यूएईमाथि सानदार जितसँगै नेपाल यू–१९ विश्वकपमा…..

काठमाडौँ — क्रिकेटमा उमेर समूहको सफलता । बिहीबार एसिया विजेता बनेसँगै नेपाल अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा पुगेको छ । क्षेत्रीय छनोटबाट विजेता भएर यस पटकको यू–१९ विश्वकपमा पुग्ने नेपाल पहिलो राष्ट्र हो । अन्य चार राष्ट्रको छनोट प्रतियोगितापछि मात्र यू–१९ विश्वकप खेल्ने १६ राष्ट्रको टुंगो लाग्नेछ । टेस्ट मान्यताप्राप्त राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र आयरल्यान्ड यसअघि नै आगामी विश्वकपका लागि सोझै छनोट भइसकेका छन् । विशेष गरी यू–१९ विश्वकपमा देखाएको प्रदर्शनले नेपाली क्रिकेट स्थापित भएको हो । सन् २००२ देखि २००८ सम्म गरी लगातार पाँचपल्ट आईसीसी यू–१९ विश्वकप खेल्दै उच्च प्रदर्शन दिँदा नेपाली क्रिकेटको मार्गचित्र बनेको थियो । आउँदो यू–१९ विश्वकप नेपाल सहभागी हुने आठौं संस्करण हुनेछ । जगत टमाटाकै प्रशिक्षणमा नेपाल तेस्रो पटक यू–१९ विश्वकपमा पुगेको हो । यसअघि उनकै प्रशिक्षणमा २०१२ र २०१६ को विश्वकपमा छनोट भएको थियो । ७ वर्षअघि बंगलादेशमा खेल्दा नेपाल दोस्रो चरण पुगेको थियो । पछिल्ला एक दशकमा भने नेपालले एक पटकमात्र युवा विश्वकप खेल्ने अवसर पायो । सोही कारण नेपालको क्रिकेट अन्योलजस्तै बन्दै आएको थियो । युवा खेलाडीको अभाव राष्ट्रिय टोलीसम्म देखिएको थियो । अर्को वर्ष श्रीलंकामा हुने प्रतियोगितामा नेपालले यू–१९ विश्वकपमा पुनरागमन गर्नेछ । यूएईको अजमानमा भइरहेको आईसीसी यू–१९ एसिया विश्वकप छनोट प्रतियोगितामा टस हारेर ब्याटिङमा आएको नेपाल ४८.५ ओभरमा १ सय ९१ रनमा अलआउट भयो । देब्रेहाते स्पिनर दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि नेपालले यूएईलाई ४८ ओभरमा १ सय ८४ रनमा अलआउट गरी ७ रनको सनसनीपूर्ण जित हात पारेको हो । नेपाल अपराजित रहेर विजेता बन्दै यू–१९ विश्वकपलाई छानिएको छ । राउन्ड रोबिन लिगको अन्तिम खेल खेल्नुअघि नेपाल र यूएईले पहिलो ४ खेल जितेका थिए । र, अन्तिम खेल जित्ने टोली विश्वकपमा पुग्ने समीकरण बनेको थियो । एसिया क्षेत्रको विजेता टोलीमात्र विश्वकपमा पुग्ने प्रावधान छ । अन्तिम ३ ओभरमा यूएईलाई जितका निम्ति ११ रन चाहिँदा दीपेश आफ्नो अन्तिम ओभर लिएर बलिङमा आएका थिए । हामीसँग धेरै विकल्प थिएन, दुई जना तीव्र गतिका बलर र दीपेशको एक ओभर बाँकी थियो । फास्ट बलर ल्याउँदा १–१ रन जोडेर भए पनि पुगिहाल्छ भन्ने हिसाबले जोखिम लिन खोजेर दीपेशलाई बलिङ दिनु भनेर कप्तानलाई भनेको थिएँ,’ प्रशिक्षक टमाटाले दीपेशले फालेको अन्तिम ओभरबारे यूएईबाट फोनमा भने, ‘त्यही ओभरमा बल पनि निकै राम्रो टर्न भयो । तीनै बल एकै ठाउँमा टप्पा खायो र सबै तीन विकेट बोल्डमार्फत आयो । २०१६ देखि २०२२ सम्म यू–१९ विश्वकप खेल्न नपाएकाले यो नेपालका लागि सपनाजस्तै भइसकेको उनले बताए । ‘टिमलाई लयमा राखेर विश्वकपमा जाने हो भने २०१६ को भन्दा राम्रो नतिजा ल्याउन सकिन्छ,’ टमाटाले भने, ‘यो औसत टोलीमात्र थियो । त्यसैले मेरा लागि पनि निकै चुनौती थियो । देव खनालबाहेक सबै जिल्ला क्षेत्र खेलेका खेलाडीमात्र छन् । तर हामीले जुन हिसाबले बलिङ र फिल्डिङ गर्‍यौं, त्यो अविश्वसनीय थियो । १० ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ५ विकेट लिएका दीपेश प्लेयर अफ द म्याच बने । हेमन्त धामी र सुवास भण्डारीले २–२ विकेट लिए । हेमन्तले ८ ओभरमा ३४ र सुवासले १० ओभरमा ३९ रन खर्चे । यूएईबाट इथान कालै डी सुजाले ५० रन बनाए । उनले ६६ बल खेल्दै ८ चौका प्रहार गरे । उनीसहित अमर बदामी (१९) र मारुफ मर्चान्ट (१२) लाई आउट गरेपछि नेपालको सम्भावना देखिएको थियो । इडेन गार्डेन ओभल मैदानमा नेपालले निकै खराब सुरुआत लियो । हरिश शेट्टीले खेलको पहिलो बलमै दीपक बोहरालाई बोल्ड गरेर नेपाललाई गतिलो झट्का दिए । अर्जुन कुमाल ३ र आकाश त्रिपाठी ९ रनमा आउट भएपछि नेपाल सातौं ओभरमा १९–३ को स्थितिमा पुगेको थियो । कप्तान देव खनालको अर्धशतकमा नेपाल खेलमा पुनरागमन भएको थियो । उनले उत्तम थापामगरसँग चौथो विकेटमा ८४ रनको साझेदारी गरे । देवले ५१ रन बनाउनेक्रममा ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । उत्तमले ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ रन बनाए । विशालविक्रम केसीले मध्यक्रममा ३८ रन बनाएपछि नेपालले चुनौतीपूर्ण स्कोर बनाउन सक्यो । उनले ५० बल खेल्दै ५ चौका प्रहार गरे । मिलन बोहरा १० रनमै आउट भए । सुवास भण्डारीले २ रनमात्र बनाउन सके । हेमन्त धामीले १ चौका र १ छक्का प्रहार गर्दै १३ रन बनाए । दीपेश कँडेल आउट हुने अन्तिम खेलाडी थिए । उनले ३३ बल खेल्दै १५ रन बनाए । ध्रुव परासरले यूएईबाट ३ विकेट लिए । प्रतियोगितामा उच्च विकेट लिने खेलाडी रहेका उनले ६.५ ओभरमा १ मेडन राख्दै १८ रन खर्चे । हरिश शेट्टी र कप्तान आयान खानले २–२ विकेट लिए । आयानले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेका थिए । नेपालले अघिल्ला खेलमा सिंगापुरलाई ९६ रन, कुवेतलाई २ सय ४३ रन, हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले पराजित गरेको थियो ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार