बोआओ रद्द गरेर भारत भ्रमणको लागि दाहालको जोडबल…..

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको गृहकार्य सुरु भएको छ । विश्वासको मत लिएलगत्तै दाहाल प्रधानमन्त्रीका रूपमा तेस्रो पटक दिल्ली जान लागेका हुन् । चीनमा आयोजित ‘बोआओ फोरम फर एसिया’ मा भने दाहाल सहभागी नहुने सम्भावना बढेको छ । हेनान प्रान्तमा चैत १४ देखि १७ सम्म हुने कार्यक्रमका लागि चिनियाँ राजदूत छन सोङले फागुन १० मै भेटेर दाहाललाई निम्तो दिएका थिए । पहिलोपल्ट प्रधानमन्त्री हुँदा दाहालले चीनबाट विदेश भ्रमण थालेपछि भारत रुष्ट भएको सन्देश आएको थियो । त्यसैले दाहाल यो पल्ट भारत भ्रमण सकेर चीनको बोआओ फोरम भ्याउने मनस्थितिमा थिए । तर, चैत १४ अघि नै भारत भ्रमण सम्पन्न हुने निश्चित नभएपछि उनी बोआओ फोरममा सहभागी नहुने भएका हुन् । ‘गृहकार्य तीव्र छ, उपराष्ट्रपतिको निर्वाचनलगत्तै विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गरेपछि प्रधानमन्त्री भारत जाने तयारी छ, सम्भवतः चैतभित्रै,’ बालुवाटारका एक अधिकारीले भने । प्रधानमन्त्री नजाने भएपछि बोआओ फोरममा सहभागी हुन चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ बेइजिङबाटै हेनान जाने परराष्ट्र स्रोतले जनाएको छ । बोआओ नगए पनि भारतको औपचारिक भ्रमणलगत्तै दाहालले चीनको मैत्रीपूर्ण भ्रमण गर्ने गृहकार्य भने भइरहेको छ । भारतका लागि नेपालका राजदूत शंकर शर्मा आगामी भ्रमणका विषयवस्तुबारे प्रधानमन्त्री दाहाल र परराष्ट्र सचिव भरतराज पौड्यालसँग विस्तृत छलफल गरेर बुधबार नयाँदिल्ली फर्किएका छन् । ‘राजदूतले नेपाल–भारतबीच अहिलेको अवस्था र भ्रमणका दौरान उठाउनुपर्ने विषयमा जानकारी दिनुभएको छ । उहाँले केही महत्त्वपूर्ण विषयबारे पनि प्रधानमन्त्रीलाई जानकारी दिनुभयो । त्यही आधारमा गृहकार्य गर्न प्रधानमन्त्रीले परराष्ट्रलाई निर्देशन दिइसक्नुभएको छ,’ परराष्ट्र अधिकारीले भने । दाहालले प्रधानमन्त्री भएलगत्तै गत पुस १२ मा एक भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका थिए । उनलाई प्रधानमन्त्री भएलगत्तै भारतबाट अनौपचारिक रूपमा भ्रमणको निम्तो आए पनि हालसम्म लिखित निमन्त्रणा आएको छैन । ‘लिखित निमन्त्रणा आउनेबित्तिकै प्रधानमन्त्रीको भारत भ्रमण भइहाल्छ,’ बालुवाटार स्रोतले भन्यो । दाहाल २०६५ मा पहिलो पटक प्रधानमन्त्री भएलगत्तै ओलम्पिक समापनमा सहभागी हुन बेइजिङ पुगेका थिए । नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारतबाट सुरु गर्ने परम्परालाई उनले तोडेको चर्चा चलेको थियो । तर, उनले फर्कंदा विमानस्थलमै पहिलो राजनीतिक भ्रमण भारतकै हुने बताएका थिए । लगत्तै उनी भारत भ्रमणमा गएका थिए । दाहालले २०७३ मा दोस्रो पटक प्रधानमन्त्री हुँदा भने पहिलो औपचारिक विदेश भ्रमण भारतबाटै गरेका थिए । कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई लिएर काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले पनि गृहकार्य गरिरहेका छन् । परराष्ट्र मन्त्रालयले पनि भ्रमणका दौरान दुई मुलुकबीच हुन सक्ने साझेदारी र छलफलका विषयमा तयारी गरिरहेको छ । दाहालको यस पटकको भारत भ्रमणमा महेन्द्रनगरको हवाई रुट लिमा–६२६ लाई दुईतर्फी बनाउन सहमति गर्ने गरी गृहकार्य भइरहेको छ । हाल यस रुटबाट जहाज दिल्ली, मध्यपूर्व हुँदै इस्तानबुलसम्म निस्किन्छ । यही रुट भएर नेपाल पस्न पाइँदैन । भारतबाट नेपाल प्रवेश गर्न सबै जहाजले सिमरा पुग्नै पर्छ । त्यसैले अन्य रुटलाई दुईतर्फी बनाउन नेपालले पहिलेदेखि नै आग्रह गरिरहेको छ । हवाई रुटको समस्या समाधान गर्न ८ वर्षअघि नै दुई मुलुकका सरकार प्रमुखबीचमा सम्झौता भएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएको सम्झौताको ३१ औं बुँदामा भनिएको थियो, ‘नेपाली पक्षले जनकपुर, भैरहवा र नेपालगन्जमा तीन वटा थप हवाई प्रवेश बिन्दु र क्षेत्रीय विमानस्थलहरू पोखरा–भैरहवा र लखनउबीचको सिधा उडान सुविधाका लागि सीमापार सिधा रुटहरू खोल्न भारतलाई अनुरोध गरेको छ । यसले हवाई यात्रुको समय र लागत बचत गर्नेछ । दुवै प्रधानमन्त्रीले सम्बन्धित निकायलाई ६ महिनाभित्र बैठक गरी यो र हवाई सेवा सम्झौतासँग सम्बन्धित समस्या समाधान गर्न निर्देशन दिएका छन् ।’ सम्झौता कार्यान्वयन हुन नसक्दा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न नेपाल पस्ने जहाजले अतिरिक्त २२ मिनेट उड्नुपर्छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ चैत १८–२० मा भएको भारत भ्रमण दौरान भएको द्विपक्षीय छलफलमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीसँग हवाई रुटका बारेमा कुरा उठाएका थिए । त्यसलगत्तै जेठ २ मा बुद्ध जयन्तीको दिन भारतीय प्रधानमन्त्री मोदीले गरेको लुम्बिनी भ्रमणमा पनि देउवाले द्विपक्षीय छलफलमा हवाई रुटको विषय निकालेका थिए । त्यस बेला परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘प्रधानमन्त्री देउवाले महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट हवाई प्रवेश मार्गका लागि अनुरोध गरे । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भारतीय पक्षसँगको भेटवार्तामा नेपालले हवाई रुटका विषय सधैं उठाइरहेको छ । ‘तर, यस विषयमा भारतीय पक्षले न त हुन्छ भनेको छ, न त हुन्न नै,’ ती अधिकारीले भने, ‘यस पटक प्रधानमन्त्री दाहालको भारत भ्रमणका दौरान पनि यो विषय हाम्रो मुख्य एजेन्डामा पर्छ । भैरहवापारिबाट सिधै विमान अवतरण गर्ने नभए पनि महेन्द्रनगर हुँदै छिर्ने र त्यहाँबाट गौतम बुद्ध विमानस्थल आउने गरी सहमति हुन सक्छ । दाहाल २०६५ मा पहिलो पटक प्रधानमन्त्री भएका बेला बेइजिङ ओलम्पिक समापन समारोहमा सहभागी हुन जाँदा पहिलो विदेश भ्रमण चीनबाट गरेको भन्दै भारतले असन्तुष्टि जनाएको थियो । त्यसपछि दाहालले आफ्नो पहिलो राजनीतिक भ्रमण भारतबाटै हुने अभिव्यक्ति दिएका थिए । तेस्रो पटक प्रधानमन्त्री भएलगत्तै दाहालले पुस १२ मा एक भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका थिए । प्रधानमन्त्री दाहालले भारतको औपचारिक भ्रमण भएलगत्तै चीनको औपचारिक मैत्रीपूर्ण भ्रमण गर्ने गृहकार्य भने भइरहेको स्रोतले जनाएको छ । सन् २००१ मा बोआओ फोरमको पहिलो संस्करणमा तत्कालीन राजा वीरेन्द्रले चिनियाँ राष्ट्रपतिको निम्तो पाएका थिए । सन् २०१५ मा तत्कालीन राष्ट्रपति रामवरण यादव सहभागी भए भने सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गएका थिए । सन् २०१७ मा दोस्रो पटक प्रधानमन्त्री हुँदा दाहालले सहभागी जनाएका थिए । तर, सन् २०१८ को बोआओ फोरमको निम्तो पाए पनि उत्तर–दक्षिणको निम्तो एकैसाथ जुधेपछि तत्कालीन प्रधानमन्त्री ओली भारत भ्रमणमा गएका थिए । त्यसपछि बोआओ फोरममा चीनबाट माथिल्लो स्तरमा यस पटक निम्तो आएको थियो । तर, प्रधानमन्त्री दाहालले सहभागिता नजनाउने भएका छन् । सन् २०२१ मा भएको फोरममा नेपाल उच्च तहमा निम्तो नआएपछि चीनका लागि नेपालका तत्कालीन राजदूत महेन्द्रबहादुर पाण्डेले बेइजिङबाटै कार्यक्रममा सहभागिता जनाउन गएका थिए । नेपालले सन् २०१९ मा निम्तो पाएको थिएन भने सन् २०२० मा कोभिड–१९ को कारण उक्त फोरम स्थगित भएको थियो । चीनले हरेक वर्ष हरेक मुलुकलाई उच्च तहमा सहभागिताका लागि नबोलाएको परराष्ट्रका एक अधिकारीले बताए । चीनले बोआओ फोरम फर एसियाको सन् २००१ मा स्थापना गरेको हो । चीनले सन् १९९८ को आर्थिक संकटपछि एसियाली मुलुकहरूबीचमा एकीकृत आर्थिक शैली अपनाउने भन्दै उक्त फोरमलाई अघि सारेको हो । पहिलो फोरममा नेपालसहित विभिन्न २६ मुलुकका नेताहरूले सहभागिता जनाएका थिए । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार