चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलन…..

काठमाडौं-       चीनको सत्तारुढ कम्युनिष्ट पार्टी (सीसीपी) का शीर्ष नेताहरू आइतबारदेखि सुरु भएको र सात दिनसम्म चल्ने २० औँ राष्ट्रिय सम्मेलनको लागि ग्रेट हल अफ पिपुल्समा भेला भएका छन् । सम्मेलनमा कैयौँ गोप्य बैठकपछि शक्तिशाली पदहरू र समितिको नेतृत्व र सदस्यहरु फेरबदल हुनेछन् । यही भेलाले सी जिनपिङलाई तेस्रो कार्यकालका लागि पुनः नियुक्ति गर्ने बताइएको छ । भेलामै आगामी पाँच वर्ष पार्टीले लिने दिशाबारे पनि खाका प्रस्तुत गरिन्छ । सम्मेलनमा धेरैको नजर सी तेस्रो कार्यकालको लागि चुनिए भने उनका सहयोगी को नियुक्त होलान् ?सी महासचिवबाट अध्यक्षका रुपमा चुनिने पो हुन् कि भन्ने कुरामा हुनेछ । त्यस्तै अर्थतन्त्रमा असर गरिरहेको शून्य–कोभिड नीति र ताइवानलाई कब्जा गर्ने सीको बाचाबारे कस्तो नीति अंगिकार होला भन्नेबारे पनि चासो छ ।

के हो राष्ट्रिय सम्मेलन ?

राष्ट्रिय सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीले हरेक पाँच वर्ष सम्पन्न गर्ने सबैभन्दा महत्त्वपूर्ण बैठक हो । बैठकमा नयाँ पदोन्नति र पार्टी नेतृत्वको चयनदेखि प्रमुख नियुक्तिहरू घोषणा हुन्छ । बैठकमा पार्टीको कामको मूल्यांकन हुनेछ भने आगामी पाँच वर्षको रूपरेखा पनि तयार पारिन्छ । बैठक प्रायस सधैँ शरद ऋतुमा हुन्छ,र यस वर्षको महाधिवेशन तुलनात्मक चाँडै भएकोले केही महत्वपूर्ण निर्णय भएको संकेत गर्छ । साथै पार्टीभित्रका सम्भावित असहमति वा अन्तर पार्टी संघर्ष मिलेकाले पनि चाँडै सम्मेलन आयोजना भएको हुनसक्छ ।

सम्मेलनमा को–को सहभागी हुन पाउँछन् ?

चिनियाँ कम्युनिष्ट पार्टीका लगभग २३०० वरिष्ठ पार्टी सदस्यहरू बेइजिङको ग्रेट हल अफ द पिपुलमा भेला भएका छन् । उनीहरुले चीनभरका करोडौं पार्टी सदस्यको प्रतिनिधित्व गर्छन् । उपस्थितमध्ये २०० जना केन्द्रीय समिति सदस्यसँग मतदान अधिकार हुन्छ भने अन्य १७० वैकल्पिक सदस्य पनि उपस्थित हुन्छन् । केन्द्रीय समितिसँग २५ सदस्यीय पोलिटब्युरो(पोलिटिकल ब्यूरोको छोटो रुप अर्थात राजनीतिक व्युरो) चयन गर्ने जिम्मेवारी हुन्छ । पोलिटब्युरोका सात जना देशको सबैभन्दा शक्तिशाली निर्णायक इकाई अर्थात ‘पोलिटब्युरोको स्थायी समिति (पीएससी)’ मा नियुक्त हुन्छन् । एजेन्सी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार