फ्लाई दुबईको विमान दुबई विमानस्थलमा सुरक्षित अवतरण…..

काठमाडौँ — काठमाडौं विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै दायाँ इन्जिनमा समस्या देखिएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको छ । दुबई अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ५७६ एफजेड उडान नम्बरको उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२ : ११ बजे अवतरण भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै ठूलो आवाजसहित जहाजमा आगोको झिल्का देखिए पनि पाइलटले उडानलाई निरन्तरता दिएका हुन् । काठमाडौंमै आकस्मिक उडानको तयारी गरिए पनि इन्जिनको समस्या समाधान भएको भन्दै पाइलटले उडानलाई निरन्तरता दिएका हुन् । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, आगो नियन्त्रणपछि चालक दलले इन्जिनमा कुनै समस्या नपरेको भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेको बताए । विमानले धादिङको धार्केमाथिको आकाशमा केहीबेर फन्को लगाएर गन्तव्यतर्फ प्रस्थान गरेको थियो । फ्लाई दुबईले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आफ्नो विमानमा चरा ठोक्किएको दाबी गरेको छ । फ्लाई दुबईका प्रवक्तालाई उद्धत गर्दै दुबई सरकारको मिडिया कार्यालयको फेसबुकमा पेजमा विमान उड्नेबित्तिकै चरा ठोकिएको उल्लेख छ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार