विराटनगर । प्रदेशको नाम ‘कोशी’ खारेजको माग गर्दै आन्दोलनरत पहिचानवादीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशमै आएको बेला विभिन्न कार्यक्रममा अवरोध प्रयास गरे । कतिपय स्थानमा त उनीमाथि आक्रमणको प्रयाससमेत भयो । चार दिन लामो कोशी प्रदेशको बसाई एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि त्यति सुखद रहेन । बरु, प्रदेशको नाम कोशी खारेजको माग राखेर उनै ओलीमाथि भएको आक्रमणले केन्द्रमा बहस सिर्जना गर्यो । ठूला पार्टीबीच आरोप प्रत्यारोप भयो । सामाजिक सञ्जालमा पहिचानवादीको आन्दोलन कसले गरेको वा कसले भड्काएको भन्नेसम्मका आरोप र खोजबिन भयो । वैशाख १३ गते झापाको बुद्धशान्ति गाउँपालिकामा एमाले अध्यक्ष ओली र सुवासचन्द्र नेम्वाङलाई पहिचानवादीले कालो झण्डा देखाए । त्यसक्रममा प्रहरीसँग आन्दोलनकारीको झडप भयो । झडपमा परी एक प्रहरी घाइते हुँदा आन्दोलनकारी मित्र लिङ्देन र बुलेट किराँती पक्राउ परे । उनीहरू अझै हिरासतमै छन् । वैशाख १४ गते इलाम सदरमुकाम पुगेका एमाले अध्यक्ष ओलीविरुद्ध त्यहाँ पनि कालो झण्डा प्रदर्शन भयो । त्यसक्रममा ९ जना पक्राउ परे । यद्यपि उनीहरूलाई सोही दिन साँझ रिहा गरियो । ओली आउने थाहा पाएपछि इलामको गोदकमा पहिचानवादीले रुख ढालेर सडक अवरुद्ध बनाएका थिए । वैशाख १५ गते तेह्रथुमको आठराई गाउँपालिका पुगेका ओलीमाथि पुनः पहिचानवादीले कालोझण्डा देखाए । त्यसक्रममा एमाले कार्यकर्तासँग पहिचानवादीको भनाभन भयो । पहिचानवादीहरूले सोही साँझ पाँचथरको फिदिममा मशाल जुलुस प्रदर्शन गरे । वैशाख १६ गते एमाले अध्यक्ष ओली फर्कने क्रममा फिदिममा कालो झण्डा र नारा जुलुस प्रदर्शन भयो । ओलीलाई लक्षित गर्दै आन्दोलनकारीले निरन्तर निसाना बनाउँदा केन्द्रमा भने एमालेले पत्रकार सम्मेलन गरेरै सरकारले नै कोशी प्रदेशमा अराजकता मच्चाइरहेको आरोप लगायो । तर, एमालेले गत फागुन १७ गतेदेखि कोशी प्रदेशमा भइरहेको निरन्तरको आन्दोलन र झडपहरूलाई अहिलेसम्म अनदेखा गरिरहेको थियो । प्रदेशको नाम कोशी राखेसँगै सोही दिनबाट सुरु भएको आन्दोलन अझै रोकिएको छैन । कोशी प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म आन्दोलनकारीले ३० वटा पालिकामा तालाबन्दी गरेका छन् भने १६२ वटा वडा कार्यालय बन्द गराएका छन् । ८ पटक चक्काजाम गरेका उनीहरूले २२ वटा कोणसभा, २० वटा भेला, १३ वटा नारा जुलुस, १८ वटा राँके जुलुस, २० वटा र्याली, १६ पटक कालोझण्डा प्रदर्शन, ८ वटा विरोधसभा र अन्य ९ वटा विभिन्न गतिविधि गरेका छन् । त्यसक्रममा ८ जना आन्दोलनकारी पक्राउ परेका छन् भने उनीहरूलाई रिहा गरिसकिएको प्रहरीले जनाएको छ । यस्तै आन्दोलनका क्रममा पदम लिम्बू लाजेहाङको मृत्यु भएको छ । विभिन्न आन्दोलनका क्रममा आन्दोलनकारी १५ जना घाइते भएका छन् भने ४४ जना प्रहरी घाइते भएको तथ्याङ्क छ । त्यसमध्ये पदम लिम्बूको शवयात्राका क्रममा झडप हुँदा विराटनगर वैशाख ९ गते तनावग्रस्त बन्यो । शान्तिपूर्ण शवयात्रा गर्ने भनिएको कार्यक्रममा आन्दोलनकारी सुरुवातदेखि नै उग्र बनेर आएको प्रहरीको दाबी छ । उता, आन्दोलनकारीले भने प्रहरीले आफूहरूले तय गरेको शवयात्रालाई रोक्न खोजेपछि झडप भएको बताएको छ । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिम आन्दोलन अझै उग्र बन्न सक्ने बताउँछन् । ‘अब सबै जनप्रतिनिधिलाई हामी बहिष्कार गर्छौं । उनीहरुमाथि व्यक्तिगत कारबाही हुनसक्छ । त्यसो भयो भने सबै जनप्रतिनिधिको घरघरमा प्रहरी सुरक्षाकर्मी राख्न सक्छ राज्यले ?,’ उनले भने, ‘आगामी दिनमा हुनसक्ने ठूलो क्षतिलाई रोक्नका लागि वार्ता, संवाद र छलफलको वातावरण बनाउनु पर्छ कि पर्दैन ? पहिचानवादीहरूले विराटनगरमा चैत ५ गते वृहत प्रदर्शन गरेका थिए । त्यही आन्दोलनमा सहभागी बेलबारीका पदम लिम्बू लाजेहाङ प्रहरीसँगको झडपमा परी घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको थियो । त्यही चोटका कारण चैत ८ गते एक्कासि बिरामी भएपछि अस्पताल भर्ना भएका उनको चैत १० गते मृत्यु भएको थियो । त्यसपछि पहिचानको आन्दोलन गर्नेहरू झनै आक्रोशित बनिरहेका छन् । सरकारले चैत २४ गते पदम लिम्बूलाई सहिद घोषणा गरेको छ । चैत १० गते मृत्युवरण गरेका उनको शव एक महिनापछि वैशाख ९ मा अन्त्येष्टि गरिएको छ । पहिचानवादीले प्रदेशको नाम बहुपहिचानको आधारमा राख्नुपर्ने बताउँदै आएका छन् । सरकारले वार्ता र संवाद गर्नै नचाहने र आन्दोलनकारीहरू उग्र बन्दै जाने परिस्थितिले कोशी प्रदेशमा थप तनाव हुने देखिएको कतिपय बताउँछन् । साभार : रापा












