नयाँ सरकार गठनको जोडघटाउ सुरु…..

काठमाडौं-      आम निर्वाचन २०७९ को नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा नयाँ सरकार गठनको जोडघटाउ सुरु भएको छ । बहुमत ल्याउने लक्ष्यका साथ चुनावमा होमिएपनि सत्ता गठबन्धनभित्रै बहुमत नपुग्ने निश्चित भएको छ । संघीय संसदका १६५ निर्वाचन क्षेत्रमध्ये ३ स्थानको नतिजा आउन बाँकी रहँदा सत्ता गठबन्धन बहुमत नजिक पुगेपनि सरकार बनाउन पर्याप्त संख्या भने पुर्याइसकेको अवस्था छैन । निर्वाचन आयोगका अनुसार हालसम्म समानुपातिकतर्फ एक करोड बढी मतगणना भइसकेको छ । दुवै निर्वाचन प्रणालीअन्र्तगत कुनैपनि दलको स्पष्ट बहुमत आउन नसकेको अवस्थामा सत्ता गठबन्धन र एमाले गठबन्धन दुवै आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको कसरतमा देखिएका हुन् । हाल सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । यी मध्ये कांग्रेसले प्रत्यक्षमा ५५ (१ क्षेत्र गणनामा अघि रहेकासहित ) सिट जितेको छ । त्यस्तै हालसम्म समानुपातिकतर्फ १ करोड १ लाख मत गनिसक्दाको अवस्थामा कांग्रेसले ३२ सिट सुनिश्चित गरेको छ । यसरी हेर्दा कांग्रेसको दुवैतर्फको सिट ५५ र ३२ जोड्दा ८७ सिट हुन आउँछ । त्यसैगरी अर्को दल नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १७ जितेको छ भने अहिलेकै अवस्थामा समानुपातिकतर्फ १४ सिट सुनिश्चित गरेका छ । यो हिसावमा उसको ३१ सिट हुने देखिन्छ । सत्ता गठबन्धनमा रहेको तेस्रो दल नेकपा एकीकृत समाजवादीले तीन प्रतिशत मत (थ्रेसहोल्ड) कटाइनसकेका कारण उसले प्रत्यक्षतर्फ जितेका १० सांसदको मात्रै हिसाव रहेको छ । बुधबार अपरान्हसम्म यो पार्टीलाई थ्रेसहोल्ड कटाउन र समानुपातिक सांसद थपिन १६ हजार बढी मत आवश्यक देखिन्छ । त्यस्तै सत्ता गठबन्धनमा रहेको अर्को दल लोसपाले प्रत्यक्षतर्फ ४ सिट जितेको छ भने समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन सकेको अवस्था छैन । पाँचौ दल राष्ट्रिय जनमोर्चाले प्रत्यक्षतर्फ १ सिट मात्र जितेको छ । यसरी सत्ता गठबन्धनमा रहेका ५ दलले पाएको सिट संख्या हिसाव गर्दा १३३ सिटमात्र पुग्छ । जवकी नयाँ सरकार बनाउन २७५ को बहुमत अर्थात १३८ सिट आवश्यक पर्छ । मतगणना र निर्वाचन हुने क्षेत्रको समेत नतिजा गठबन्धनको पक्षमा आएपनि उनीहरुलाई ३ सिट थपिन्छ । यस्तो हुँदा जम्मा १३६ सिट हुन पुग्छ । बाँकी २ सिट बहुमतका लागि अपुग हुने देखिन्छ । तर स्वतन्त्र सांसद ५ जना छन् । तीमध्ये प्रभु साहसहित २ जना सत्तारुढ दल माओवादीसँग नजिक भएकाले सत्ता गठबन्धनको पक्षमा जान सक्ने सम्भावना कायमै छ । त्यस्तै अमरेश कुमार सिह पनि गठबन्धनकै पक्षमा जानसक्ने सम्भावना रहेकाले यी सांसदले समेत सहयोग गरे गठबन्धनलाई बहुमत पुग्ने देखिन्छ । तर उनीहरुले अहिलेसम्म कसलाई साथ दिने भन्ने प्रस्ट खुलाइसकेका छैनन् ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार