काठमाडौं- जापानका प्रधानमन्त्री फुमियो किशिदाले पुन युनिफिकेशन चर्चमाथिको अनुसन्धानलाई तीव्रता दिन आग्रह गरेका छन् । यसअघि आफ्ना पार्टीका सांसदहरूलाई सो समूहबाट बाहिरिन निर्देशन दिइएको भए पनि आम असन्तुष्टि कम नभए पछि जाँचको आदेश दिइएको हो । गत जुलाई ८ मा जापानको इतिहासमा सबैभन्दा लामो शासन गरेका शिन्जो आबेको हत्यामा चर्चको संलग्नता रहेको खुलेपछि चर्च अनुसन्धानको केन्द्रमा छ । अनुसन्धानदाताका अनुसार, हत्यारा तेत्सुया यामागामीको प्रमुख निशाना थिएनन्, शिन्जो आबे । अनुसन्धानको क्रममा जुलाई ८ आबेलाई गोली हानेर हत्या गर्ने यामागामीले सुरुमा दक्षिण–कोरियाली धार्मिक समूह युनिफिकेशन चर्चका प्रमुखलाई मार्न चाहेको पाइएको छ । ४१ वर्षीय यामागामीले उनको परिवारको आर्थिक विनाशको लागि जिम्मेवार सो चर्चलाई दोषी ठहराएका थिए । तर कोभिड–१९ महामारीको कारण उनले निशाना बदलियो । सन् २०१२ मा युनिफिकेसन चर्चका संस्थापक सन म्युङ मुनको मृत्युपछि चर्चको नेतृत्व गरिरहेकी थिइन् सनकी श्रीमती जा हान मुन । कोरोना महामारीपछि अन्तर्राष्ट्रिय सीमाहरू बन्द भएपछि जा हान मुनको जापानको नियमित आउजाउ बन्द भयो । यामागामीले निशाना बदलेर सिन्जो आबेलाई नै किन चुने त ? हत्यापछि भएको अनुसन्धानले यसको सम्बन्ध गत वर्ष आबेले जारी गरेको एक शुभकामना भिडियोसँग रहेको पाएको छ । उक्त भिडियो सन्देश आबेले युनिफिकेशन चर्चसँग आबद्ध ‘युनिभर्सल पिस फेडरेशन(युपीएफ)को सन् २०२१ म भएको कार्यक्रममा पठाएका थिए । उक्त भिडियोमा आबेले युनिफिकेसन चर्चकी प्रमुख हक जा हान मुनको प्रशंसा गर्दै ‘पारिवारिक मूल्यमाथिको जोड’का समूहलाई धन्यवाद दिएका छन् । पछि सो भिडियो सन्देश हेरेपछि हत्यारा सिन्जोलाई उक्त चर्चको सबैभन्दा ठुला जापानी समर्थक भएको निधोमा पुगे । यामागामीले जुलाई ८ मा आबेलाई घरमा उनैले तयार पारेको बन्दुकले गोली हानेका थिए । त्यसो गर्नु एक दिन अघि नै एक ब्लगरलाई पठाएको पत्रमा यामागामीले ‘हक जा हान मुनलाई मार्न ‘असम्भव’ पाएपछि ‘आफ्नो मूल शत्रु’ नभए पनि ६७ वर्षे आबेलाई गोली हान्ने सोचेको’ उल्लेख गरेका छन् । उनले आबेलाई युनिफिकेसन चर्चको ‘सबैभन्दा प्रभावशाली समर्थकमध्ये एक पाएको’ सोही पत्रमा लेखेका छन् । उनले सो पत्रमा थप लेखेका छन् ,‘अब म आबेको मृत्युले ल्याउने राजनीतिक प्रभाव र परिणामहरूको बारेमा सोचेर बस्ने सक्ने अवस्थामा छैन । आबेको मृत्युपछि मिडिया अनुसन्धानले युनिफिकेसन चर्चसँग आबेको मात्रै होइन उनी आबद्ध एलडीपीका कयौँ नेताको बलियो सम्बन्ध रहेको देखाएको छ । चर्चले आफ्ना जापानी अनुयायीबाट जबरजस्ती चन्दा लिने गरेको र त्यसो गर्न नसक्ने व्यक्तिमाथि दुर्व्यवहार हुने गरेको पनि उजागर भएको छ ।
युनिफिकेसन चर्च ः ईशाई चर्च हो या पन्थ ?
आधिकारिक रूपमा ‘फ्यामिली फेडेरेसन फर वल्ड पिस एण्ड रियुनिफिकेसन(विश्व शान्ति तथा पुनर्मिलनका लागि पारिवारिक महासंघ)’ नाम रहेको युनिफिकेसन चर्चलाई सन् १९५४ मा सन म्युङ मुनले दक्षिण कोरियामा स्थापना गरेका थिए । युनिफिकेसन चर्च स्थापना गर्दा मुनले आफू नयाँ ‘मसिया(उद्धारक)’ भएको र क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टले पुरा गर्न नसकेको काम काम पूरा गर्न आएको दाबी गरेका थिए । साथै उनले जिससले समेत गर्न नसकेको ‘पवित्र बिहे’ गरेर नयाँ युग सुरु गर्ने दाबी गरे । विदेशतिर चर्चले हजारौँ जोडीलाई एक्कै पटक सामूहिक विवाह गराएर चर्चा बटुल्न थाल्यो । मुनले यस्तो विवाहका लागि चुनिने जोडीलाई फोटो हेरेर मिलाउथे, जसले गर्दा कहिल्यै नभेटिएका जोडीहरू विवाहबन्धनमा जोडिनुपर्थ्यो । परम्परागत पारिवारिक मूल्यको प्रवर्द्धन गर्ने चर्चका संस्थापक मुन कट्टर विरोधी कम्युनिस्ट थिए । चर्च र यसका संस्थापकको यही दक्षिणपन्थी राजनीतिक रुझान शीतयुद्धको समयमा चर्चको विदेश अझ जापानमा विस्तारका लागि सहयोगी भयो । सन् १९५७ देखि १९६० सम्म जापानको प्रधानमन्त्री रहेका आबेका हजुरबुवा नोबुसुके किशीसँग मुनको राम्रो मित्रता कायम भयो । आफै कम्युनिस्ट विरोधी रहेका किशीले १९६८ मा चर्चको राजनीतिक शाखा ‘इन्टरनेशनल फेडरेशन फर विक्टोरी ओभर कम्युनिजम’ स्थापनामा सघाएका थिए । सरकारको सहयोगमा जापानभित्र आफ्नो आधार बनाएपछि युनिफिकेसन चर्चले जापानी अनुयायीहरूलाई दुहुनो गाईजस्तै व्यवहार गर्यो । चर्चका पूर्व वरिष्ठ सदस्यले रोयटर्स समाचार एजेन्सीलाई बताए अनुसार हरेक सदस्यलाई चन्दा दिन दबाब दिइन्थ्यो र नदिए उनीहरूको अपमान गरिन्थ्यो । साभार : रापा












