दोहोरो ‘ह्याट्रिक’ गर्ने दाउमा कांग्रेस नेता शशांक…..

नवलपरासी — पूर्वी नवलपरासीमा दोहोरो ‘ह्याट्रिक’ गर्ने दाउमा रहेका कांग्रेस नेता डा. शशांक कोइराला र एमालेका केन्द्रीय नेता कृष्ण पौडेलबीच यसपल्ट कसिलो प्रतिस्पर्धा देखिएको छ । २०४८ पछिका सबै संसदीय निर्वाचनमा लगातार कांग्रेसको बर्चश्व रहेको पूर्वी नवलपरासीमा यसपल्ट फेरि कांग्रेस विजयी भयो भने कांग्रेसको दोहोरो ह्याट्रिक हुने छ । लगातार चौंथो पटकका लागि कांग्रेस नेता कोइराला उम्मेदवार छन् । ०४८ पछिका सबै संसदीय निर्वाचनमा कांग्रेस यस क्षेत्रमा विजयी हुँदै आएको छ । एमालेले गैंडाकोट नगरपालिका निवासी कृष्ण पौडेललाई उम्मेदवार बनाएको छ । उनी संविधानसभा सदस्य हुन् । यसपल्ट कांग्रेसको किल्ला भत्काउन एमालेले सबै शक्ति खर्चेको छ । यसअघिको चुनावमा गण्डकी प्रदेशका ११ जिल्लामा कांग्रेसबाट प्रतिनिधिसभामा विजयी हुने कोइराला एक्ला थिए । उनीबाहेक कांग्रेसका कुनै उम्मेदवारले ०७४ को निर्वाचनमा प्रतिनिधिसभामा जितेनन् । ०४८ देखियताका सबै संसदीय निर्वाचन र गत स्थानीय तहको निर्वाचनमा दुई दलले प्राप्त गरेको मतका आधारमा यसपल्ट पनि मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै हुने देखिएको छ । ०४८ यताका सबै संसदीय निर्वाचनमा एकछत्र विजयी हुँदै आएको कांग्रेसलाई योपल्ट स्वतन्त्र उम्मेदवार टाउको दुखाइको विषय बनेका छन् । कांग्रेस छाडेर गएकी ती उम्मेदवारले कांग्रेसको मत काट्ने आकलन गरिएको छ । राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम, अर्का स्वतन्त्र उम्मेदवार तुलसी भुसालले कांग्रेसका मत काट्दा एमालेलाई सजिलो हुने छ । लगातार तीनपल्ट निर्वाचन जितिसक्दा पनि कोइरालाले यथेष्ट काम गर्न नसकेको एमालेले आरोप लगाउँदै आएको छ । यता कांग्रेसले एमालेकै कारण देशमा अस्थिरता भएको र झण्डै २ तिहाइको वाम सरकार हुँदा पनि सत्ता सञ्चालन गर्न नसेको उदाहरण दिँदै आफैलाई विजयी बनाउन अपिल गरेको छ । यसअघिका लगातार तीनवटा निर्वाचनमा विजयी भइसकेका कोइराला योपल्ट सत्तापक्षीय गठबन्धनका साझा उम्मेदवार हुन् । यसअघिको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट माओवादी केन्द्रका भविश्वर पराजुली उम्मेदवार थिए । त्यतिबेला कोइराला ४ हजार २४ मतान्तरले विजयी भएका थिए । यसपल्ट स्थिति केही फेरिएको छ । करिब ४५ वर्षसम्म कांग्रेसको सक्रिय राजनीतिमा रहेर राप्रपा प्रवेश गर्दै प्रतिनिधिसभामा उम्मेदवार बनेका प्राध्यापक डा मोहनीलाल भुसालले कांग्रेसकै मत काटने आकलन सहित एमाले हौसिएको छ । यसै क्षेत्रमा कांग्रसकै नेविसंघको राजनीतिक पृष्ठभूमिबाट आएका चित्रध्वज जीसी प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार बनेका छन् । उनले पुराना नेताबाट केही उपलब्धि नभएको र राजनीतिमा पुस्ता हस्तान्तरणकालागि आफनो उम्मेदवारी रहेको बताउँदै आएका छन् । प्राध्यापक झविन्द्रेश्वर भुसाल कांग्रेसको मजबुत संगठनको आधारका कारण यसपल्ट पनि डा कोइराला विजयी हुने दावी गर्छन् । शशांक कांग्रेस भित्र सबैका स्विकार्य नेता भएका कारण कसैबाट पनि घात अन्तरघात नहुने कारण विजय निश्चित रहेको दाबी उनको छ । राष्ट्रिय राजनीतिमा प्रभाव पार्नसक्ने र पार्टी नेतृृत्वमा फेरि स्थापित हुन सक्ने भएकै कारण शशांकको जनाधार बलियो रहेको भुसालको तर्क छ । त्यसमाथि ०७४ को निर्वाचनमा माओवादी र जनमोर्चाले समानुपातिकतर्फ पाएको ६ हजार २ सय २० मत योपल्ट अझ बढ्ने अनुमान कांग्रेसको छ । त्यसमा पाँच दलीय गठबन्धन बलियो र भरपर्दो आधार भएको कांग्रेसको तर्क छ ।   साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार