सत्ता गठबन्धन र एमालेको शक्ति प्रदर्शन…..

बारा — उपनिर्वाचन प्रचारप्रसारको अन्तिम दिन बिहीबार बारा निर्वाचन क्षेत्र नम्बर २ मा आ–आफ्ना उम्मेदवार जिताउन सत्ता गठबन्धन दल र एमालेले छुट्टाछुट्टै शक्ति प्रदर्शन गरेका छन् । बिहीबार राति १२ बजेदेखि चुनाव प्रचार बन्द हुने निर्वाचन आयोगको कार्यक्रम रहेकाले ती दलहरुले अन्तिम शक्ति प्रदर्शन गरेका हुन् । सभामा सम्बोधनको क्रममा गठबन्धन दलले संविधान रक्षा र विकास गर्ने आश्वासन दिँदै आफ्ना उम्मेदवार जिताउन आग्रह गरे । आफ्ना विकास योजना असफल बनाउन सत्ता गठबन्धन दल लागेको आरोप लगाउँदै एमाले नेताहरुले राष्ट्रलाई समृद्ध बनाउन एमालेको उम्मेदवार जिताउन आग्रह गरेका छन् । एमालेले पचारौताको नगरपालिकाको बेनौलीमा र गठबन्धनले महागढीमाई नगरपालिकाको बरियारपुरमा चुनावीसभा आयोजना गरेका थिए । गठबन्धन घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन शीर्ष नेताहरु माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र लोसपाका नेता जितेन्द्र सोनल चुनावीसभामा सहभागी भए । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले केही वर्षयता नेपाल–भारत खुला सीमा नाकामा देखिएका समस्यादेखि निजगढ विमानस्थल, निर्वाचन क्षेत्रमा रहेका ऐतिहासिक धार्मिकस्थल गढीमाईको विकाससँगै तराईमा सिँचाई, स्वास्थ्य र शिक्षामा विकास गरेर तत्काल परिवर्तन ल्याउने आश्वासन दिए । निजगढ विमानस्थलको चाँडै शिलान्यास हुन्छ । सीमा नाकाको समस्या समाधानको लागि भारत सरकारसित कुरा भइरहेको छ ।’ गठबन्धन संविधानको रक्षा र विकासको लागि भएकोले गठबन्धनको आधिकारिक उम्मेदवारलाई जिताउन उनले आग्रह गरे । ‘उपेन्द्रजीले मधेसको लागि धेरै संघर्ष गर्नु भएको छ, त्यसले उहाँलाई जिताउनुस्,’ प्रधानमन्त्री दाहालले भने, ‘संसद्‌मा उहाँको आवश्यकता छ । कांग्रेस सभापति देउवाले लोकतन्त्रको रक्षा गर्न गठबन्धन दल बनेको बताए । ‘प्रतिगामी र संसद् विघटन गर्ने शक्तिविरुद्ध गठबन्धन बनेको छ,’ उनले भने, ‘त्यसैले गठबन्धनलाई मतमार्फत साथ दिएर जिताउनुस् ।’ सभामा नेकपा एसका अध्यक्ष नेपालले मधेसमा भर्खर आएका सिके राउतका दलको अस्तित्व नभएको दाबी गर्दै जनमतभन्दा जसपाकै उम्मेदवारलाई जिताउन आग्रह गरे । उम्मेदवारी मनोनयनयता नेपाल योसमेत दुई पटक निर्वाचन क्षेत्रमा आएका हुन् भने कांग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहाल पहिलोपटक हेलिकप्टरबाट आएका हुन् । यसैगरी एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभालाई सम्बोधन गर्दै देश समृद्ध बनाउनका लागि आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरे । ‘एमालेसँग डराएर देशलाई समृद्ध बनाउन ल्याएको हाम्रा ठुल्ठूला विकासका योजनाहरुलाई विस्थापित गर्ने काम गरिरहेको छ,’ ओलीले भने, ‘देश समृद्ध बनाउन एमालेलाई जिताउनुस् । गत मंसिरको चुनावबाट एमालेको तालमेलमा प्रतिनिधिसभा सदस्यमा जसपाका नेता रामसहाय यादव निर्वाचित भएका थिए । उनी चैत ३ मा सत्ता गठबन्धन दलको समर्थनमा उपराष्ट्रपतिमा चयन भएसँगै रिक्त रहेको यस निर्वाचन क्षेत्रमा वैशाख १० मा उपनिर्वाचन हुँदैछ । तिनै क्षेत्रमा सप्तरीबाट हारेका जसपा अध्यक्ष यादव र एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल मुख्य प्रतिस्पर्धाका रुपमा देखिएका छन् । एमाले पोलिटब्युरो सदस्य पौडेल बाराबाट पटक*पटक सांसद भइसकेका व्यक्ति हुन् । मुख्य प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई जनमतका शिवचन्द्र कुसवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल, आमजनता पार्टीका अरुण ज्ञवाली पनि टक्कर दिने देखिएको छ । यादव कांग्रेस, माओवादी, नेकपा एस र लोसपाको समर्थनमा चुनावी मैदानमा छन् । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार