सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच भिडन्त…..

काठमाडौं-    नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच भिडन्त हुने भएको छ । संस्थापन पक्षबाट देउवा र इतर पक्षबाट थापाले मंगलबार (आज) संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन् । मंगलबार बिहान बसेको इतर पक्षको बैठकले देउवाविरुद्ध थापालाई अगाडि सार्ने निर्णय गरेको थियो । नेता शेखर कोइराला ‘ब्याक’ भएपछि भोलि देउवा र थापाबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने संसदीय दलको नेताको निर्वाचनका लागि देउवा र थापाको मात्र उम्मेदवारी परेको छ । दलको नेतामा आकांक्षा राखेका रामचन्द्र पौडेल र शेखर कोइराला क्रमशः देउवा र थापाको प्रस्तावक बसेका छन् । ०७४ मा देउवाविरुद्ध संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह अहिले देउवाकै पक्षमा उभिएको अवस्था छ । १४ औं महाधिवेशनमा सिंह प्यानलबाट महामन्त्री निर्वाचित विश्वप्रकाश शर्मा भने थापाको समर्थक बनेका छन् । यस्तै थापालाई देउवा प्यानलका महामन्त्रीको उम्मेदवार प्रदीप पौडेलको पनि समर्थन रहेको छ । शर्माले प्रकाशमान सिंह र पौडेलले कृष्णप्रसाद सिटौलाको साथ छाडेर थापाको समर्थक बने । यसले संस्थापन इतर पक्षको आकार फराकिलो बनाएको छ । शर्मा र पौडेलले थापालाई साथ दिनु फगत २ अंकको जोड–घटाउ देखिए पनि सन्देश भने बृहत् छ । कांग्रेसको भावी नेतृत्व र भरोसाका रूपमा हेरिएका थापा, शर्मा र पौडेलको एकताले देउवा पक्षमा भय पैदा गराएको छ । शेखर र गगन दुवै जना संसदीय दलको नेतामा प्रतिस्पर्धा हुनेमा ढुक्क देखिएको देउवा समूहलाई इतर पक्षको आजको एकताले झस्काएको छ । संस्थान इतर पक्ष संसदीय दलको निर्वाचन हुँदा तितरबितर हुने देउवा पक्षको बुझाइ थियो । तर रूपान्तरणको सन्देश दिँदै कोइराला नै थापाको प्रस्तावक बसेपछि देउवा पक्षको पूर्ववत् हिसाब–किताब गडबड हुन सक्ने आकलन गरिएको छ ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार