अर्थमन्त्रीले बाँडे आफूखुसी २३ करोड…..

सुर्खेत – बुधबार कर्णाली प्रदेशसभा बैठकमा कांग्रेसका सांसदहरुले अर्थमन्त्री विनोदकुमार शाहले करोडौँ रकम मनमौजी तरिकाले गाउँमा पठाएको आरोप लगाए । अर्थमन्त्री शाहले मुख्यमन्त्री राजकुमार शर्मालाई समेत पत्तै नदिई चुनावी खर्च उठाउने नियतले गाउँमा बजेट पठाएको भन्दै कांग्रेस सांसदले सदनमा त्यसबारे जानकारी गराउन माग गरे । यद्यपि शाहले संसदमा यसबारे जवाफ भने दिएका छैनन् । मन्त्री शाहले गत फागुन १६ गते २३ करोड २० लाख बराबरको रकम गाउँगाउँमा पठाइसकेका छन् । उपलब्ध विवरण अनुसार शाहले विभिन्न ६७ वटा योजनामा उक्त रकमको अख्तियारी पठाएका हुन् । यो रकम प्राकृतिक विपद व्यवस्थापनका लागि राखिएको बजेट हो । अर्थमन्त्री शाहले यति ठुलो रकम गाउँमा पठाउँदा सरकारका अन्य मन्त्री र मुख्यमन्त्रीलाई पत्तो नै नदिएको आरोप छ । विषम् परिस्थितिको यति ठुलो बजेट बाँडफाँट गर्दा मन्त्रिपरिषद्मा समेत विषयले प्रवेश नपाएको एक मन्त्रीले रातोपाटीलाई बताए ।कुन जिल्लामा कति योजना ? मन्त्री शाहले छानेका अधिकांश योजना वितरणमुखी र कार्यकर्तामुखी देखिन्छ । शाहले आफ्नो गृह जिल्ला दैलेखमा ३० भन्दा बढी योजनामा करोडौँ रकम पठाएका छन् । त्यसपछि सुर्खेतमा १८ योजना छुट्याइएको छ । शाहले विनियोजन गरेको बजेटमा सल्यान भने परेको छैन । जुम्लामा एउटामात्रै योजना पारिएको छ । कालिका मावि टोप्लाको आइसिटी तथा पुस्तकालय निर्माण गर्ने भनेर २० लाख बजेट पारिएको छ । यस्तै हिमाली जिल्लाहरुमा समेत बजेट न्यून गएको छ । डोल्पामा जम्मा २ वटा योजना परेका छन् । लोङलादेखि सोचेन तटबन्धका लागि ३० लाख र तामु सिँचाइ आयोजनाका लागि ३० लाख बजेट छ । मुगुमा बाले बगर वृहत तटबन्धका लागि ४० लाख र धौलीगाडा तटबन्ध आयोजना भनेर ३० लाख बजेट विनियोजन गरिएको छ । यस्तै हुम्लाको सर्केगाड गाउँपालिका–१ मा पर्ने साँगुडा ग्रामीण सडक निर्माण भन्दै २० लाख बजेट पठाइएको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका– १० को चिसापानी खेलकुद मैदान निर्माण गर्ने भनेर ३० लाख बजेट पठाइएको छ । दैलेख र सुर्खेतपछि जाजरकोटमा बजेट बढी पठाइएको छ । जाजरकोटको सक्ला रन्गवारा हुँदै खारी जोड्ने सडकका लागि ३० लाख, ज्ञानकुञ्ज क्याम्पस फिल्ड निर्माणका लागि २० लाख, पाँच काटीया बुढीका चौर हुँदै मछाईन्ना जोड्ने सडकका लागि ३५ लाख, आरसी खोला तटबन्धका लागि ४० लाख र काउली छहरे खोला दुवारे सडकका लागि ३० लाख रकम विनियोजन गरिएको छ । कालिकोटमा दुई योजनाका लागि ३५ लाख बराबरको बजेट विनियोजन गरिएको छ ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार