काठमाडौँ — राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन सरकारसँग विभिन्न माग राख्दै माइतीघरमा आन्दोलरत छन् । अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा काम गर्ने वातावरण नभएको, अनुसन्धान कोषको स्थापना नभएको, खरिद नियमवाली छुट्टै हुनुपर्नेजस्ता माग राखेर पुन झरीवर्षाको प्रवाह नगरी माइतीघर मण्डलमा आन्दोलनरत छन् । आइतबार सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई पुनसँग वार्ता गर्न पठायो । वार्ता सकरात्मक रुपमा अगाडि बढेको महावीरले बताए । स्वदेशमै निर्मित यात्री मोटरसाइकल दर्ता गर्ने कानुन नै नभएपछि सुरु भएको अनुसन्धान र नवप्रवर्तनको बहस अहिले चर्चा छ । चौतर्फी विरोध भएपछि सरकारले स्वदेशमै निर्मित सरकारी सवारी साधनको दर्ता गर्ने व्यवस्था गर्यो । सरकारलाई ध्यानाकर्षण पत्र बुझाउँदै आफूले उठाएको माग कार्यान्वयन नभए आन्दोलन गर्नुपर्ने बताएका थिए । इन्जिनियरिङ विधामा स्नातक पास गरेका नेपाली युवाहरूका लागि अहिले ‘इर्न्टन र इनोभेसन’ गर्ने ठाउँ राष्ट्रिय आविष्कार केन्द्र बनेको छ । राज्यले अनुसन्धानकर्ता र नवप्रवर्तनमा लागेकाहरूका लागि काम गर्ने वातावरण सिर्जना नगरिरहेको बेला एक व्यक्तिको प्रयासमा स्थापना भएको आविष्कार केन्द्रकै प्रमुख किन आन्दोलन गर्न बाध्य ? यस क्षेत्रमा काम गर्ने विज्ञहरूका अनुसार नेपालमा अनुसन्धान र नवप्रवर्तन गर्न खोज्ने भविष्य नै छैन । सरकारी रवैया नै त्यस्तै छ । विज्ञान विषयमा स्नातकोत्तर गरेका जोकोही विद्यार्थीलाई स्वदेशमै काम गर्ने/ अनुसन्धान गर्ने वातावरण छैन । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्राविधि संकायका प्रमुख डा. रविन्द्र ढकाल नेपालमा अनुसन्धानकर्ता(प्राविधिक जनशक्ति ) भर्ना गर्ने प्रक्रिया नै गलत भएको बताउँछन् । अनुसन्धानकर्तालाई पुरानै तरिकाबाट घोकेर पास भएको आधारमा छनोट गर्ने परिपाटी छ । उनी भन्छन्, ‘सबैभन्दा पहिला काम गर्ने वातावरण राज्यबाटै भइरहेको छ । अनुसन्धानकर्ता भर्ना प्रक्रिया पुरानै लोकसेवामा सोधिने सामान्य ज्ञानको प्रश्न र पद्धतिबाट राख्ने चलन छ । एउटा पुस्ता घोकेर पास गरेको आधारमा जागिर खायो । तर अनुसन्धानकर्ताहरूले अनुसन्धान गर्ने र आफ्नो काममा मात्रै केन्द्रित हुन्छन् उनीहरूलाई सामान्य ज्ञानको प्रश्न गरेर भर्ना गर्न मिल्छ ?’ अनुसन्धानकर्तालाई काम लगाउने आधारभूत विषयमा नै समस्या भएको उनले बताए । यस्तै,लगाानी पनि ज्यादै न्यून भएको उनको भनाइ छ । महावीरले उठाएको अर्को विषय हो अनुसन्धानकर्ताका लागि चाहिने छुट्टै सार्वजनिक खरिद ऐन र नियमावली । अन्य क्षेत्रका बस्तु जसरी नै अनुसन्धानका सामग्री खरिदमा पनि सस्तो र कम रकम खरिद गर्नुपर्ने बाध्यता यो ऐनले गरेको छ । ढकाल भन्छन्, ‘विज्ञानले गुणस्तर र राम्रो खोज्छ । खरिद नियमावलीले सस्तो र कम रकम कबोल गरेको सामान किन भन्छ, यसले पनि समस्या पारेको छ । साभार : इका












