काठमाडौँ — एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति निर्वाचनमा आफैंले अघि सारेका विकल्पको घेराबन्दीमा परेका छन् । १० पुसमा एमालेसँग समझदारी गरेका उनले स्थिति फेरिएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि आश्वासन दिएका थिए तर दाहाल अहिले कांग्रेससँग निर्णायक संवादमा छन् । अब, जुनसुकै विकल्प रोजे पनि बाँकी पक्षलाई उनीबाट धोका हुने भएको छ । एमालेसँगको समझदारी तोड्ने पृष्ठभूमि बनाउन माओवादी पदाधिकारीको बैठक बसाएका उनले निर्णयको सर्वाधिकार आफैंसँग राखेका छन् । उम्मेदवारी दर्ताका लागि दुई दिन मात्र बाँकी रहँदा उनले आफ्नो कार्यकालको अवधिलाई केन्द्रमा राखेर दायाँबायाँ गर्ने नीति लिएका छन् तर यसअघि लिएको बहुविकल्पको नीतिले उनैलाई असहज बनाउने देखिएको छ । माओवादी उपमहासचिव शक्ति बस्नेत पनि राष्ट्रपति निर्वाचनको हिसाबकिताब निकाल्न सजिलो नभएको बताउँछन् । ‘पुस १० को सहमतिमा सामेल स्वतन्त्र पार्टी, जसपा र नागरिक उन्मुक्ति पार्टी सरकार बाहिर छन् । यो परिस्थितिलाई पनि नजरअन्दाज गर्न मिल्दैन,’ उनले भने, ‘यो अवस्थामा फ्याट्ट हिसाबकिताब निकाल्न सजिलो छैन । मनोनयन गर्ने दिन फागुन १३ अघि हिसाब निस्कन्छ । ओलीले ‘पार्टी एकता गर्ने गरी’ सर्तमा राष्ट्रपतिमा नेपाललाई समर्थन गर्ने प्रस्ताव गरेपछि दाहाल मझदारमा परेका हुन् । ‘माधवजीलाई राष्ट्रपतिको उम्मेदवार बनाउन खोज्ने तर एमालेले अस्वीकार गरेको भन्दै अर्को विकल्पमा जाने प्रचण्डजीको नीति रहेछ, हाम्रा अध्यक्ष केपी शर्मा ओलीले सिधै माधवजीलाई उम्मेदवार बनाउने प्रस्ताव गरेपछि उहाँ अप्ठ्यारोमा पर्नुभएको छ तर कित्ता क्लियर त गर्नैपर्यो,’ एमालेका एक पदाधिकारीले भने । राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल ओलीले ‘च्याँखे’ थाप्न मात्र नेपाललाई प्रस्ताव गरेको हुन सक्ने बताउँछन् । ‘माधव नेपाललाई प्रस्ताव गरेपछि प्रचण्डलाई अप्ठ्यारो पर्छ भन्ने बुझाइ हुन सक्छ,’ उनले भने । तर, यही उद्देश्य नै हो भने पनि उनी त्यसमा तत्काल सफल भएका छन् । प्राध्यापक बराल पनि राष्ट्रपति निर्वाचनलाई रणनीतिक मुद्दा बनाउन खोज्दा दाहाल चेपुवामा पर्न सक्ने ठान्छन् । ‘विगतमा राष्ट्रपतिले आफ्नो दायित्व बिर्सेर राजनीतिक शक्ति अभ्यास गरेकाले हाल ठूलो मुद्दा बनेको छ । राष्ट्रपति चयनमा ठूलो चलखेल हुने कारण पनि यही हो,’ उनी भन्छन्, ‘तर, राष्ट्रपतिलाई रणनीतिक मुद्दा बनाउन खोज्दा प्रचण्ड अप्ठ्यारोमा फस्न सक्छन् । ओलीले सोमबार नेपालसँग चार घण्टा संवाद गरेर उनैलाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव गरेका हुन् । ‘कांग्रेस र माओवादी इमानदार हुन् भने उहाँहरूकै गठबन्धनका सहकर्मी माधवजीलाई राष्ट्रपति बनाउन के अप्ठ्यारो हो ? धोकाको राजनीति हो भने त्यो पनि खुल्ने बेला आयो,’ ती नेताले भने । ओलीको वचन पाएपछि उत्साहित बनेका नेपालले अब सहकर्मीहरूको परीक्षा हुने चेतावनी पनि दिएका छन् । बुधबार दाङमा उनले खुलेरै भने, ‘पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्छ । सधैंभरि बलिदानी दिने, अरूले फाइदा लिने कुरा हुन सक्दैन । उता, ओलीको प्रस्तावमा राष्ट्रपति बनेपछि भोलि माधव नेपाल कोप्रति उदार होलान् भन्ने छलफल कांग्रेस र माओवादीभित्र भइरहेको छ । ‘राष्ट्रपति त संवैधानिक पद हो तर हाम्रो अभ्यास उत्साहजनक छैन । भोलि माधवजी राष्ट्रपति हुने र एकीकृत समाजवादी र एमाले मिल्ने हो भने कांग्रेस त भूमिकाविहीन हुन्छ, त्यसैले हामी यो बाटोमा जाँदैनौं, माओवादीलाई पनि त्यो बाटोमा जान रोक्ने नीति हुन्छ,’ कांग्रेसका एक नेता भन्छन् । एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडा पनि राष्ट्रपतिमा आफ्नो पार्टीको दाबी रहने बताउँछन् । ‘हाम्रो मतले अरूले जित्दै आएका छन्, यस पटक राष्ट्रपति हामीलाई दिनुपर्छ,’ उनले भने, ‘यो प्रस्ताव सबै दलसमक्ष हो । दाहालले प्रधानमन्त्रीका रूपमा आफ्नो कार्यकाल कम्तीमा चार वर्ष पुर्याउने गरी सहकार्य गर्न खोजेको कांग्रेस नेताहरूको भनाइ छ । ‘आफ्नै सुरक्षाका लागि उहाँ कांग्रेससँग नजिकिनुभएको हो । राष्ट्रपति र सभामुख दुवै एमालेबाट भएपछि आफ्नो हातखुट्टा बाँधिने भन्दै उनी गैरएमाले उम्मेदवारको पक्षमा छन् । तर माधव नेपाललाई एमालेले नै प्रस्ताव गरेकाले अब प्रचण्डजी झस्कनुभएको छ,’ कांग्रेसका एक पदाधिकारीको भनाइ छ । माओवादी महासचिव देव गुरुङ भने पार्टीले राष्ट्रपतिको उम्मेदवार नउठाउने भएकाले कांग्रेस, एमाले वा अरू कुनै दलको प्रस्ताव स्विकार्ने बताउँछन् । यसअघिका राष्ट्रपति विवादमा आएको भन्दै यसपालि माओवादीले राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेको उनको भनाइ छ । ‘दलीय मान्यताभन्दा माथि संविधान, राष्ट्रियताको पक्षमा उभिने राष्ट्रपति चाहिएको हो । साभार : इका












