एमालेमा निर्वाचनमा उम्मेदवारी छनोटमा भेदभाव…..

काठमाडौं-      नेकपा एमालेमा ओली समूह ‘ए’, माधवकुमार नेपालको साथ छाडेर एमालेमै रहेका १० भाइ ‘बी’ र पूर्व माओवादी समूहलाई ‘सी’ ग्रेड राखेर वर्गीकरण गरिएको हाल एमालेमै रहेका एक पूर्वमाओवादी नेताले जनाएका छन् । आसन्न निर्वाचनमा उम्मेदवारी छनोटमा भेदभाव भएको तर्कसहित उनको भनाइ छ, ‘उम्मेदवारको योग्यता, क्षमता र लोकप्रियतामा ध्यान दिइएन । वर्गीकरणका आधारमा टिकट दिइयो । जसरी राणा शासन राणाहरुकै वर्गीकरण गरेर सिद्धियो, त्यसरी नै एमाले सिद्धिने भयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी समूह र माधव नेपालको साथ छाडेर एमालेमै रहेका ‘१० भाइ’ को समूहसँग परामर्श नै नगरी टिकट वितरण गरेपछि चर्को असन्तुष्टि देखिएको ती नेता बताउँछन् । चुनावी तालमेलका नाममा राप्रपादेखि जनता समाजवादी पार्टीसँग सहकार्य गर्ने निर्णय पनि एमाले अध्यक्ष ओलीले एकलौटी लिएको उनको आरोप छ । उनका अनुसार ओलीले माधव समूह छोडेका १० भाइ र पूर्व माओवादी समूहलाई पूर्वाग्रही ढंगले टिकट नदिने र उम्मेदवार बन्नबाटै रोक्ने नीति लिएपछि पार्टीभित्र असन्तुष्टि चुलिँदै गएको छ । एमालेले राप्रपा, राप्रपा नेपाल, परिवार दल र जनता समाजवादी पार्टीसँग केही क्षेत्रमा तालमेल गरेको छ । उक्त तालमेलपछि विभिन्न जिल्लामा एमाले पंक्तिले खुलेरै असन्तुष्टि राख्दै आएका छन् । मकवानपुरमा त कमल थापालाई एमालेले उम्मेदवार बनाएपछि कार्यकर्ताले पार्टी कार्यालयमै तालासमेत लगाएका थिए । पार्टीभित्र चर्किएको असन्तुष्टिका कारण प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा समेत प्रभाव पर्ने एमालेकै कतिपय कार्यकर्ता बताउँछन् । एमाले उपाध्यक्ष रामबहादुर थापा‘बादल’ले चितवन–२ वा ३ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारी गरेका थिए । माओवादी छोडेर ओलीलाई गुन लगाएका थापा अन्तिममा उम्मेदवारै हुन पाएनन् । थापाकी श्रीमती नैनकला थापालाई समानुपातिकमा राखेर ओलीले थामथुम गर्ने प्रयास गरेका छन् । थापालाई ओलीले फेरि राष्ट्रियसभामा लैजाने बचन दिएको उनी निकट एक नेताले बताए । यद्यपि थापा पछिल्लो समय असन्तुष्ट रहेको उनी निकट स्रोत बताउँछ । पार्टीबाट उम्मेदवार बनेकाहरु चुनाव प्रचारमा खटिसकेको अवस्थामा पार्टीका सिनियर नेता थापा भने ‘फ्रन्ट लाइन’ मा कतै देखिएका छैनन् । यस्तै स्थायी समिति सदस्य मणि थापाले प्युठानबाट प्रतिनिधिसभामा चुनाव लड्ने तयारी गरेका थिए । उनलाई ओलीले प्युठानबाट प्रतिनिधिसभा नभए प्रदेशसभातर्फ उम्मेदवार बनाउने आश्वासन समेत दिएका थिए । त्यसैले थापाले आफ्नै तरिकाले तयारी थालेका थिए । अन्तिममा सूर्यबहादुर थापालाई प्यूठानबाट प्रतिनिधिसभा उम्मेदवार बनाएपछि मणि थापा उम्मेदवार हुनै पाएनन् । अन्तिममा समानुपातिक सूचीमा समेत थापा अटेनन् ।

केन्द्रीय सदस्य दावा लामा, कृष्ण केसी, सहदेव बोगटी, नविन रोका लगायतले टिकटको अपेक्षा गरे पनि उम्मेदवार हुन पाएनन् । पूर्वमाओवादी समूहबाट एमालेमा ३२ जना केन्द्रीय सदस्य छन् । तीमध्ये आधामात्र उम्मेदवार बन्न पाए । जसमा ९ जनालाई प्रतिनिधिसभा र ७ जनालाई प्रदेशसभामा उम्मेदवार बनाइएको छ । तत्कालीन नेकपा खारेजपछि माओवादी छोडेर एमालेलाई राष्ट्रियसभा सदस्य एक, प्रतिनिधिसभा सदस्य ४ र प्रदेशसभा सदस्य १४ जनाले समर्थन गरेका थिए । ती सबैले आफ्नो पद धरापमा राखेर एमालेलाई सहयोग गरे पनि आसन्न निर्वाचनका लागि ओलीले टिकट नदिएपछि असन्तुष्ट बनेका छन् । पूर्वमाओवादी नेता प्रभु साहले टिकट वितरण र तालमेलमा असन्तुष्टि जनाउँदै एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिइसकेका छन् । आफूले भनेका उम्मेदवारलाई टिकट नदिएको तथा जसपासँग तालमेल गर्दा परामर्श नगरेको भन्दै उनले पार्टीले दिएको टिकटसमेत अस्वीकार गरी स्वतन्त्र उम्मेदवारी दिए । साहले मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ ११ र प्रदेशसभातर्फ २५ क्षेत्रमा आफ्नो पक्षबाट स्वतन्त्र उम्मेदवारी दिन लगाएका छन् । एमाले छोडेको घोषणा गर्दै साहले रौतहट–३ मा सत्ता गठबन्धनलाई आफ्नो समर्थनमा उभ्याएका छन् । अहिले एमालेले उनलाई कारवाही गरेर पार्टीबाट निकालिसकेको छ । ओलीजीले जसरी मधेसवादी दलसँग अपवित्र गठबन्धन गर्नुभयो, त्यसले गर्दा भागबन्डाको गलत राजनीतिको अभ्यास भयो । त्यसलाई रोक्न मैले प्रयास गरेको छु,’ रातोपाटीसँगको कुराकानीमा साहले भने, ‘मेरो यो कदम देश र जनताको पक्षमा छ । कम्युनिस्ट आन्दोलनको पक्षमा छ । एक ढङ्गले भन्ने हो भने एमालेको पक्षमा छ । उपेन्द्र यादवसँग तालमेल गर्दा कसको इसारामा गरेको भन्दै साहले ओलीलाई प्रश्नसमेत गरेका छन् । ‘मेरो पनि ओलीजीलाई प्रश्न छ । तपाईंले उपेन्द्र यादवसँग जुन साँठगाँठ गर्नुभयो । त्यो कसको इसारामा गर्नुभयो ? हामी जान्न चाहन्छौँ,’ साहले भने । एमाले र जसपाबीच भएको तालमेल देश र जनताको पक्षमा नभएको भन्दै साहले आक्रोश पोखे । ‘जसपासँगको गठबन्धन न देशको पक्षमा छ न जनताको पक्षमा छ । न एमालेकै पक्षमा छ । एमालेप्रतिको जुन एउटा आकर्षण थियो, जुन एउटा विश्वास थियो, त्यो ध्वस्त भयो,’ साहले भने, ‘हिजो उहाँले मधेसवादी भनेको साम्प्रदायिक शक्ति हो, यसले देशको एकतालाई खलबल्यायो, यो कुनै विदेशीको इशारामा चलेको पार्टी हो भनेको सन्दर्भमा एकाएक जब बालकोटमा मैले उपेन्द्र यादवजीलाई देखेँ, म आफै पनि आश्चर्यचकित भएँ । प्रभु साह एमालेबाट निस्किएपछि त्यसको क्षति एमालेले मधेसमा नराम्रोसँग भोग्ने देखिएको छ । मधेसमा कमजोर भएको एमालेलाई प्रभुले नै बलियो बनाएका थिए । अन्तिममा उनी नै पार्टीबाट निस्किएपछि चुनावमा त्यसको असर देखिने जानकार बताउँछन् ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार