विश्वकप फुटबलको फाइनल खेल आज…..

काठमाडौं, जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा राति ८:४५ बजे सुरु हुनेछ । यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो । फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् । विश्वकपको ९२ वर्षको इतिहासमा इटाली र ब्राजिलले मात्रै लगातार उपाधि रक्षा गरेका छन् । इटालीले प्रशिक्षक पोज्जोको पालामा सन् १९३४ र १९३८ तथा ब्राजिलले पेलेको युगमा १९५८ र १९६२ मा विश्वकप जितेका थिए । ब्राजिलपछि उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने दाउमा छ फ्रान्स । मारियो केम्पेस (१९७८) र डिएगो म्याराडोना (१९८६) को उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना विश्वविजेता भएको थियो । मेसीले पनि त्यस्तै उपलब्धि दिलाउने आस अर्जेन्टिनी र उनका समर्थकले गरेका छन् । दक्षिण अमेरिका र युरोपेली फुटबलको प्रतिष्ठाको प्रतिस्पर्धा पनि हो फाइनल । यी दुई महादेशबाहिरका टिमले विश्वकपको फाइनल खेलेका छैनन् । ब्राजिलले कीर्तिमान पाँचौंपल्ट विश्वकप सन् २००२ मा जितेको थियो । त्यसयता दक्षिण अमेरिकी टिम च्याम्पियन भएको छैन । यसबीच युरोपेली टिमले १२ औंपल्ट विश्वकप ट्रफी उचाल्न भ्यायो । दक्षिण अमेरिकी टिम ९ उपाधिमै रोकिएको छ । लुसेलमा आइतबार अर्जेन्टिना र फ्रान्समध्ये जसले बाजी मारे पनि त्यो उसको तेस्रो उपाधि हुनेछ ।   साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार