काठमाडौं- राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा रोजगारीको एजेण्डालाई पनि प्राथमिकताका साथ उठाएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ल्याएका घोषणापत्रमा अन्य विषयका अतिरिक्त रोजगारी सिर्जनाका एजेण्डा पनि समेटिएका छन् । दलहरुको घोषणापत्रमा आगामी ५ वर्षभित्र स्वदेशमै रोजगारीको अवस्था सिर्जना गरेर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य समेटिएको छ । यद्यपि यो एजेण्डा नयाँ भने होइन । हरेक निर्वाचनमा रोजगारी सिर्जनाको एजेण्डा दलहरुले घोषणापत्रमा उल्लेख गरे पनि देशबाट वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढ्दो छ । नेपाल श्रमशक्ति सर्वेक्षणको सन् २०१८ को तथ्यांक अनुसार ७० लाख ८६ हजार जनाले विभिन्न किसिमका रोजगारी पाएका छन् । उक्त तथ्यांक अनुसार ११ प्रतिशत बेरोजगार छन् । जबकि सन् २००८ मा गरिएको श्रमशक्ति सर्वेक्षणले २ प्रतिशतमात्रै बेरोजगार देखाएको थियो । दलहरूका घोषणापत्रहरूमा रोजगारी सिर्जनाका एजेण्डा जतिनै भए पनि मुलुकमा बेरोजगारी दर बढ्दै गएको उक्त तथ्यांकले देखाउँछ । वैदेशिक रोजगार विभागको तथ्यांक हेर्ने हो भने ५० लाख भन्दा बढी युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा छन् । अहिले पनि हरेक दिन १५ सयको हाराहारीमा नेपाली युवा जनशक्ति वैदेशिक रोजगारीमा गइरहेको छ । यो क्रम हरेक वर्ष बढ्दो छ । साभार : रापा












