सत्ता गठबन्धनमा यसरी सिट बाँडफाँट…..

काठमाडौं –    सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्रिएपछि कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच सिट बाँडफाँटको हिसाब फेरिएको छ । जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न पुगेपछि बाँडफाँटमा गठबन्धनभित्र सिट थपघट हुने देखिएको हो । सत्ता गठबन्धनबाट जसपा बाहिरिएर लोसपा भित्रिएपछि पहिले भएको सिट बाँडफाँटमा हेरफेर हुने भएको छ । यसअघि कांग्रेसले ८६, माओवादीले ४४, एकीकृत समाजवादीले १७, राष्ट्रिय जनमोर्चाले २ सिट पाउने करिब सहमति भएको थियो । गठबन्धनभित्र १६ सिट मात्र भाग परेपछि असन्तुष्ट भएर जसपा नेकपा एमालेसँग तालमेल गर्न पुगेको छ । जसपाको ठाउँमा लोसपा गठबन्धनमा जोडिँदा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको केही सिट बढ्ने भएको हो । शुक्रबार बसेको गठबन्धनको बैठकमा माओवादीलाई ४५, एकीकृत समाजवादीलाई २० र जनमोर्चालाई २ सिट दिने गरी बाँडफाँट भएको छ । १६५ निर्वाचन क्षेत्र मध्ये बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ । कांग्रेसका एक पदाधिकारीले भने, ‘अब कांग्रेसले ९० भन्दा बढी सिटमा उम्मेदवारी दिने अवस्था आएको छ । माओवादीले पनि ४६ र एकीकृत समाजवादीले करिब २० सिटसम्म पाउने जस्तो छ । जसपालाई दिएको सिट लोसपालाई दिन नपर्ने भएपछि कांग्रेस, माओवादी र एकीकृत समाजवादीको भागमा केही सिट थपिने कांग्रेसका एक पदाधिकारीले रातोपाटीलाई बताए । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच प्रतिनिधिसभाको सिट बाँडफाँट करिब टुङ्गिएको छ । शुक्रबार बिहान ९ बजेबाट बसेको गठबन्धनको बैठकले करिब १० घण्टा लगाएर सिट बाँडफाँट टुङ्ग्याएको हो । शुक्रबार लोसपाका नेताहरूले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग मात्र छलफल गरेका थिए । कांग्रेसका एक जना पदाधिकारीका अनुसार लोसपालाई प्रतिनिधिसभामा बढीमा ८ सिट दिइने छ । सत्ता गठबन्धनभित्र लोसालाई चुनावी तालमेलमा समेट्ने सैद्धान्तिक सहमति भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनमा आवद्ध दल र लोसपाबीचको छलफलमा उक्त सहमति भएको लोसपा कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानकारी दिए । आजको बैठकमा गठबन्धनभित्र लोसपाको भूमिका, आवश्यकता, सहभागीतालगायतका विषयमा सैद्धान्तिक सहमति भएको छ, भोलि बस्ने बैठकबाट सिट बाँडफाँटको टुंगो लगाउँछौँ ।’

लोसपा भित्रिँदा सिट बाँडफाँटमा चुनौती:

लोसपाका लागि गठबन्धनमा केही निर्वाचन क्षेत्र मिलाउन सकस देखिएको छ । लोसपालाई दिने ८ सिटमा निर्वाचन क्षेत्रको समस्या देखिएको कांग्रेसका नेताले रातोपाटीलाई बताए । रौतहट १ मा गठबन्धनबाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल उम्मेदवार हुने पहिले नै सहमति भइसकेको छ । तर ०७४ मा (तत्कालीन राजपा) लोसपाका नेता अनिल झा सो क्षेत्रबाट निर्वाचित भएका थिए । गठबन्धनमा लोसपाले झाका लागि रौतहट १ मागेको छ । यस्तै एकीकृत समाजवादी पार्टीले पाउने निश्चित भएका बारा ४ र धनुषा ३ लगायतका क्षेत्रमा पनि लोसपाको दाबी छ । ०७४ मा बारा ४ मा लोसपाका राम एकवाल मिया र धनुषा ३ मा राजेन्द्र महतो निर्वाचित भएका थिए । उक्त क्षेत्र आफूले पाउने पर्ने लोसपाको प्रस्ताव छ । बारा ४ मा एकीकृत समाजवादीले नेता किसान श्रेष्ठ र धनुषा ३ मा रामचन्द्र झालाई गठबन्धनबाट उम्मेदवार बनाउने तयारी गरिसकेको छ । यसले लोसपाका लागि गठबन्धनभित्र सिट बाँडफाँटमा सकस बनेको ती नेताले बताए । केही क्षेत्रमा कांग्रेसका लागि पनि लोसपाका नेताको व्यवस्थापन समस्या देखिएको छ । पर्सा ४, महोत्तरी २ लगायतमा लोसपा र कांग्रेसको दाबी छ । ०७४ मा पर्सा ४ बाट लोसपाका लक्ष्मणलाल कर्ण विजयी भएका थिए भने महोत्तरी २ मा शरदसिंह भण्डारी निर्वाचित भएका थिए । पर्सा ४ र महोत्तरी २ लोसपालाई छाड्दा नेता रमेश रिजाल र नेतृ किरण यादवको व्यवस्थापन कांग्रेसका लागि चुनौती पूर्ण छ । तर भोलिसम्म जसरी पनि उम्मेदवार टुङ्ग्याउनुपर्ने दलहरू दबाबमा छन् । निर्वाचन आयोगका अनुसार आइतबार मनोनयन दर्ताको कार्यतालिका छ ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार