थप उपचारका लागि भारत लैजान परामर्श…..

काठमाडौँ — स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजान परामर्श थालिएको छ । छातीको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लान चिकित्सक र परिवारबीच परामर्श भइरहेको त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाले जानकारी दिए । राष्ट्रपति पौडेलको उपचारमा संलग्न एक चिकित्सकका अनुसार लामो समय औषधि सेवन गर्दा पनि छातीको संक्रमण कम नभएपछि परिवारले समेत भारत लैजान आग्रह गरेका छन् । परिवार र चिकित्सकबीच कुराकानी मिलेमा राष्ट्रपति पौडेललाई बुधबार एयर एम्बुलेन्समार्फत भारत लगिने सम्भावना छ । मंगलबारको मन्त्रिपरिषद् बैठकपछि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले टिचिङ अस्पताल पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझेका थिए । सोमबारमात्रै उनी फलोअपका लागि अस्पताल पुगेर घर फर्किएका थिए । मंगलबार फेरि छातीमा समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रशासन प्रमुख थपलियाले जानकारी दिए । प्रमुख थपलियाले मंगलबार साँझ विज्ञप्ति निकालेर राष्ट्रपति पौडेलको उपचार जारी रहेको बताएका छन् । एक साताअघि पनि सोही समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा उपचार गरिएको थियो । उनको डा. निरज बमको नेतृत्वमा स्वास्थ्य उपचार भइरहेको छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार