मन्त्री बन्न कांग्रेसका प्रदेश सांसदहरूको दौडधुप…..

काठमाडौँ । नेपाली कांग्रेसमा केन्द्र र प्रदेशको मन्त्रीका तीव्र दौडधुप चलिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा मन्त्री माग्नेको भीड लाग्न थालेको छ । वैशाख १० मा उपनिर्वाचन सम्पन्न भएसँग सत्ता गठबन्धन सरकार निर्माण र विस्तारको तयारीमा जुटेपछि कांग्रेसका प्रतिनिधि र प्रदेशसभा सांसद मन्त्रीका लागि देउवा निवास धाउन थालेका हुन् । केन्द्र र प्रदेशहरूमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपा, नाउपा, नेसपा, आम जनता पार्टी र जनमोर्चा गरी १० दलीय गठबन्धनको सरकार छ । माओवादी केन्द्र नेतृत्वको संघीय सरकारमा कांग्रेस, जसपा, एकीकृत समाजवादी, नाउपा, लोसपा र नेसपा सहभागी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत, आजपा र जनमोर्चाद्वारा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन छ । कांग्रेससहितको १० दलीय गठबन्धन बनेपछि चैत १७ र वैशाख ३ गरी २ पटक मन्त्रिपरिषद् विस्तार हुँदा पनि सरकारले पूर्णता पाउन सकेको छैन । गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसको भागमा परेका युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या र जसपाको भागमा परेको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा छ  । जनमतका अब्दुल खानले राजीनामा दिएपछि खानेपानी मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले नै सम्हालेको अवस्था छ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कानुन मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् । कांग्रेसले चार मन्त्री र एक राज्यमन्त्री सरकारमा पठाउन बाँकी छ । बुधबार बिहान धुम्बाराही पुगेका नेता शशांक कोइरालाले आफू निकटस्थ दीपक गिरीलाई मन्त्री बनाउन देउवालाई आग्रह गरेका बुझिएको छ । कांग्रेसमा लुम्बिनी प्रदेशबाट अहिलेसम्म कोही मन्त्री नबनेको भन्दै दाङबाट निर्वाचित गिरीलाई मन्त्री बनाउन कोइरालाले दबाब बढाएको धुम्बाराही स्रोतले रातोपाटीलाई बतायो ।नेता शेखर कोइराला र महामन्त्री गगन थापाले पनि केन्द्र र प्रदेशका मन्त्री छनोटबारे आन्तरिक छलफल थालेका छन् । पाटी शेखर–गगन समूहले केन्द्रमा ३ मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने अडान राखेको छ ।  नेताहरूका अनुसार सभापति देउवा शेखर–गगन समूहको माग सम्बोधन गर्न सकारात्मक छन् । प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई ९ मन्त्रालय दिने सङ्केत देखिए देउवाले तीन मन्त्री र एक राज्यमन्त्री दिने बचन दिएको शेखर–गगन समूहका नेताहरूको दाबी छ । सत्ता गठबन्धनको नेतृत्वमा रहेको मधेस, बागमती र सुदूरपश्चिम सरकारले पनि पूर्णता पाएको छैन । नयाँ गठबन्धन बन्दा मधेस प्रदेशमा एमाले सरकारबाट बाहिरिए पनि कांग्रेस, लोसपा र एकीकृत समाजवादीले प्रवेश नपाएको अवस्था छ । कांग्रेस र लोसपाले मधेस प्रदेशमा मुख्यमन्त्रीमा दाबी गरेका छन् । केन्द्र सरकारबाट बाहिरिएको जनमत पार्टी पनि मधेस प्रदेश सरकारमै छ । जनमतका मन्त्री बर्खास्त गर्ने तयारीमा रहेका मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेससहितका दललाई सरकारमा सहभागी गराउन सकेका छैनन् । मधेस प्रदेशका कांग्रेस संसदीय दलका नेता कृष्ण यादव आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि सभापति देउवामाथि दबाब बढाइरहेका छन् । जसपा नेतृत्वको सरकार तत्काल हेरफेर हुने अवस्था नभए सरकारमा चाँडो सहभागी हुने वातावरण बनाइदिन देउवासँग प्रदेश सांसदहरूको जोड छ । सांसदहरूले मन्त्रीका लागि गुटगत लबिङ थालेको नेताहरू बताउँछन् । देउवाका अलावा शेखर कोइराला, गगन थापा र नेता विमलेन्द्र निधिको निवासमा सांसद धाउने गरेको पाइन्छ । देउवा निवासमा मन्त्रीका आकाङ्क्षीको भीड छ । कांग्रेसले गण्डकीमा मुख्यमन्त्रीका साथै ४ मन्त्री पाउने  सांसद विन्दुकुमार थापाले बताए । चार मन्त्रीका लागि एक दर्जन प्रदेश सांसदको दाबी छ ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार