पोखरा — हजारौं सर्वसाधारणको उपस्थितिबीच आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ । पाँच दशकअघिको सपना पूरा भएको खुसियालीमा अमरसिंह चौरमा भेला भएका पेसागत संघसंस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी, कलाकार र सर्वसाधारण ब्यानर र झाँकीसहित विमानस्थल पुगेका थिए । जहाँ प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल शुभारम्भ गरे । बिहान मौसम नखुल्दा काठमाडौंबाट जहाज आइपुग्न ढिलाइ भए पनि दिउँसो १ बजेपछि बुद्ध, यती, गुण र सौर्य एयरलाइन्सका जहाज धमाधम पोखरा ओर्लिएका थिए । ती विमानका यात्रुलाई एयरलाइन्स प्रतिनिधि, सरकारी अधिकारी र पर्यटन व्यवसायीले स्वागत गरेका थिए । अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सको एयरबस ३२० पनि नमुना उडानस्वरूप दिउँसो पोखराको नयाँ विमानस्थलमा अवतरण गर्यो । विमानलाई नागरिक उड्डयन प्राधिकरणले दोहोरो पानीको फोहोराले स्वागत गरेको थियो । उद्घाटन समारोहमा हेलिकोप्टरबाट पुष्पवृष्टि गर्नुका साथै हट एयर बेलुन उडाइएको थियो । विमानस्थल सञ्चालनमा आएसँगै पोखरा धेरै राष्ट्रसँग सोझो सम्पर्कमा पुगेको प्रधानमन्त्री दाहालको भनाइ छ । पोखरा विमानस्थलले कनेक्टिभिटीको क्षेत्रमा जुन योगदान गर्दै छ, यसले महानगर, कास्की र सिंगै राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान हुनेमा दुईमत छैन । नेपालजस्तो भूपरिवेष्टित देशमा कनेक्टिभिटीका थुप्रै माध्यम भए पनि आवश्यक र प्रभावकारी हवाई सेवा नै रहेको उनले बताए । ‘अब हामी छिट्टै निजगढ विमानस्थल निर्माण प्रक्रियालाई अगाडि बढाउँछौं,’ उनले भने, ‘देशलाई कनेक्टिभिटीको क्षेत्रमा नयाँ युगमा प्रवेश गराउने अठोट प्रस्तुत गर्न चाहन्छु । चीनले नेपालसँगका नाका खोल्ने, रेलवे परियोजना सर्भेको प्रक्रियालगायत अन्य धेरै परियोजना अघि बढिरहेको र तिनलाई गति दिएर अरू धेरै ठूला परियोजना सम्पन्न गर्न उनको आग्रह छ । ‘नेपाली युवाका लागि रोजगारी सिर्जना, जनताको विकास र समृद्धिको चाहना पूरा गर्न चीन सहयोगी हुने विश्वास छ,’ उनले भने । विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरेर देशको अर्थतन्त्र सुदृढ बनाउनेतर्फ सोच्नुपर्ने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताए । ‘सबै जनप्रतिनिधि र नागरिक समाजको अथक् प्रयासबाट विमानस्थलको सपनाले मूर्तरूप पाएको छ,’ उनले भने, ‘अबको चुनौती अधिकतम सदुपयोग कसरी गर्न सक्छौं भन्ने हो । भरपूर सदुपयोगका लागि अन्तर्राष्ट्रिय उडान सुरक्षित गर्न प्रभावकारी पहलकदमी हुनुपर्छ । प्राधिकरणले त्यसका लागि काम पहिले गरोस्, अर्थ मन्त्रालयको पूर्ण सहयोग रहनेछ ।’ पोखरालाई पर्यटनको केन्द्र बनाउन अन्य पर्यटकीय सहरसँग पनि यसलाई जोड्नुपर्ने उनको धारणा छ । काठमाडौं, चितवन, लुम्बिनीलगायत पर्यटकीय स्थलसँग पोखरालाई जोड्न पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा र सुनौली–पोखरा सिद्धार्थ राजमार्गको स्तरोन्नति भइरहेको उनले सुनाए ।
बीआरआई हो कि होइन ?
गण्डकीको पर्यटन प्रवर्द्धनमा अन्तर्राष्ट्रिय विमानस्थल कोसेढुंगा हुने गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको भनाइ छ । विमानस्थललाई व्यस्त बनाउनुपर्नेमा पोखरा महानगरका मेयर धनराज आचार्यको जोड छ । यसको सफल सञ्चालनबाट पोखरामा बढ्दो हवाई यात्रुको चाप सम्बोधन हुने र पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता अन्त्य भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । ‘विमानस्थलको व्यावसायिक सञ्चालनले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्नेछ । यसले रोजगारी सिर्जनामा समेत सघाउनेछ,’ उनले भने । राष्ट्रिय गौरवका आयोजनामध्ये गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना समयमै निर्माण सम्पन्न भई सञ्चालनमा आएको उनको दाबी छ । ‘नेपाली इन्जिनियर एवं परामर्शदाताको योगदानबाट अत्याधुनिक प्रविधियुक्त अन्तर्राष्ट्रियस्तरका विमानस्थल निर्माण हुन सक्नुले नेपाली प्राविधिकको जनशक्तिको क्षमता प्रमाणित भएको छ,’ उनले भने । पोखरालाई सुरक्षित गन्तव्यमा विकास गर्न यहाँका सरोकारवालाको मुख्य भूमिका हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) एसिया प्रशान्त क्षेत्रीय निर्देशक ताओ माले बताए । ‘बेल्ट एन्ड रोड’ अन्तर्गत हिमालपारि अन्तरदेशीय रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययनमा नेपाललाई सहयोग गर्न चीन तयार रहेको नेपालस्थित चिनियाँ कार्यवाहक राजदूत वाङ सिनको भनाइ छ । उद्घाटनका अवसरमा विमानस्थलका परिकल्पनाकार पूर्वअञ्चलाधीश शंकरराज पाठकलाई महानगरले रथारोहणसमेत गरेको थियो । साभार : इका












