प्रतिनिधिसभा र प्रदेशसभामा १९ ठेकेदारहरू सांसद…..

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न निर्माण कम्पनी सम्बद्ध १९ ठेकेदार सांसदमा निर्वाचित भएका छन् । प्रतिनिधिसभाका लागि चुनावी मैदानमा उत्रिएका १५ ठेकेदारमध्ये ८ जना सांसद चुनिएका हुन् । निर्माण व्यवसाय आफैंमा वैधानिक र सम्मानित पेसा भएकाले यस्ता कम्पनीका सञ्चालकहरू सांसद बन्न कानुनले निषेध गर्दैन । मन्त्री, मुख्यमन्त्रीको दौडमा रहेका उनीहरू यस्ता संसदीय समितिमा पनि बस्छन् जसले उनीहरूको व्यवसायका विषयमा नीति निर्माण र अनुगमनसमेत गर्नेछ । यसले स्वार्थ बाझिनेछ । पुल पूर्वाधारमा अलपत्र पारेर विभिन्न मुद्दा खेप्दै आएको पप्पु कन्स्ट्रक्सनका संस्थापक हरिनारायण रजौरिया अघिल्लो पटक जसपाबाट सांसद भएर विकास समितिमा सदस्यसमेत भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि मात्र उनी निलम्बनमा परेका थिए । यसपालि उनले टिकट पाएनन् तर अरू १९ जना निर्माण व्यवसायी प्रतिनिधिसभा र प्रदेशसभा पुगेका छन् । निर्वाचित निर्माण व्यवसायीमध्ये एक हुन्– मोहन आचार्य । कांग्रेसबाट उम्मेदवार बनेका रसुवा कन्स्ट्रक्सनका आचार्य रसुवामा एमालेका छोवाङ तेन्जिङ तामाङलाई पराजित गर्दै सांसद बने । उनी पहिलो पटक सांसद बनेका होइनन्, यसअघि पनि रसुवाबाटै जितेका थिए । कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डे राप्रपाबाट चितवन–३ मा निर्वाचित भएका छन् । सिक्टा सिँचाइ आयोजना अलपत्र पारेर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित २१ जनाविरुद्ध साढे ८ अर्ब बढी बिगो, त्यति नै जरिवाना तथा २ वर्ष कैद मागदाबीसहित चार वर्षअघि दायर गरेको थियो, विशेष अदालतले गत असार ५ मा उनीहरूलाई सफाइ दिए पनि फैसलाको पूर्ण पाठ आएपछि अख्तियार सर्वोच्च अदालत जाने तयारीमा छ । यो मुद्दा दायर भएमा उनी निलम्बनमा पर्नेछन् ।   साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार