६५ करोड सन्दिग्ध कारोबारमा शाह पक्राउ, शर्मालाई के हुन्छ ?…..

काठमाडौँ — तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संरक्षणमा शंकास्पद रकम ओसारपसार गरेका अछामका पृथ्वी शाहमाथि कानुनी कारबाही बल्ल अघि बढेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार शाहसहित ६ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । ब्युरोले सार्वजनिक गरेको विवरणअनुसार शाहले साथीभाइ, आफ्नो र परिवारका नाममा विभिन्न कम्पनी खडा गरी करिब ६५ करोड रुपैयाँ बराबरको शंकास्पद रकम ओसारपसार गरेको देखिएको छ । शाहले ४६ लाख ४६ हजार ७ सय ३७ अमेरिकी डलर (हालको विनिमय दरअनुसार ६१ करोड ३३ लाख ७९ हजार २ सय ८४ रुपैयाँ), १२ हजार ८ सय २५ पाउन्ड स्टर्लिङ डलर (हालको विनिमय दरअनुसार २० लाख ४३ हजार ५ सय ३५ रुपैयाँ) र ३ करोड २२ लाख २८ हजार ६ सय ८० रुपैयाँ शंकास्पद कारोबार गरेको पुष्टि भएको छ । अस्वाभाविक रकम ओसारपसार गरेको देखिएपछि अनुसन्धान गर्न राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो । राष्ट्र बैंकले शाहको खाता रोक्का गरेपछि तत्कालीन अर्थमन्त्री शर्माले फुकुवा गरिदिन लिखित निर्देशन नै दिएका थिए । स्वायत्त निकाय राष्ट्र बैंकको कामकारबाहीमा अर्थमन्त्रीले निर्देशन दिन मिल्दैन । तर, शर्माले अनधिकृत हस्तक्षेप गरेर अनुसन्धान प्रभावित गरेको विषयमा कान्तिपुरले गत चैत २४ मा समाचार प्रकाशित गरेको थियो । समाचार छापिएपछि शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न प्रक्रिया अघि बढाएका थिए । उनको प्रस्तावमा मन्त्रिपरिषद्ले जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलगत्तै गभर्नर अधिकारी निलम्बनमा परेका थिए । अधिकारीमाथि जाँचबुझ गर्न अर्थमन्त्री शर्माका दाइ नाता पर्ने पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरिएको थियो, जसका दुवै सदस्य अर्थमन्त्रीको दल माओवादीको संगठनमा आबद्ध नेता थिए । गभर्नरमाथि अन्यायपूर्वक कदम चालिएको भन्दै परेको रिटमा सर्वोच्चले कारबाही अघि नबढाउन अन्तरिम आदेश जारी गरी उनलाई राष्ट्र बैंक फर्काइदिएको थियो । अर्थमन्त्रीबाट शर्मा बाहिरिएलगत्तै प्रहरीले शाहसहित ६ जनालाई पक्राउ गरी अदालतबाट ६ दिनको म्यादसमेत लिएको छ । ‘राष्ट्र बैंकको आग्रह र केही तथ्य तथा प्रमाणमा खुलेअनुसार ६ जनालाई पक्राउ गरिएको हो, अरू थुप्रै व्यक्ति र कम्पनी यो अपराधमा मुछिएको देखिन्छ,’ सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले भने, ‘अनुसन्धानकै क्रममा रहेकाले पक्राउ पर्न बाँकी व्यक्ति र संलग्न संस्थाबारे अहिले नै सार्वजनिक गर्न मिल्दैन । पक्राउ पर्नेमा अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ घर भई काठमाडौं बस्दै आएका शाह, भाइ विजयविक्रम, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिम नवलपरासीका रुक्मांगत काफ्ले र अछामकै रंगबहादुर साउद छन् । अनुसन्धानको दायरामा परेका विभिन्न व्यक्ति तथा शंकास्पद गतिविधिमा जोडिएका कम्पनीको सबै कारोबार रोक्का गरिएको छ । शाह पक्राउ परेपछि उनलाई संरक्षण गर्ने तत्कालीन अर्थमन्त्री शर्माको संलग्नतामाथि बिनाप्रभाव छानबिन हुनुपर्ने विज्ञहरूको धारणा छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार