सत्ताको हलो ‘राष्ट्रपति’मा गएर अड्किएको छ, पदको दुरुपयोग…..

काठमाडौँ — यतिखेर सत्ताको हलो ‘राष्ट्रपति’मा गएर अड्किएको छ । सभामुखको पद लिइसकेको दोस्रो ठुलो दल नेकपा एमालेले राष्ट्रपति पद पनि लिने हो भने ‘हिजोजस्तै एकाधिकार गर्छ’ भन्ने आँकलन र आशङ्काको बादलले यतिखेर राष्ट्रिय राजनीतिको पोखरी धमिलिएको छ । पछिल्लो समय हामीकहाँ विविध कारणले जब राष्ट्रिय राजनीतिको पोखरी धमिलिन पुग्छ, तब माछा मार्ने ‘साध्य र साधन’ राष्ट्रपति कार्यालय बनिहाल्छ । त्यसैले आफ्नो दलको व्यक्तिलाई राष्ट्रपति बनाउन सत्ता विमुख भएको नेपाली कांग्रेससमेत लालायित देखिन्छ । छोटै इतिहास साक्षी छ, मुलुकको पहिलो राष्ट्रपति रामवरण यादवले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिस (तत्कालीन सेना प्रमुख रुक्मांगत कटुवालको कारबाही)लाई रोके । जगजाहेरै छ, तत्कालीन राष्ट्रपति यादवको कदम असंवैधानिक थियो । त्यतिबेला कटुवालको पछाडि ‘अर्को शक्ति’ रहेको र ‘त्यसलाई शिक्षा दिन खोज्दा’ आफूले दुःख पाएको प्रचण्डको भनाइ छ । २०७३ मा प्रकाशित, डा. विजय कुमार पौडेल सम्पादित पुस्तक ‘नेपाल भारत सम्बन्ध’ मा उनले लेखेका छन्, ‘प्रधानसेनापति काण्डबारे अझै सबै कुरा भन्ने बेला भएको छैन कि भन्ने लागेको छ । म प्रधानमन्त्री भएपछि कसैसँग नझुकी सरकार चलाउँछु भन्ने सोचेको थिएँ । भारतसँग स्वाभिमानका आधारमा सम्बन्ध बनाउन खोज्दा मैले दुःख पाएँ । कटुवाल प्रकरण निमित्त कारण मात्रै हो, मैले कटुवालको पछाडि अर्को शक्ति छ भन्ने थाहा पाएको थिएँ । त्यतिबेला प्रचण्डले राजीनामा दिनुपर्ने परिस्थिति सिर्जना भयो । आजसम्म आइपुग्दा हामीकहाँ राष्ट्रपति पदलाई नै ‘अर्को शक्ति’ बनाइसकिएको भान हुन्छ । पछिल्लो समय, हामीकहाँ राष्ट्रपति कार्यालय ‘राष्ट्रिय राजनीतिको हलो’ अड्किने र अड्काउने केन्द्र बन्दै आयो, जबकि उसलाई यस्तो संवैधानिक हक छैन । राष्ट्रपति संस्था ‘हलो अड्काउने’ साधन किन र कसरी बन्दै छ ? पूर्वराजदूत तथा राजनीतिक विश्लेषक विजयकान्त कर्ण भन्छन्, ‘हामीकहाँ सात सालदेखि नै बलियो राजनीतिक संस्था निर्माण हुन नसक्दा र नदिइँदा आज राष्ट्रपति संस्थाले अतिरिक्त शक्ति आर्जन गर्ने अवस्था सिर्जना भएको हो । राज्य संस्था र निकायहरूलाई कमजोर बनाइयो भने आफ्नो इच्छा अनुकूलको निर्णय गर्न पाइन्छ भन्ने प्रवृत्ति दलहरूमा देखिँदै आएको छ ।’ संस्था बनेपछि त्यसको मर्यादापालन गर्नुपर्ने र राष्ट्रिय राजनीतिमा आफूहरूको एकाधिकार गुम्ने डरले बलियो संस्था निर्माणमा दलहरू नलागेको उनी बताउँछन् ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार