दाहालको दोहोरो दाउ…..

काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ करिब १० प्रतिशत मात्र सिट जितेपछि मनोबल केही खस्किए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालको महत्वाकांक्षा कमजोर भएको छैन । गठबन्धनबाटै प्रधानमन्त्री बन्ने प्रयासमा लागेका उनले अन्यथा विकल्प पनि खोज्न सक्ने सन्देश दिइरहेका छन् । गठबन्धनमा ठूलो दलको हैसियतले कांग्रेसले आगामी सरकारको नेतृत्वमा मुख्य दाबी गरिरहेको छ । प्रत्यक्षतर्फ कांग्रेसले एक तिहाइभन्दा बढी सिट जितेको छ । तर अघिल्लो पटक संसद्मा कांग्रेस कमजोर हुँदा पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको तर्कसहित माओवादीले नयाँ सरकारको नेतृत्व गर्ने पहल गरिरहेको छ । देउवा र दाहाल दुवै प्रधानमन्त्री हुन चाहे पनि छिनोफानो हुने गरी संवादमा प्रवेश गरेका छैनन् । ‘अब कांग्रेसले माओवादी अध्यक्षलाई प्रधानमन्त्री बनाउँदा राम्रो हुन्छ, अध्यक्ष कमरेडको भित्री मनसाय पनि त्यस्तै छ,’ दाहाल निकट स्रोतले भन्यो, ‘साइड बैठकमा केही कुराकानी भएका होलान् । तर खुलस्त कुराकानी भइसकेका छैनन् । देउवालाई दबाबमा राख्न दाहाल निकटका नेताहरूले एमालेसँग पनि सहकार्य हुन सक्ने बताइरहेका छन् । शनिबार पार्टी बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले सरकार निर्माणमा पाँचदलीय गठबन्धनको विकल्प खुला रहने स्पष्ट बताएका थिए । लगत्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले माओवादी अध्यक्ष दाहालसँग फोन संवाद गरेका थिए । खड्कासँगको संवादमा दाहालले गठबन्धन नटुट्ने प्रतिबद्धता दोहोर्‍याएका थिए । कांग्रेसलाई आश्वस्त बनाउन उनले आइतबारको बैठकमा गठबन्धनकै पक्षमा धारणा राखेका छन् । चुनावी समीक्षा गर्न शनिबार र आइतबार बोलाइएको माओवादी पदाधिकारी बैठकमा अध्यक्ष दाहालले गठबन्धन सरकारमै सहभागी हुने बताएका थिए । ‘हामी गठबन्धनमै छौं, यसमा कुनै भ्रम नहोस् । पार्टीको निष्कर्ष पनि यही हो,’ उनको भनाइ थियो, ‘कांग्रेस र अरू दललाई विश्वासमा लिएर मैले गठबन्धन बनाएको हो । यसको विकल्प खोज्नु नैतिक र राजनीतिक रूपमा अनुचित हुन्छ । निकट नेताहरूका अनुसार भने दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रतिनिधिहरूसँग पनि संवाद जारी राखेका छन् । गठबन्धनको स्थायित्वमा देउवा र दाहाल दुवै ढुक्क नरहेकाले पहिले आफैं सरकारको नेतृत्व लिन चाहन्छन् । यसमा सहमति भएन भने गठबन्धनको विकल्पमा जाने सम्भावना पनि छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार