देउवा नदिने, दाहाल नगल्ने, दुवैले प्रधानमन्त्री बन्ने अडान…..

काठमाडौँ — आगामी पाँच वर्ष आलोपालो सरकार चलाउनेमा समझदारी भए पनि पहिलो कार्यकाल कसले लिने भन्नेमा कांग्रेस र माओवादीबीच पेचिलो संघर्ष सुरु भएको छ । गठबन्धन सरकार बनाउन राष्ट्रपति विद्या भण्डारीले दिएको सीमा आइतबार अपराह्न सकिँदै छ, समयको दबाबमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल दुवैले पहिलो चरणमै प्रधानमन्त्री बन्ने अडान लिएका छन् । सहकर्मीहरूमार्फत सन्देश आदानप्रदान गर्दै आएका दुवै नेताले बिहीबार सिधा–सिधा दाबी प्रस्तुत गरेका हुन् । बालुवाटारमा कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, नेता कृष्णप्रसाद सिटौला र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा दाहालले प्रधानमन्त्री पदमा आफ्नो ‘बटमलाइन’ राखेका हुन् । जवाफमा देउवाले पनि पहिलो चरणमा प्रधानमन्त्री पद दिन नसक्ने अडान राखेका छन् । सरकारको नेतृत्वमा नेताहरूबीच आमनेसामने खरो कुरा भएको यो पहिलो पटक हो । वर्तमान सरकारको नेतृत्वमा देउवालाई समर्थन गरेकाले अबको पालो आफूले पाउनुपर्ने भनेर प्रचण्डजीले एक किसिमको अडान नै राख्नुभयो,’ कांग्रेसका एक नेताले भने, ‘तर देउवाले अढाई वर्षपछि स्वतः नेतृत्व हस्तान्तरण हुने भएकाले विश्वास गर्न आग्रह गर्नुभयो । सहमतिमा पुग्न सकिएको छैन । देउवाले अहिले राष्ट्रपति दिएर सभामुख लिन र प्रधानमन्त्रीका लागि अढाई वर्ष पर्खन दाहाललाई आग्रह गरेका थिए । ‘पहिलो चरणमा कांग्रेसले र दोस्रो चरणमा माओवादीले सरकारको नेतृत्व लिन्छ, सभामुख पद माओवादीले लिने गरी सहमति गरौं भन्ने प्रस्ताव प्रधानमन्त्री देउवाको छ,’ कांग्रेस नेताले भने, ‘प्रचण्डले भने सरकारको नेतृत्व पहिले आफूले पाउनुपर्ने अडान दोहोर्‍याउनुभयो । कांग्रेसले सहयोग नगरे विकल्पमा जाने संकेत गर्दै दाहालले शुक्रबारसम्म जवाफ दिन देउवालाई आग्रह गरेका छन् । ‘उहाँ दबाब बनाउने मनोविज्ञानमा हुनुहुन्छ । भोलि (शुक्रबार) सम्म निर्णय दिनोस् भनेर जानुभएको छ । उहाँलाई कस्तो निर्णय दिने भन्नेमा प्रधानमन्त्री छलफलमा हुनुहुन्छ,’ ती नेताले भने, ‘यस्तै पेचिलो अवस्था एमसीसीका अनुमोदन गर्दा पनि आएको थियो । यसपालि पनि गठबन्धन बचाउन सक्छौं भन्नेमा विश्वस्त छौं । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार