थापेर बुधबार नै काठमाडौं आएका थिए । राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई पनि टीका लगाइदिएकी थिइन् । सर्वसाधारणलाई टीका लगाउनका लागि राष्ट्रपति कार्यालयले २ देखि ५ बजेसम्मको समय निर्धारण गरेको थियो । सर्वसाधारणलाई टीका लगाउनका लागि भने राष्ट्रपति कार्यालयको प्रांगणमा पोडियम राखिएको थियो । पोडियमको अगाडि सर्वसाधारणलाई उभ्याएर र आफू पनि उभिएर राष्ट्रपतिले टीका लगाइदिएकी हुन् ।   साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार