कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता…..

काठमाडौं-  कार्यविधिमा तोकिएको भन्दा विपरीत खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता हुन थालेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूको व्यक्तिगत सहयोगीको रुपमा खटिएका सुरक्षा अधिकारिहरु फिर्ता भएका हुन् । गृह मन्त्रालयले पुस १२ मा ४८ घण्टाभित्र कार्यविधि मिचेर परिचालन गरिएको सुरक्षाकर्मी फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो । बिहिबार साँझसम्म नेपाल प्रहरीका १०३ जना प्रहरी कर्मचारी फिर्ता आएको प्रहरी प्रवक्ता (डिआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए । सशस्त्र प्रहरी बल प्रधान कार्यालय र बलम्बु स्थित नौ नम्बर बाहिनीबाट खटिएका ८५ जना सुरक्षाकर्मी फिर्ता भएको सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । गृहले पूर्व कर्मचारी र पूर्व सुरक्षाकर्मीले सहयोगीको रुपमा राखेका सुरक्षाकर्मी मात्र फिर्ता गर्ने आशयको पत्र दुवै संगठनलाई पठाएको थियो । तर, सुरक्षा निकायले राजनीतिक व्यक्तित्वहरुले लिएको सुरक्षाकर्मी पनि फिर्ता बोलाएका छन् । मापदण्ड विपरीत परिचालित पूर्व मन्त्री र राज्यमन्त्रीहरूका पीएसओ तानेका छौं’ नेपाल प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीसँग भने–‘कार्यबिधि मिचेर परिचालित सुरक्षाकर्मीलाई क्रमशः फिर्ता बोलाउँछौं । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यबिधि–२०७७ अनुसार पूर्व गृह मन्त्रीले १० वर्षसम्म २ जना पीएसओ र सशस्त्र प्रहरीको पछुवा गाडी पाउँछन् । पूर्व मन्त्रीले दुई वर्षसम्म १ जना व्यक्तिगत सुरक्षा अधिकृत पाउँछन् । राज्यमन्त्रीले पनि दुई वर्षसम्म पीएसओ पाउने व्यवस्था छ । पूर्व सुरक्षाकर्मीहरु मध्येमा एआईजी र डीआईजीहरुले पाउँदै आएको सुरक्षा नयाँ कार्यविधिमा हटाइएको छ । सुरक्षा हटाएकोमा पूर्व एआईजी र डीआईजीहरुले विरोध गर्दै आएका छन् । पूर्व प्रहरी महानिरीक्षकले ४ वर्षसम्म ५ जना र त्यसपछि आजीवन २ जना सहयोगी पाउने व्यवस्था कार्यविधिमा छ । पूर्व कर्मचारी, पूर्व सुरक्षाकर्मी र विशिष्ट व्यक्तिहरूको सुरक्षामा नेपाल प्रहरीबाट मात्रै ६६१ जना प्रहरी कर्मचारी खटिएका छन् । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार