नेपाली कांग्रेस प्रतिष्ठाको लडाइँमा पराजित…..

काठमाडौँ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस प्रतिष्ठाको लडाइँमा पराजित भएको छ । वैशाख १० मा सम्पन्न तनहुँ–१ र चितवन–२ को उपनिर्वाचनमा कांग्रेसले नमिठो हार बेहोरेको हो । नवोदित राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसको गढ मानिने तनहुँ–१ मै धावा बोलेको छ । गत चैत १६ मा कांग्रेस छाडेर रास्वपा छिरेका डा.स्वर्णिम वाग्ले भारी मतान्तरले तनहुँ– १ बाट निर्वाचित भए । रास्वपाका उम्मेदवार वाग्लेसँग कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई १४ हजार ७ सय ९७ मतान्तरले पराजित भए । वाग्लेले ३४ हजार ९ सय १९ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार भट्टराईले २० हजार १२२ मत मात्र पाए । एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाउँदा राप्रपाकी उम्मेदवार शोभा गुरुङले २१८ मत मात्र पाएकी छिन् । मङ्सिर ४ को चुनावमा तनहुँ–१ मा कांग्रेसका रामचन्द्र पौडेल २५ हजार ३ सय ६१ मत ल्याएर विजयी हुँदा एमालेका एकबहादुर राना मगरले १९ हजार ९८१ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार गोविन्द राज जोशीले ६ हजार ६ हजार ८८६ मत पाउँदा रास्वपका विकास सिग्देलले ६ हजार ४ मत ल्याएका थिए । अहिले जोशी समूहको साथ पाएको रास्वपाले कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतको २२ हजार २२९ मत बटुलेको छ । माओवादी, एकीकृत समाजवादी, जनमोर्चा, जसपा र नेसपाको साथ पाएको कांग्रेसले मङ्सिरमा पाएको मध्ये ५ हजार २ सइ २३ मत गुमाएको छ । रास्वपाले संगठित कार्यकर्ता रहेको एमालेबाट ११ हजार ४ सय ९३ मत खोसेको छ । यस्तै राजावादी राप्रपाको २ हजार २५० मत पनि रास्वपाले बटुलेको देखिन्छ । एमाले र राप्रपाको तुलनामा कांग्रेसले आफ्नो अधिकांश मत जोगाए पनि रास्वपाको वाग्लेलाई रोक्न असफल भएको छ । रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि तनहुँ– १ मा भएको उपचुनाव कांग्रेसका लागि प्रतिष्ठानको लडाइँ थियो । चैत २० मा उम्मेदवारी मनोनयन दर्ताका लागि कांग्रेसले महामन्त्री गगन थापालाई तनहुँ पठायो । त्यसपछि महामन्त्री गगन थापा अर्का महामन्त्री विश्वप्रकाश शर्माको साथमा तनहुँ पुगे । दमौलीको चुनावीसभामा महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गरे । त्यसपछि उनीहरू ४ दिन तनहुँमै बसे । कांग्रेसका शीर्ष नेता, केन्द्रीय सदस्य, भ्रातृ संस्थाका वर्तमान र पूर्व पदाधिकारी अधिकांश तनहुँ पुगे । कांग्रेस सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्रीसहित गठबन्धन सम्बद्ध दलका शीर्ष नेतालाई लिएर तनहुँ पुगे । कांग्रेसको सम्पूर्ण शक्ति तनहुँ केन्द्रित हुँदा पनि गोविन्दको पराजय रोकिएन । उपचुनावमा केन्द्रका नेता तनहुँ खादिँदा तनहुँ कांग्रेसका केही नेता रास्वपाको चुनावी प्रचारमा व्यस्त थिए । पूर्वसहमहान्त्री गोविन्दराज जोशीलाई पार्टीमा फर्काउन कांग्रेसले कारबाही फुकुवा गरे पनि अन्तिममा उनी रास्वपातिर लागे । तनहुँ कांग्रेसका पूर्व जिल्ला सचिव विश्व बास्तोला वाग्लेको चुनावी कमान्डर बने । आँबुखैरनी नगरपालिकाका, सभापति विष्णु पन्त, कांग्रेस कार्यकर्ताहरू रोशन परियार, राजु दाहाल, डा. शेषनारायण न्यौपाने, देवघाटका तरुण दलका पूर्व सभापति बलबहादुर क्षेत्री, पूर्व महाधिवेशन प्रतिनिधि मानकाजी श्रेष्ठ लगायत पनि वाग्लेलाई जिताउने लागे । रास्वपाको चुनावी लहरमा आफ्ना नेता–कार्यकर्ता बगेपनि गठबन्धनको बलमा चुनाव जित्ने कांग्रेसको रणनीति थियो । यसपटक तनहुँ–१ मा गठबन्धन पनि पूर्ण असफल सिद्ध भयो ।चितवन–२ मा रास्वपाका सभापति रवि लामिछानेले ४२ हजार ९ सय ६२ मतान्तरसहित विजयी भएका छन् । लामिछानेले ५४ हजार १७६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार कांग्रेसका जीतनारायण श्रेष्ठ ११ हजार २१४ मतमा सीमित भए । यता एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत मात्र पाए । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार