१९ वर्षको जेल सजायपछि शोभराज नेपाल निकाला…..

काठमाडौँ — सिरियल किलर’ का रूपमा चिनिएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज अबका १० वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी शुक्रबार निष्कासित भएका छन् । नेपालमा १९ वर्ष जेल जीवन बिताएका शोभराजले नेपाल राज्यविरुद्ध मुद्दा हाल्ने बताएका छन् । स्वदेश फर्कने क्रममा शुक्रबार साँझ जहाजमा अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीसँग कुरा गर्दै उनले रिहाई पछि खुसी अनुभूति गरिरहे पनि नेपाल राज्यलगायत धेरैविरुद्ध मुद्दा हाल्ने योजना रहेको खुलासा गरेका हुन् । ‘मैले धेरै काम गर्न बाँकी छ र धेरैविरुद्ध मुद्दा हाल्नु छ, तीमध्ये नेपाल राज्य पनि हो,’ उनले भनेका छन् । अन्तर्वार्ताका क्रममा उनले आफूलाई ‘सिरियल किलर’ का रुपमा गलत चित्रण गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । उनले नेपालमा आफूमाथि लगाइएको दुई जनाको हत्या आरोप पनि अस्वीकार गरेका छन् । ‘मैले केही नगरे पनि कारागार लगियो,’ उनले भने, ‘म सबै मुद्दामा निर्दोष छु । त्यसैले मैले नराम्रो र राम्रो ठान्नुपर्ने कुरै छैन । म निर्दोष थिएँ । मलाई फर्जी कागजात (प्रमाण) का आधारमा फसाइएको हो । उनले न्यायाधीशले कुनै साक्षी बिना र आरोपितलाई सफाईको मौका नै नदिई फैसला लेखेको आरोप लगाएका छन् । ‘नेपालमा जिल्ला देखि सर्वोच्च अदालतका सबै न्यायाधीशहरू चार्ल्स शोभराजविरुद्ध पूर्वाग्रही थिए’ उनको भनाई उद्धृत गर्दै एएफपीले लेखेको छ । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार केन्द्रीय कारागारबाट छुटेका शोभराजलाई अध्यागमन विभागले २०८९ सालसम्म नेपाल प्रवेशमा रोक लगाउँदै कतारको दोहा हुँदै फ्रान्सका लागि ‘डिपोर्ट’ गरेको हो । नेपालमा ४७ वर्षअघि भएको एउटा जघन्य अपराधमा जेल सजाय भुक्तान गरेर निष्कासनमा परेका उनी नेपाल अध्यागमनको कालो सूचीमा पनि छन् । कालोसूचीमा रहेसम्म उनी नेपाल आउन पाउने छैनन् । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले अध्यागमन कार्यविधि २०६५ अनुसार एक दशक नेपाल आउन नपाउने गरी शोभराज निष्कासनमा परेको बताए । निष्कासनअघि नेपालस्थित फ्रान्सेली दूतावासले शोभराज आफ्नो देशको नागरिक रहेको भन्दै जिम्मा लिएपछि विभागले १५ दिनको ट्राभल डकुमेन्ट बनाइदिएको थियो । त्यसबापत शोभराजका तर्फबाट विभागमा ५० हजार रुपैयाँ जरिवाना र भिसा शुल्कबापत ३० डलर बराबरको राजस्व दाखिला गरेपछि उनलाई विमानस्थल लगिएको थियो । २०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिच र क्यानेडियन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा भक्तपुर जिल्ला अदालतले शोभराजलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सुनाएकामा सर्वोच्चले २०६७ साउन १४ मा जिल्लाको फैसला सदर गरेको थियो । त्यसअघि हत्या गरेर फरार रहेका शोभराज २८ वर्षपछि २०६० असोज २ मा काठमाडौंबाट पक्राउ परेका थिए । त्यसयता केन्द्रीय कारागारमा कैदी जीवन बिताइरहेका उनलाई बुधबार मात्रै सर्वोच्चले बाँकी सजाय छुट दिएर १५ दिनभित्र फ्रान्स फिर्ता गर्न आदेश गरेको थियो । सर्वोच्चले कैद मुक्त गर्न आदेश दिएपछि शोभराजको आपराधिक संलग्नता र उनी फ्रान्स फर्किन लागेको विषयमा विश्वभरका मिडियाले समाचार प्रकाशन/प्रसारण गरेका छन् । कानुनी प्रक्रिया पूरा गर्नुअघि शोभराजले प्रहरी पहरामा केही घण्टा विभागमा बिताएका थिए । अध्यागमन अधिकृतस समक्ष उनले निर्दोष हुँदाहुँदै नेपालले जेल पठाएको भन्दै क्षतिपूर्तिको मागसहित अन्तर्राष्ट्रिय अदालतमा जाने उल्लेख गरेका थिए । फ्रान्समा आफ्नो परिचय लेखक र डकुमेन्ट्री प्रोड्युसरका रूपमा रहेको र बाँकी जीवन त्यहीँ बिताउने उनले बताएका थिए । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार