सरकारले आर्थिक संकट भन्दै सामाजिक सुरक्षा भत्ता काट्न खोज्यो…..

लमजुङ — नेकपा एमाले उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले वृद्धवृद्धा, अपांगता, दलित, एकल महिलालगायतले खाइपाइ आएको सामाजिक सुरक्षा भत्ता वर्तमान सरकारले कटौती गर्न लागेको आरोप लगाएका छन् । उनले सरकारको गतिविधिले जनता त्रासमा रहेको भन्दै सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारलाई आग्रह गरे । नेकपा एमाले बेंसीसहर नगरपालिका-६, वडा कमिटीद्वारा शनिबार आयोजित मिसन ग्रासरुटअन्तर्गत कार्यकर्ता भेला र शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘अहिलेको सरकार जनताप्रति कुनै उत्तरदायी छैन ।’ पहिले नै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल मिलेर देशको ढुकुटी रित्याइसकेको उनले आरोप लगाए । ‘हामीले १ वर्ष पुग्ने मुद्रा सञ्चित गरेर राखेका थियौं । देउवा र प्रचण्ड मिलेर सिध्याइदिएछन् । बरु विष्णु पौडेल ६० दिन अर्थमन्त्री हुँदा केही सुधार गरेका थिए,’ उनले भने, ‘देउवा र प्रचण्डले सबै दलाल पुँजीपतिलाई पोस्दा देशको ढुकुटी रित्याइदिएछन् । अहिले आर्थिक संकट । देशलाई डुबाउन देशी, विदेशी शक्ति मिलेर एमालेलाई एक्ल्याउन खोजेको खोजेको उनले आरोप लगाए । ‘कम्युनिष्ट पार्टीको सरकार हुनुपर्छ भनेर प्रचण्डलाई प्रधानन्त्री बनायौं । कम्युनिष्ट पार्टीले सरकार चलाऔं, देशभक्त, प्रगतिशीललाई सामेल गराऔं भनेर लागियो,’ उनले भने, ‘कांग्रेसलाई सहृय भएन । प्रचण्ड भारत र अमेरिकासँग लम्पसार परे । आफ्नो राष्ट्रिय स्वाधिनतालाई तिलाञ्जली दिए । आफ्नो व्यक्तिगत स्वार्थमा कम्युनिष्ट गठबन्धन तोडे ।’ सत्ता स्वार्थको लागि माओवादी कहिले कांग्रेस र कहिले एमालेसँग मिलेको भन्दै स्वार्थ पूरा भएपछि माओवादीले सबैलाई धोका दिने उनले आरोप लगाए । एमाले केन्द्रीय सदस्य एवं लमजुङ सहइन्चार्ज जमिन्द्रमान घले, एमाले केन्द्रीय कार्यालय सचिव भीष्मनाथ अधिकारी, पार्टी केन्द्रीय सदस्य मीना गुरुङ, पार्टी गण्डकी प्रदेश सदस्य एवं बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, पार्टी जिल्ला कमिटी अध्यक्ष कृष्णप्रसाद अधिकारी, उपाध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य यशोदा रिमाललगायतले मिसन ग्रासरुटबाट एमाले तल्लो तहमा पुगेको भन्दै पार्टीप्रति जनताको आकर्षण बढ्दो रहेको दाबी गरे ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार