डलरको तुलनामा बलियो बन्दै नेपाली मुद्रा…..

काठमाडौँ — केही दिनयता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा (नेरु) बलियो बन्दै गएको छ । यस अवधिमा अमेरिकी डलरको विनिमय दर घटिरहेकाले नेपाली मुद्रा बलियो बनेको हो । यही कात्तिक ३ मा नेपाली रुपैयाँसँग एक अमेरिकी डलरको विनिमय दर १३३.१४ रुपैयाँ थियो । यो हालसम्मकै उच्च हो । त्यसयता निरन्तरजसो अमेरिकी डलर कमजोर बन्दै गएको हो । गएको एक वर्षमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) ले ५ पटकसम्म ब्याजदर बढाइसकेको छ । मूल्यवृद्धि चार दशककै उच्च बिन्दुमा पुगेपछि ब्याजदर वृद्धिमार्फत नागरिकको उपभोग क्षमतामा कमी ल्याउने रणनीतिमा त्यहाँको केन्द्रीय बैंकले ब्याजदर बढाएको हो । ब्याजदर वृद्धि भएपछि विश्व बजारमै अमेरिकी डलरप्रति लगानीकर्ताको आकर्षण बढेको छ । सोही कारण डलरको भाउ बढेर निरन्तर उकालो लागिरहेको थियो । पछिल्लो पटक गत बुधबार (नोभेम्बर १०, २०२२) मा पनि फेडले ब्याजदर बढाएको छ । तर बिहीबार त्यहाँको तथ्यांक विभागले मुद्रास्फीतिसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । मुद्रास्फीतिका नयाँ तथ्यांक सुधारिएर आएका छन् । यसरी मुद्रास्फीतिको अवस्थामा सुधार भएकाले आउँदा दिनमा त्यहाँको केन्द्रीय बैंकले ब्याजदर नबढाउने प्रक्षेपणका आधारमा शुक्रबारदेखि अमेरिकी डलरको भाउ घटिरहेको राष्ट्र बैंकका पूर्वकामु डेपुटी गभर्नर कृष्णबहादुर मानन्धरले बताए । ‘मुद्रास्फीतिसम्बन्धी प्रतिवेदनमा सुधार भएपछि अब ब्याजदर बढ्दैन भन्ने प्रक्षेपण लगानीकर्ताको छ,’ उनले भने, ‘यही कारण पछिल्ला केही दिनमा डलरको भाउ घटिरहेको हो ।’ अमेरिकी मुद्रास्फीतिमा सुधार भएकाले अन्तर्राष्ट्रिय बजारमा डलरको मागमा केही कमी आएको विभिन्न विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमयदर १३०.३२ रुपैयाँ (बिक्रीदर) तोकेको छ । सोही दिनको खरिद दर १२७.७२ रुपैयाँ छ । यो करिब चार सातायताकै कम हो । गएको एक वर्षसम्म विश्व बजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको थियो । डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको मूल्य घटेको थियो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । अहिले डलर कमजोर बन्दै गएपछि भारु पनि बलियो बन्दै गएको छ । सोही क्रममा सोमबार साँझसम्म अमेरिकी डलरको विनिमय दर भारु ८१.१८ छ । यसअघि अमेरिकी डलरको विनिमय दर भारु ८३.०९ सम्म पुगेको थियो । यसरी भारु बलियो बन्दै गएपछि त्यसको प्रभाव नेरुमा पनि परेको हो । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार