विरासत जोगाउने र भत्काउनेबीच प्रतिस्पर्धा…..

भक्तपुर –      वि.सं २०४६ को प्रजातन्त्र पुनःस्थापनापछि सम्पन्न सबै निर्वाचनमा एउटै दलले जित्दै आएको निर्वाचन क्षेत्रमध्येको एक हो– भक्तपुर क्षेत्र नं १ । यहाँ २०४८ देखि लगातार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले निर्वाचन जित्दै आएको छ । यसपटक पनि नेमकिपाको बलियो र एकछत्र पकड देखिन्छ । यद्यपि यहाँ नेमकिपाको विरासत भत्काउन सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा नेकपा (माओवादी केन्द्र) का सुनील गोठे ‘बासु’ र नेकपा (एमाले) का नवराज गेलाल अघि सरेका छन् । यस क्षेत्रमा विसं २०४८, २०५१, २०५६, २०६४ र २०७० मा सम्पन्न निर्वाचनमा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले लगातार चुनाव जिते । वि.सं २०७४ मा भने बिजुक्छेले आफ्नो उत्तराधिकारीका रूपमा पार्टी सचिव प्रेम सुवाललाई अघि सारे । यसलाई धेरैले चासोका रूपमा लिएका थिए । विपक्षी दलहरूका लागि पनि एउटा परीक्षाकै घडी बनेको थियो । तर पनि बाजी सुवालले नै मारे । भक्तपुर क्षेत्र नं १ मा भक्तपुर र चाँगुनारायण नगरपालिका पर्दछ । गत वैशाखमा स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिका नेमकिपाले ‘क्लिनस्वीप’ गरेको थियो । दशवटा वडा रहेको भक्तपुर नगरपालिकाका केही वडामा सत्ता गठबन्धन र एमालेले समेत तालमेल गर्दा पनि एउटा वडा सदस्यसमेत जित्न सकेन । भक्तपुर नगरपालिकाको प्रमुख र उपप्रमुखलगायत वडाअध्यक्षमा उम्मेदवारी दिएका कांग्रेस, एमालेलगायत अन्य दलका उम्मेदवारको जमानतसमेत जफत भएको थियो । स्थानीय निर्वाचनमा नेमकिपालाई दुईवटा चुनौती देखिएको थियो । विसं २०७४ मा पनि ‘क्लिनस्वीप’ गरेको नेमकिपालाई यसपटक कुनै हालतमा ‘क्लिनस्वीप’ गर्न नदिने भन्दै वडा नं १ मा कांग्रेस, एमाले र माओवादी केन्द्रले तालमेल गरेका थिए, त्यसका बाबजुद पनि नेमकिपा भारी मतका साथ विजयी भयो । त्यसैगरी नगरपालिकाले सञ्चालन गरेको डेको मिवा इतापाके जग्गा एकीकरण आयोजना पीडितले छुट्टै समूह गठन गरी दुईवटा वडाको वडाध्यक्षसहित नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार