दुःख देख्न्या को छन् र भोट दिनु ?…..

बझाङ — खप्तडछान्ना गाउँपालिका–३, मेल्तडीका बमबहादुर दमाई भारत जानका लागि बाटो खर्च खोज्दै छन् । ९ जनाको परिवारसहित भारत पस्ने तयारी गरेका उनले सबैका लागि पुग्ने गाडीभाडा र खाने–बस्ने खर्च जुटाइसकेका छैनन् । स्थानीय र छिमेकी गाउँका आफन्तबाट बाटो खर्चका लागि ऋणको आश्वासन पाएका छन् । ‘सबै परिवारलाई भारतसम्म पुग्न ५० देखि ६० हजार खर्च लाग्छ, ऋण पाउनेबित्तिकै बाटो लाग्छौं,’ उनले भने । एक वर्षदेखि छिमेकीको गोठमा आश्रय लिइरहेको बमबहादुरको परिवार ओत लाग्ने घरसमेत नभएकाले बालबच्चासहित भारत जान लागेको हो । बमबहादुरको घर भने गत वर्ष कात्तिक पहिलो साता बेमौसमी वर्षासँगै आएको पहिरोले भत्काएको थियो । सिलाइ गरेबापत भाग्या (गैरदलित) ले दिएको खलोको भरमा गुजारा गर्दै आएको परिवारसँग घर बनाउने सानो टुक्रा जमिनबाहेक केही बचेको छैन । उनीहरू वर्ष दिनदेखि सरकारले घर बनाइदिने आसमा बसेका थिए तर सहयोग पाएनन् । ‘अब यहाँ बसेर काम छैन, यत्रो परिवार, बालबच्चा कति दिनसम्म अर्काकामा बस्ने ? त्यसैले उतै लैजाने सुरसार गरेको हुँ,’ बमबहादुरले भने, ‘कमाउन सकिएछ भने तीन/चार वर्षपछि घर बनाउने पैसा ल्याएर फर्किनुपर्ला । सकिएनछ भने उतै हराउँला । पहिरोले घर बगाएपछि बमबहादुरको परिवारसँगै भारत पस्ने तयारीमा खर्चको जोहो गरिरहेकी छिमेकी निशा दमाईले आसन्न निर्वाचनमा भोट हाल्ने रहर नभएको बताइन् । उनको परिवार पनि बाटो खर्च जुटे चुनावअघि नै हिँडिहाल्ने सोचमा छ । ‘हाम्रा दुःख देख्न्या को छन् र भोट दिनु ?’ उनले भनिन् । पहिरोले घरबारविहीन भएर वर्ष दिनसम्म दुःख पाउँदा पनि के कसरी बसिरहेका छौ भनेर सोध्न कोही नआएको र चुनावका बेला मिठामिठा सपना देखाउन थालेको उनले बताइन् । ‘हामी त वैशाखमै गइजाने सोचेका थियौं, नेताहरूले चुनाव (स्थानीय तहको) पछि तिमीहरूको घर सरकारले बनाइदिन्छ, राहत पनि दिन्छौं भने,’ उनले भनिन्, ‘हामीले पत्यायौं तर भोट हालेपछि फर्केर पनि हेरेनन् ।’ अर्काको गोठमा सात जनाको परिवार सकसपूर्ण तरिकाले बसिरहेको उनले सुनाइन् । वैशाखको चुनावअघि भारत जान जुटाएको ऋण घरखर्चमै सकिएको उनले बताइन् । खप्तडछान्ना–५ कालुखेती गाउँमा रहेका घर र जग्गा बाढी र पहिरोले बगाएपछि यहाँका विष्ट थरका पाँच परिवारका २३ जना वर्ष दिनदेखि कालुखेती क्याम्पसको प्रांगणमा पाल टाँगेर बसिरहेका छन् । उनीहरूसँग घर बनाउनका लागि जग्गासमेत बचेको छैन । सरकारले जग्गा उपलब्ध गराएर घर बनाइदिने आसमा पालमै एक हिउँद र एक बर्खा बिताएका उनीहरू पनि अब देश छाडेर जाने मनस्थितिमा छन् । ‘हिउँद र बर्खामा केटाकेटी र बूढाबूढी बिरामी भएर जोगाउनै गाह्रो भयो,’ नन्दादेवी विष्टले भनिन्, ‘यस्तो सकस गरेर यहाँ बस्नुभन्दा कतै इन्डियातिर गएर मजदुरी गरेर बसौंला भन्ने सोचेका छौं । बाटो खर्च नपाएर मात्रै रोकिएका हौं ।’ उनले आफूहरूसँग सम्पत्तिका नाममा केही पनि नभएका कारण भारतसम्म पुग्ने गाडीभाडा ऋणका लागि कसैले नपत्याएको दुखेसो सुनाइन् । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार