सरकार निर्माणका लागि एमालेसँग पनि सहकार्य हुन सक्ने…..

काठमाडौँ — कांग्रेससँग चुनावी गठबन्धन गर्दा अपेक्षाकृत नतिजा नआएको प्रारम्भिक समीक्षा गरिरहेको माओवादी केन्द्र सरकार गठनका लागि सबै विकल्पमा खुला रहने भएको छ । सरकार निर्माणका लागि एमालेसँग समेत सहकार्य हुन सक्ने माओवादी नेताहरूले बताएका छन् । शनिबारको समीक्षात्मक बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले भने, ‘अहिलेको गठबन्धन छाड्ने निर्णय होइन तर अन्य विकल्पमा हामी खुला छौं । मतगणना सकिनै लागेका बेला शनिबार माओवादीले पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारीको बैठक गरेर चुनावी समीक्षा गरेको थियो । बैठकमा नेताहरूले गठबन्धनभित्र मत साटासाट नभएकोदेखि कांग्रेस नेताहरू नै आफ्ना उम्मेदवारलाई हराउन लागेकोसम्म बताएका थिए । सरकारमा कांग्रेससँगै हिँडे पनि आगामी दिनमा अहिलेको परिणामलाई ख्याल गरेर अगाडि बढ्नुपर्ने उनीहरूको धारणा थियो । ‘अहिले प्रतिनिधिसभामा हामीले सोचेअनुरूप परिणाम आएन भन्ने निक्र्योलमा पुगेका छौं,’ प्रवक्ता महराले भने, ‘थप समीक्षा समानुपातिकको नतिजा आएपछि हुन्छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष महरा, महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव पम्फा भुसालले चुनाव र आगामी रणनीतिबारे धारणा राखेका थिए । बैठकको सुरुवातमा दाहालले प्रतिनिधिसभामा सोचेजस्तो नतिजा नआएको तर प्रदेशसभामा सन्तोष गर्न सकिने परिणाम आएको उल्लेख गरेका थिए । चुनावको समीक्षा गरेर आगामी दिनमा सच्चिएर जानुपर्ने उनको धारणा थियो । महासचिव गुरुङले ‘प्रतिनिधिसभामा अनपेक्षित परिणाम आएको’ बताएका थिए । उनले त्रिशंकु संसद् बनेको र त्यसले राजनीतिक स्थिरताको सम्भावनालाई कमजोर पारेको धारणा राखे । ‘प्रतिनिधिसभाको परिणाम अपेक्षा गरेअनुसार आएन भन्ने स्वत: भइहाल्यो, प्रदेशमा ठिकै देखिन्छ भन्ने कुरा आएको छ,’ बैठकमा उठेका विषयबारे गुरुङले भने, ‘कसैलाई पनि सहज बहुमत नदेखिएकाले अस्थिरता र अराजकताको खेल सुरु गरेको जस्तो देखिन्छ ।’ चुनावमा कांग्रेसले संस्थागत रूपमा भन्दा पनि नेताहरूले व्यक्तिगत रूपमा असहयोग गरेको उनले सुनाएका थिए । माओवादी नेताहरूले गठबन्धनबाट उम्मेदवारी पाउँदा त्यो क्षेत्रमा टिकटको अपेक्षा गरेका कांग्रेसका नेताहरूले खुलेरै असहयोग गरेको उनको भनाइ थियो । उपमहासचिव भुसालले गठबन्धनमा रहेका दलहरूले सहयोग नगर्दा माओवादीलाई अपेक्षा गरेजस्तो परिणाम नआएको बताएकी थिइन् । बोल्न बाँकी पदाधिकारीले आइतबार धारणा राख्ने गरी बैठक सकिएको छ । माओवादीमा २१ जना पदाधिकारी छन् । प्रतिनिधिसभा निर्वाचनमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मातृका यादव र सचिव चक्रपाणि खनाल पराजित भएका छन् । प्रत्यक्षबाट माओवादीका १७ सांसद मात्रै निर्वाचित भएका छन् । सातवटै प्रदेशसभामा गरी माओवादीले ५३ सिट जितेको छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार