सन्दीप लामिछाने विमानस्थलबाट पक्राउ…..

काठमाडौँ — नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । अमेरिका हुँदै कतारको दाेहा ट्रान्जिट भएर बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीकाे जिम्मा लगाएकाे हाे । लामिछानेले अध्यागमनका अधिकारीहरूलाई आफू अमेरिकाबाट आएको बताएका छन् । सन्दीपसँग अमेरिका‚ बेलायत‚ अस्ट्रेलिया र क्यनडाको भिसा थियो । २०७९ भदाै २१ मा एक किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडाैं प्रहरी वृत्त गाैशालामा जाहेरी दिएकी थिइन् । आफूलाई लामिछानेले भदाै ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरी प्रहरीले भदाै २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएकोमा भदाै २३ मा काठमाडाैं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो । अदालतले पक्राउ अनुमति दिएलगत्तै प्रहरीले लामिछानेलाई फरार सूचीमा राख्यो भने नेपाल क्रिकेट संघ(क्यान)ले कप्तानबाट निलम्बन गरेको थियो । निलम्बन हुनुअघिसम्म क्यानको सम्पर्कमा रहेका लामिछाने त्यसपछि भने सम्पर्कविहीन भएका थिए । उनी प्रहरी र क्यान दुवैको सम्पर्कमा नआएपछि विमानस्थल अध्यागमन कार्यालयले पनि उनलाई कालो सूचीमा राख्यो । अनि मात्रै भदाै २४ गते फेसबुक र ट्वीटरमार्फत आफू निर्दोष रहेको र कानुनी लडाइँ लड्न छिट्टै नेपाल आउने बताएका लामिछानेलाई नेपाल नफर्किएपछि प्रहरीले गत असोज ७ मा इन्टरपोलको डिफ्युजन नोटिसमा राखेर विश्वभरका प्रहरीमार्फत खोजी अघि बढाएको थियो । प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ । नेपालमा आफूविरुद्ध जाहेरी पर्दा भदौ तेस्रो साता लामिछाने वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा आवद्ध थिए । अफ्रिकी मुलुक केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला सकेर सीपीएल खेल्न उतैबाट वेस्ट इन्डिज लागेका लामिछाने सीपीएलमै व्यस्त थिए । सीपीएल चलिरहेकै बेला काठमाडौंमा एक किशोरीले लामिछानेविरुद्ध गौशाला प्रहरीमा जबर्जस्ती करणीको कसुरमा जाहेरी दिएकी थिइन् । जाहेरीमा भदौ ५ गते लामिछानेले ती किशोरीलाई जबर्जस्ती नगरकोट पुर्‍याएको र केही समय त्यहाँ बसेर राति तिलगंगाको एक होटलमा पुर्‍याई जबर्जस्ती करणी गरेको उल्लेख छ । लामिछाने भदौ ६ मा केन्यासँग एकदिवसीय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए ।जाहेरीमा उनी नैरोबी उड्नु अघिल्लो रात घटना भएको उल्लेख छ । तर, घटनाको दुई सातापछि मात्रै पीडित प्रहरीमा पुगेकी थिइन् । स्रोतका अनुसार सुरुमा किशोरीले साथीमार्फत लामिछानेसँग भेटेकी थिइन् । त्यसपछि लामिछानेसँग सामाजिक सञ्जालमार्फत कुराकानी र फोटो आदानप्रदान गरेकी थिइन् । नेपाली टोलीका कप्तान मात्र होइन, इन्डियन प्रिमियर लिग (आईपीएल), बिगबास लिगजस्ता फ्रेन्चाइज प्रतियोगिता खेलेर ‘ग्लोबल स्टार’ को छवि बनाएका लामिछानेलाई आफूले ´फ्यान`का रुपमा मात्रै भेटेको तर उल्टै जबर्जस्ती करणीमा परेको बयान पीडितले प्रहरीलाई दिएकी छन् । संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ उल्लेख छ । संहितामा १६ देखि १८ वर्ष उमेरको नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको पुष्टि भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार